`

रवि, बालेन र कुलमानलाई रोक्न पुराना दलहरु पनि चुनावी गठबन्धनको कसरतमा हुन् ?

काठमाडौं । वैकल्पिक राजनीतिमा देखिएको नयाँ ध्रुवीकरणले मुलुकको पुरानो सत्ता राजनीतिलाई पुनः तरङ्गित बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच एकतापछि उत्पन्न दबाबले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दुई ठूला दललाई फेरि नजिक ल्याएको विश्लेषण हुन थालेको छ ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ मा तय प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद बढेको स्रोतहरूको दाबी छ । २०८१ असार १७ मा भएको सात बुँदे सहमतिको आधारमा ओलीले चुनावी सहकार्यको प्रस्ताव अघि सारेका हुन् । यद्यपि, कांग्रेसभित्रको आन्तरिक मतभेद र संस्थागत निर्णयका कारण प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन हुने–नहुने विषय अझै अनिश्चित देखिन्छ । एमालेका लागि राष्ट्रिय सभा निर्वाचन रणनीतिक रूपमा संवेदनशील बनेको छ । हाल एमालेका १० सांसद रहेकामा आगामी निर्वाचनमा गठबन्धन नगरे दुई सिटमा खुम्चिने जोखिम रहेको बताइन्छ । फागुन २० देखि रिक्त हुने १९ मध्ये १८ सिटमा निर्वाचन हुँदैछ । यही गणितीय दबाबका कारण एमालेले कांग्रेससँग अनौपचारिक ‘बार्गेनिङ’ थालेको चर्चा छ ।

एमाले सचिव भानुभक्त ढकाल संविधान र व्यवस्थाको रक्षाका लागि ठूला दलबीच सहकार्य स्वाभाविक भएको तर्क गर्छन् । तर उनले प्रतिस्पर्धात्मक वातावरण बने एमाले एक्लै चुनाव लड्न तयार रहेको पनि बताएका छन् । कांग्रेसभित्र भने राष्ट्रिय सभामा तालमेल गर्न सकिने, तर प्रतिनिधिसभामा आवश्यकताको सिद्धान्त हेरेर निर्णय लिनुपर्ने मत बलियो देखिन्छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र नेता एनपी साउद मध्यमार्गी धारमा देखिन्छन् । सभापति देउवा लचक देखिए पनि कांग्रेसका महामन्त्री गगन थापा, डा. शेखर कोइराला र विश्वप्रकाश शर्मा पक्ष निर्वाचनपूर्व गठबन्धनको खुलेर विरोधमा छन् । महासमिति र केन्द्रीय समितिले समेत ‘भविष्यका आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने’ निर्णय गरिसकेको उनीहरूको तर्क छ ।

शेखर कोइरालाले कार्यकर्ताको मनोभावना विपरीत गठबन्धन स्वीकार्य नहुने चेतावनी दिएका छन् । ‘कांग्रेस कार्यकर्ता आफ्नै चुनाव चिह्नमा भोट हाल्न नपाएर दिक्क छन्,’ उनको भनाइ छ । राजनीतिक विश्लेषकहरूका अनुसार रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ एकै ठाउँमा आउनुले कांग्रेस र एमालेलाई मनोवैज्ञानिक दबाबमा पारेको छ । प्राध्यापक कृष्ण पोखरेल भन्छन्, ‘पुराना दलहरूबीचको अप्राकृतिक गठबन्धनले उनीहरूको आत्मविश्वासको अभाव देखाउँछ । यस्ता गठबन्धनले मतदातामा नकारात्मक सन्देश जान सक्छ ।’ अघिल्लो चुनावमा रास्वपाले एक्लै २२ सिट जितेको तथ्य स्मरण गर्दै वैकल्पिक पक्षधरहरू नयाँ एकताले ठूला दललाई ठूलो धक्का दिन सक्ने अपेक्षा गर्छन् ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले कांग्रेस–एमाले मिलेर चुनाव लड्नु पर्ने अभिव्यक्ति दिएपछि पार्टीभित्रै आलोचना सुरु भएको छ । नेता गोकुल बास्कोटाले समानुपातिक प्रणाली र नेतृत्व चयनबारे प्रश्न उठाउँदै बादललाई प्रत्यक्ष चुनाव लड्न चुनौती दिएका छन् । यद्यपि, एमाले अध्यक्ष ओली पछिल्ला दिनमा कांग्रेस र विशेषतः देउवाप्रति सकारात्मक सुनिन थालेका छन् । उनले संविधान र व्यवस्थाको रक्षाका लागि कांग्रेस–एमाले मिल्नु पर्ने तर्क गर्दै आएका छन् । यसबीच, कांग्रेस र एमाले दुवैले नेकपा माओवादीसँग पनि समानान्तर संवाद जारी राखेका छन् । माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षाका लागि सहकार्य खुला रहेको संकेत दिएका छन् । तर पार्टी नेता वर्षमान पुनले ‘जेनजी’ आन्दोलनपछि माओवादी बलियो बन्दै गएको भन्दै तत्काल गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।

