सन् २०२५ मा २०औं शताब्दीको उत्तरार्धमा स्थापित विश्वव्यवस्थाका बाँकी खम्बाहरू भत्किए र आफूलाई ‘वैश्विक प्रणाली’ भनेर प्रस्तुत गर्दै आएको संरचनाको केन्द्रमा रहेको खोक्रोपन उजागर भयो । यसका लागि तीन वटा प्रहार नै पर्याप्त भए ।
पहिलो प्रहार युरोपको संयुक्त नेतृत्वमाथि युक्रेनमा रूसको आसन्न विजय थियो । झण्डै चार वर्षसम्म युरोपेली संघ र नाटोले खतरनाक दोहोरो खेल खेले । एकातिर, उनीहरूले आर्थिक रूपमा लगानी गर्न इच्छुक नभए पनि युक्रेनको विजयप्रति भाषिक रूपमा प्रतिबद्धता जनाए । अर्कोतिर, उनीहरूले कहिल्यै नटुंगिने यो युद्धलाई प्रयोग गर्दै नयाँ घरेलु राजनीतिक र आर्थिक सहमति अघि बढाए : सैन्य किनेसियनवाद युरोपको औद्योगिकरणविरुद्ध प्रहारको अन्तिम अस्त्र हुनेछ ।
घाटा हुने किसिमका हरित लगानी वा सामाजिक नीतिहरूमाथि कडा राजनीतिक निषेध भएको महादेशमा युक्रेन युद्धले सार्वजनिक ऋणलाई रक्षा–औद्योगिक संयन्त्रतर्फ प्रवाह गराउने बलियो औचित्य प्रदान गर्यो । नदेखिएको सत्य के थियो भने अनन्त युद्धले एउटा अत्यन्त महत्वपूर्ण भूमिका खेलिरहेको थियो : युरोपको ‘स्ट्यागनेसन’ मा रहेको अर्थतन्त्रलाई किनेसियन तरिकाले चलायमान बनाउने आदर्श इञ्जिनका रुपमा ।
अन्ततः यो विरोधाभास घातक साबित भयो । यदि युक्रेन युद्ध शान्ति सम्झौतामा टुंगिन्थ्यो भने यस्तो आर्थिक प्रोत्साहनलाई कायम राख्न अत्यन्त कठिन हुन्थ्यो । तर, खर्चलाई जायज ठहर्याउने खालको स्पष्ट विजय हासिल गर्नु आर्थिक रूपमा अत्यन्त महँगो र भू–रणनीतिक रूपमा अत्यधिक जोखिमपूर्ण मानियो । त्यसैले युरोपले सबैभन्दा खराब सम्भावित रणनीति रोज्यो : युक्रेनलाई युद्ध लम्ब्याउन आवश्यक मात्र हतियार पठाउने तर युद्धको दिशा भने परिवर्तन नगर्ने ।
अब रूसको विजय लगभग सुनिश्चित भएपछि (यो अनुमानित परिणामलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केवल छिटो घटित गरिदिए) इयुका सबै योजनाहरू ध्वस्त भएका छन् । युरोपसँग शान्तिका लागि कुनै ‘प्लान बी’ छैन किनभने यसको सम्पूर्ण रणनीतिक अडान नै युद्धको निरन्तरतामा निर्भर बनिसकेको थियो ।क्रेमलिन र ट्रम्पका मानिसहरूले अन्ततः युक्रेनमाथि जस्तोसुकै अप्ठ्यारो शान्ति सम्झौता थोपरे पनि त्यसले केवल सीमाना मात्र पुनः रेखाङ्कन गर्ने छैन । रूस युरोपका लागि खतरा रहोस् वा नरहोस्, युरोपले आफ्नो प्रारम्भिक सैन्य–औद्योगिक तीब्र विकासको बहाना गुमाउँदैछ, जसले नयाँ कठोर मीतव्ययिताको संकेत गर्दछ ।
