काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयास अन्ततः त्रिपक्षीय एकतामा पुग्न सकेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भए पनि उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङ भने यो प्रक्रियाबाट अलग भएका छन् ।
रातभर चलेको छलफलपछि आइतबार बिहान रवि र बालेनले मात्रै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एकताको औपचारिक घोषणा गरेका छन् । सहमतिअनुसार एकतापछिको पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने समझदारी भएको छ । यही सहमतिले रवि–बालेन–कुलमानलाई एउटै राजनीतिक शक्तिमा जोड्ने प्रयास असफल बनाएको हो ।
एकताका लागि शनिबार राति बालुवाटारस्थित एक निजी निवासमा रवि, बालेन र कुलमानबीच लामो छलफल भएको थियो । सुरुमा बालेन र कुलमानबीच वार्ता भइरहेको ठाउँमा रवि प्रवेश गरेपछि त्रिपक्षीय संवाद सुरु भएको स्रोतहरू बताउँछन् । तर पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व संरचना र शक्ति बाँडफाँडको विषयमा सहमति नजुट्दा कुलमान अन्ततः पछि हटेका हुन् ।
छलफलका क्रममा सबै संरचना र पहिचान रास्वपाकै रहने, बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रस्ताव आएको थियो । तर यसले उज्यालो नेपाल पार्टीको अस्तित्व समाप्त हुने निष्कर्ष निकाल्दै कुलमान यसमा सहमत नभएको बताइन्छ । स्रोतका अनुसार कुलमानले पार्टीको नाम र चुनाव चिह्न आफ्नो दलको स्वीकार गर्नुपर्ने प्रस्ताव राखेका थिए भने अध्यक्ष वा प्रधानमन्त्री दुवै पद आफूलाई आवश्यक नरहेको बताएका थिए । तर यो प्रस्तावमा रवि र बालेन सहमत नभएपछि सहकार्य टुटेको हो ।
यसअघि पुस ४ गते जेलबाट रिहा भए लगत्तै रवि लामिछानेले २१ फागुनको निर्वाचनअघि नै वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै बालेनसँग एकताका लागि पहल गरेका थिए । पुस ७ गते कमलपोखरीस्थित रास्वपाका सांसद असीम शाहको निवासमा करिब छ घण्टा चलेको पहिलो भेटमा रविले बालेनलाई रास्वपामा साधारण सदस्यका रूपमा प्रवेश गर्न प्रस्ताव गरेका थिए । चुनावपछि सबै कुरा मिलाउने आश्वासन दिइए पनि बालेनले शक्ति बाँडफाँड स्पष्ट हुनुपर्ने अडान राखेका थिए ।
त्यसपछि पुस ८ गतेदेखि बालेनले आफ्नै ‘देश विकास पार्टी’ अगाडि बढाउने तयारी थालेका थिए । राजनीतिक–सामाजिक क्षेत्र, निजी क्षेत्र र युवा पुस्ताका प्रतिनिधिसँग उनले छुट्टाछुट्टै भेटवार्ता समेत गरेका थिए । बालेन छुट्टै शक्ति निर्माणतर्फ अघि बढेको संकेत पाएपछि रविले पुनः संवाद थालेका थिए। पुस १० गते भएको अर्को लामो छलफलमा रवि बालेनलाई आफूपछिको वरीयतामा राख्दै प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार भएका थिए । त्यसपछि दुवै पक्षका दुई–दुई सदस्य रहेको कार्यदलले एकता सम्झौताको मस्यौदा तयार गर्न थालेको थियो ।
तर कुलमानसँग भने रविले जेलबाट छुटेपछि प्रत्यक्ष छलफल नगरेको, एकताका लागि बनाइएको कार्यदलमा उज्यालो नेपाल पार्टीका प्रतिनिधि नराखिएको र शक्ति बाँडफाँडमा लचिलो नदेखिएको भन्दै कुलमान असन्तुष्ट बनेका थिए । शनिबार उज्यालो नेपाल पार्टीले एकताको नाममा आफ्नो अस्तित्व गुमाएर बिलय नहुने औपचारिक निर्णय पनि गरेको थियो ।
यद्यपि कुलमानलाई मनाउने प्रयास बालेनले अन्तिम समयसम्म जारी राखेका थिए । शनिबार बिहान र साँझ गरी दुई पटक भेटवार्ता भए पनि निर्णायक सहमति जुट्न सकेन । अन्ततः त्रिपक्षीय छलफल भएको पहिलो अवसरमै शक्ति बाँडफाँडको विषय नै बाधक बन्यो र कुलमान यो एकता प्रक्रियाबाट बाहिरिए । यससँगै वैकल्पिक राजनीतिक धार निर्माणको चर्चित प्रयास दुई पक्षीय सहमतिमा सीमित भएको छ भने कुलमान घिसिङ आफ्नै दलसहित अलग बाटोमा अघि बढ्ने संकेत स्पष्ट भएको छ ।