 

 

२८ राजनीतिकर्मीको चेतावनी : दलहरूको पुनर्गठन ढिलो गर्नु आत्मघाती हुनेछ

काठमाडौं । नेपालका मुख्य राजनीतिक दलभित्र सक्रिय २८ जना युवापुस्ताका नेताहरूले ‘जेनजी आन्दोलन’ लाई केवल सडक आन्दोलन नभई, सत्ता संरचना रूपान्तरणको चेतावनीको रूपमा बुझ्न आग्रह गरेका छन् । उनीहरूले पुराना नेताहरूको निरन्तरताले देशलाई दुर्घटनातर्फ लैजाने भन्दै ‘नेतृत्वको पुस्तान्तरण र दलहरूको पुनर्गठन’ को आह्वान गरेका छन् ।

नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलमा आबद्ध युवा नेताहरूले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै जेनजी आन्दोलनको आत्मा बुझ्न नसक्नेहरू इतिहासबाट फ्याँकिने चेतावनी दिएका छन् ।

‘दलहरू चलाउने होइन, कब्जा गर्ने सोचले मुलुक असफल भयो’
वक्तव्यमा भनिएको छ, ‘राजनीतिक दलहरूलाई नेतृत्व स्थानान्तरण गर्न युवापुस्ताले पटक–पटक आग्रह गर्दै आएका थिए । तर, सत्ताको वरिपरि घुमिरहन चाहने पुराना पुस्ताले त्यो आवाज नसुन्दा अन्ततः सडक आन्दोलनको रूप लिएको हो ।’

उनीहरूको आरोप छ—केही व्यक्तिहरू पालैपालो दल र सत्ता कब्जा गरेर राजनीतिक व्यवस्था नै अपांग बनाइरहेका छन् । ‘अब पनि नसुने, नबुझे देश झन ठूलो दुर्घटनातर्फ जान सक्छ’, उनीहरूले भनेका छन् ।

‘जेनजी आन्दोलन हामीसँगको संघर्ष हो, हामीविरुद्ध होइन’
नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सेना, अरबिन्द सिंह, अशेष घिमिरे, करूणा पराजुली, विराज थापा लगायत विभिन्न दलका युवा नेताहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘जेनजी आन्दोलनले हामीलाई गम्भीर आत्ममूल्यांकन गर्न बाध्य पारेको छ । यो आन्दोलनले सन्देश दिएको छ, ‘अब ‘राजनीतिक अवसरवादिता’ को दिन सकियो ।’

उनीहरूले आन्दोलनमा भएका केही तोडफोडजन्य गतिविधिहरूको भर्त्सना गर्दै जेनजी प्रतिनिधिहरूले मागेको निष्पक्ष छानबिन आयोगको समर्थन समेत गरेका छन् ।

‘अर्को चुनाव पुरानै अनुहारहरूसँग भयो भने विश्वासको संकट झन गहिरिन्छ’
उनीहरूका अनुसार, नयाँ निर्वाचनमा युवाहरूको प्रतिनिधित्व सुनिश्चित नहुने हो भने त्यो लोकतान्त्रिक प्रक्रियाको कमजोर पक्ष बन्ने छ । ‘युवापुस्ताले अब आफूलाई नेतृत्वमा उभ्याउनु पर्ने बेला आएको छ । यसका लागि हामी नयाँ पुस्ताको राजनीतिक हस्तक्षेपलाई संस्थागत बनाउनेतर्फ लाग्नु पर्छ’, उनीहरूद्वारा भनिएको छ ।

‘दलहरूको पुनर्गठन अब ढिलो गर्नु आत्मघाती हुन्छ’
वक्तव्यमा भनिएको छ, ‘राजनीतिक अस्थिरता बढाउने शक्तिहरू सक्रिय भइरहेका बेला दलहरू अझै पनि पुरानै नेतामै अडिग हुनु आत्मघाती हुनेछ । दलभित्रको दोस्रो र तेस्रो तहका नेताहरूले अब बोल्नु पर्छ, उठ्नु पर्छ र नेतृत्वको जिम्मेवारी लिनुपर्छ ।’