`

नेपालमा युट्युब पनि बन्द

काठमाडौं । नेपालमा युट्युव पनि बन्द भएको छ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको दुई दिनपछि नेपालमा युट्युब पनि बन्द भएको हो । सरकारको निर्णय मान्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन मान्दै इन्टरनेट सेवा प्रदायक संघ (आईएपान) ले नेपालमा युट्युब निस्क्रिय बनाएको हो ।

युट्युब बन्द भएसँगै त्यहाँ भएका म्युजिक भिडियो, फिल्म, वेबसिरिज, गीत–संगीत, समाचार, कमेडीलगायतका थुप्रै भिडियोहरू बन्द भएका छन् । आईएसपानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्द गर्ने प्रक्रिया सुरू भइकेको जानकारी दिए । उनका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् । मोबाइलमा भने चल्दै छ ।

‘हामीले सरकारको निर्णय र दूरसञ्चार प्राधिकरणको निर्देशन मान्दै दर्ता नभएका सामाजिक सञ्जालहरूको आईपी एड्रेसहरू बन्द गर्न थालेका छौं । हिजो फेसबुक, एक्स, इन्स्टाग्राम वेब पेज बन्द भएका छन् भने आज बिहानदेखि वेब ब्राउजरमा युट्युब पनि बन्द छ भने मोबाइलमा बन्द हुने क्रममा छन्’, उनले भने ।

पराजुलीले ‘युट्युब ब्लक गर्दा आईपी एउटै परे जिमेल पनि बन्द हुने जानकारी दिए । त्यसको असर फोनले पनि आंशिक रूपमा काम नगर्न सक्ने उनले बताएका छन् । सामाजिक सञ्जाल बन्द भएपछि डिजिटल अर्थतन्त्र, स्टार्टअप र साना व्यवसायको अनलाइन मार्केटिङ ठप्प भएको छ । कलाकारहरूले सार्वजनिक गर्न लागेको नयाँ गीत रोकिएका छन् । विभिन्न टेलिसिरियल, कमेडीलगायतका हाँस्यव्यङ्ग्य कार्यक्रम पनि प्रशारण ठप्प भएको छ ।