`

युवा संघको चेतावनी : सरकारले ओली र महेश बस्नेतविरुद्ध प्रतिशोध साँध्यो, प्रत्युत्पादक होला

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले सरकारले केपी शर्मा ओली र महेश बस्नेतविरुद्ध प्रतिशोध साँधेको भन्दै यो प्रत्युपात्दक हुने चेतावनी दिएको छ ।

जेनजी आन्दोलनमा भएका दमन र क्षति छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई विदेश जान रोक लगाउँदै काठमाडौँ उपत्यका बाहिर जान समेत अनुमति लिनुपर्ने निर्णय गरेपछि युवा संघले यस्तो चेतावनी दिएको हो ।

संघका अध्यक्ष क्षितिज थेवेले मंगलबार विज्ञप्ति जारी गरी आफ्नो संगठनका पूर्व इञ्चार्ज एवं एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध पनि प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउन लागिएको भन्दै विरोध गरेका छन् ।

‘…वर्तमान सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका श्रद्वेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलगायतको राहदानी रोक्का गर्ने निर्णय गरेकोप्रति हाम्रो संगठन गम्भीर चासो र आपत्ति प्रकट गर्दछ । गत भाद्र २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले विना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्ध शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको निर्णय गरेको तथ्य छर्लङ्गै छ । हामी उक्त घटनाको निष्पक्ष छानबिनको पक्षमा छौँ तर छानबिन नै नगरी प्रारम्भमै अपराधी करार गर्नेगरी गम्भीर प्रकारका निर्णय गरिनु आपत्तिजनक छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो सम्पूर्ण जीवन नै नेपाली र नेपालका निमित्त समर्पण गर्नु भएको, आफ्नो सबै श्रीसम्पत्ति राज्यलाई सुम्पिसक्नु भएको र जस्तोसुकै परिस्थितिमा पनि मुलुक छोडेर नजाने घोषणा नै गर्नु भएका पूर्व प्रधानमन्त्री जस्तो व्यक्तित्वलाई अत्यन्तै हलुका ढंगले राहदानी रोक्का जस्तो निर्णय गरेर प्रतिशोध साँध्ने अराजनीतिक कार्य भएको छ । यसका साथै सरकारले हाम्रो संगठनका पूर्व इन्चार्ज, नेकपा एमालेका पोलिटब्युरो सदस्य कमरेड महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने समाचार आएका छन् । यस प्रकारका प्रतिशोधयुक्त क्रियाकलापमा सरकारलाई अग्रसर नहुन हामी जोडदार माग गर्दछौँ र यसप्रकारका गतिविधि वर्तमान सरकारलाई प्रत्युत्पादक हुने कुरामा समेत सचेत गराउन चाहन्छौँ ।’

हेर्नुस् युवा संघको विज्ञप्ति

गुण्डुमा युवा संघको दशैं कार्यक्रम, सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेकपा एमाले निकट युवा संघले आज दिउँसो १२ बजे भक्तपुरको गुण्डुमा चियापान तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम गर्दैछ ।

जेनजी आन्दोलनपछि पूर्व प्रधानमन्त्री समेत रहेका ओली औपचारिक कार्यक्रममार्फत पहिलो पटक सार्वजनिक हुन लागेका हुन् । भक्तपुरको गुण्डुमा डेरामा बस्दै आएका ओलीले केही दिनदेखि एमालेका नेता–कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन् ।

भक्तपुरमा युवा संघले कार्यक्रम राखेपछि अहिले भक्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । भक्तपुर जिल्लाका सबै प्रहरीहरु अहिले गुण्डु केन्द्रीत भएका छन् । काठमाडौंबाट पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली गुण्डु केन्द्रीत भएका छन् ।