दोस्रो धक्का चीनले संयुक्त राज्य अमेरिकाविरुद्धको व्यापार युद्ध जित्नु थियो । ट्रम्पको पहिलो कार्यकालमा सुरु भई जो बाइडेनको कार्यकालमा झनै तीव्र बनाइएको अमेरिकी रणनीति दुईतर्फी थियो ः चिनियाँ उत्पादनलाई बजारबाट वञ्चित गर्न भन्सार अवरोध लगाउने र उन्नत सेमिकन्डक्टर तथा निर्माण उपकरणमा प्रतिबन्ध लगाएर चीनको प्रविधिगत उन्नतिलाई अवरुद्ध गर्ने । सन् २०२५ मा यो रणनीतिले आफ्नो ‘वाटरलु’ भेट्टायो र फेरि पनि युरोपले नै परोक्ष रुपमा सबैभन्दा ठूलो क्षति व्यहोर्नु पर्यो ।
चीनले दुई–भागमा अत्यन्त कुशल जवाफ दियो । पहिलो, उसले दुर्लभ धातु र महत्वपूर्ण खनिजहरूमा आफ्नो प्रभुत्वलाई हतियारका रूपमा प्रयोग गर्यो, जसले आपूर्ति शृङ्खलामा गम्भीर अवरोध सिर्जना गर्यो र अमेरिकीभन्दा बढी युरोपेली तथा पूर्वी एसियाली हरित उद्योगलाई पंगु बनायो । दोस्रो, अमेरिकाको विश्वव्यापी प्रविधि नेतृत्वको प्रतिष्ठामा सबैभन्दा गहिरो चोट पुर्याउँदै आफ्नो ‘सम्पूर्ण–राष्ट्र प्रणाली’ लाई प्रविधिगत आत्मनिर्भरताको एउटै लक्ष्यतर्फ केन्द्रित गर्यो । परिणामस्वरूप घरेलु चिप उत्पादनमा आश्चर्यजनक तीव्रता आयो, जहाँ एसएमआइसी र हुवावेले हासिल गरेको सफलताले अमेरिकी नेतृत्वमा रहेको पश्चिमी प्रतिबन्धलाई अप्रासंगिक मात्र होइन उल्टै प्रतिकूल बनाइदियो ।
सम्भवतः यही धक्काले सबैभन्दा दीर्घकालीन प्रभाव पार्नेछ । सन् २०२५ मा अमेरिकाले चीनको उदय रोक्न असमर्थ भएको प्रमाणित गर्यो र उल्टै चीनको प्रविधि क्षेत्रलाई पूर्ण स्वतन्त्रतातर्फ धकेल्यो । ह्वाइट हाउसले निर्देशन गरेका प्रतिबन्धहरू निष्ठापूर्वक चीनमाथि लागू गरेको युरोप सबैभन्दा खराब अवस्थाको सामना गर्न बाध्य भयो । उच्च मूल्यका आफ्ना सामानका लागि लाभदायक चिनियाँ बजारबाट क्रमशः बाहिरिनु पर्यो तर असान्दर्भिक भइसकेको अमेरिकी ‘इन्फ्लेसन रिडक्सन एक्ट’ बाट कुनै अनुदान वा उद्योग पुनःस्थापनाको लाभ पाउन सकेन । अमेरिकाको रणनीतिक उपठेकेदारका रूपमा काम गर्ने निर्णय गरेर इयुले आफनो औद्योगिक क्षयलाई झनै तीव्र बनायो । यो व्यापार युद्धको सामान्य हार मात्र थिएन; एक भू–राजनीतिक चेकमेट थियो र युरोप केवल हार्ने पक्षको प्यादाको रूपमा सीमित रह्यो ।
