काठमाडौ । युलेन्स स्कुल व्यवस्थापन समितिको अध्यक्षबाट निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले राजीनामा दिएकी छिन् । अभिभावक बैठकमा कांग्रेस नेतृ समेत रहेकी राणाले राजीनामा दिएकी हुन् । काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन ।
‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनु भएको जानकारी गराइएको छ’, एक अभिभावकले सुनाए । गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । राणा युलेन्स स्कुल व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन् ।
भौतिक संरचना जलेर नष्ट भएकाले नयाँ ढंगले विद्यालय चलाउने योजना युलेन्सले बनाएको छ । अभिभावक स्रोतका अनुसार युलेन्सले अब अभिभावकबाटै ट्रष्टी छान्ने छ । हाल अनलाइनबाट कक्षा सञ्चालन भइरहेको छ । १० देखि १२ कक्षा र आइबीको कक्षा दशैंपछि फेस टु फेस सञ्चालन गर्ने तयारी छ ।
विद्यालले पूर्णरुपमा फेस टु फेस कक्षा ३–४ महिनाभित्र सञ्चालन गर्ने योजना बनाएको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा युलेन्सका ८३ वटा बसहरू जलाइएका थिए । विद्यालयका एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचरहरू लुटिए वा जलाइए । युलेस फाउन्डेसनका अनुसार खुमलटारस्थित युलेन्स विद्यालयका ५ वटा भवनमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो ।
यस्तै बाँसबारीस्थिति विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर पनि ध्वस्त पारिएको युलेन्स फाउन्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख छ । आन्दोलनबाट विद्यालयमा एक अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको फाउन्डेसनले जनाएको छ । युलेन्समा १ हजार ४ सय ६१ जना विद्यार्थीहरू अध्ययनरत छन् भने ५ सयभन्दा बढी शिक्षक कर्मचारी कार्यरत थिए।