तेस्रो धक्का ट्रम्पले इयुसँगको भन्सार युद्ध अत्यन्त सहज रूपमा जित्नु थियो । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान–डर लेयनको अपमानलाई अधिकतम बनाउने गरी स्कटल्याण्डमा ट्रम्पको एउटा गल्फ क्लबमा ट्रम्पका मानिसहरूले योजनाबद्ध गराएको आत्मसमर्पणको दस्तावेजलाई उनले ‘ऐतिहासिक सम्झौता’ का रूपमा चित्रित गर्न संघर्ष गरिन् । अमेरिकातर्फ युरोपेली निर्यातमा लाग्ने भन्सार कर करिब १.२ प्रतिशतबाट १५ प्रतिशतमा पुगे र केही अवस्थामा २५ प्रतिशत तथा ५० प्रतिशतसम्म बढे । अमेरिकी निर्यातमाथि इयुले लामो समयदेखि लगाउँदै आएका भन्सार करहरू रद्द गरिए । अन्ततः आयोगले अमेरिकी भूमिमै अमेरिकी उद्योगमा ६०० अर्ब डलर बराबरको युरोपेली लगानी गर्ने प्रतिबद्धता जनायो, यो रकम मुख्यतया जर्मनीका लगानीहरू टेक्सासका रासायनिक कारखाना र ओहायोका कार उद्योगतर्फ मोडेर मात्र जुटाउन सकिन्छ ।
यो केवल खराब सम्झौता मात्र थिएन । यो अभूतपूर्व पुँजी निष्कासन सन्धि थियो । यसले इयुलाई औद्योगिक प्रतिस्पर्धीबाट याचक राष्ट्रमा रूपान्तरण गर्ने प्रक्रियालाई औपचारिक रूप दियो । अब युरोप पुँजीको स्रोत, अमेरिकी सामानका लागि नियन्त्रित बजार र प्रविधिमा निर्भर कनिष्ठ साझेदार बन्नेछ । अपमानमा थप चोट पुर्याउँदै यो नयाँ यथार्थ सबै २७ सदस्य राष्ट्रहरूले स्वीकार गरेको बाध्यकारी प्रतिबद्धतामा परिणत गरिएको छ, जसले संघबाट सार्वभौमिकताको कुनै पनि आवरण खोसेको छ । वासिङ्टन–बेइजिङ अक्ष वरिपरि संरचित जीटु विश्वबारे ट्रम्पको दृष्टिकोण सुदृढ गर्न आवश्यक पुँजीको एक हिस्सा अब सम्झौताअनुसार युरोपबाट पश्चिमतर्फ बग्न बाध्य छ ।
यी तीन धक्काहरूले एक सहक्रियात्मक त्रिकोण निर्माण गरेका छन् । युक्रेनमा युरोपको पराजयले उसका रणनीतिक कमजोरीका क्षेत्रहरू उजागर गर्यो र उसको सैन्य किनेसियन परियोजनालाई चिरा पार्यो । चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति ट्रम्पको सहमतिले इयुतर्फ चिनियाँ निर्यातको बाढी ल्यायो । स्कटल्याण्डको झडपले युरोपको सञ्चित पुँजी र बराबरीको बाँकी आशा दुवै खोस्यो ।
जिटु विश्वमा कुनै बेला कल्पना गरिएको ‘ग्लोबल भिलेज’ अब एउटा कुस्तीबाजको रंगशाला बनेको छ, जहाँ इयु र संयुक्त अधिराज्य दिशाहीन रूपमा भौंतारिरहेका छन् । युरोपेली महत्वाकांक्षाको चिहानमाथि कठोर र चिसो नयाँ विश्व व्यवस्था खडा गरिएको छ । अस्तित्वका लागि हुने प्रतिस्पर्धाको युगमा रणनीतिक परनिर्भरता अन्ततः अप्रासंगिकताको प्रस्तावना बन्छ भन्ने नै यस वर्षको दीर्घकालीन पाठ यही हो ।
–प्रोजेक्ट सिन्डिकेटबाट
