`

जेनजीलाई राजेश हमालको अपिल : राष्ट्रको सम्पदा जोगाऊ

काठमाडौं । अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन जेनजी पुस्तालाई अपिल गरेका छन् । सोमबार प्रहरीको गोली लागेर मारिएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्न जेनजीद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै हमालले यस्तो आग्रह गरेका हुन् ।

सोमबारको घटना नेपाली इतिहासको सबैभन्दा कालो दिन भएको उनले बताएका छन् । ‘नेपालमा जेनजीले जुन कदम उठाएको छ त्यसको समर्थन हामी सबैले गरेका छौं । साथसाथै आन्दोलनमा उत्रिएका जेनजीलाई म विनम्र अनुरोध गर्दछु राष्ट्रको सम्पदा, राष्ट्रको सम्पत्ति कुनै नेताको निजी सम्पत्ति होइन । ती हाम्रा हुन् । तिनको नाश नगरौं संरक्षण गरौं,’ उनले भने ।

हमालले भोलि देशको नेतृत्व गर्ने अवसर आउँदा नयाँ पुस्तालाई तिनै संरचना र सम्पदा आवश्यक पर्ने भन्दै संयमता अपनाउन अपिल गरे । उनले एक, दुई वा पाँच, ६ वर्षदेखिको आक्रोश नभई वर्षौंदेखि उम्लिएको असन्तोष अहिले विष्फोट भएको भन्दै उनले अब नेपालीले नै मिलेर नेपाल जोगाउनु पर्ने बताएका छन् ।

आजको दिन नेपालको इतिहासमा सबैभन्दा पीडादायी : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले आज (२३ भदौ, २०८२) को दिन नेपालको इतिहासमा सबैभन्दा पीडादायी भएको बताएका छन् । आज (सोमबार) काठमाडौँसहित देशभर भएको जेन–जी आन्दोलनमा सरकारले दमन गर्दा १९ बढी युवा मारिएका छन् । यसप्रति अभिनेता हमालले पनि गहिरो दुःख प्रकट गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौँ, उनीहरूको वर्तमान समेत खोसिरहेका छौं । म विदेश यात्रा गर्दैछु । नेपाली भएकोमा यति लाज महसुस मैले कहिले गरेको थिइनँ । आजको दिन नेपालको इतिहासमा सबैभन्दा पीडादायी दिन बनेको छ ।’ सन् १९९७ देखि २०१२ भित्र जन्मिएकाहरू अर्थात् २८ वर्षमुनिका व्यक्तिहरूलाई जेन–जी अर्थात् जेनेरेसन–जेड भनिन्छ । उनीहरूको नेतृत्वमा आज आन्दोलन गरिएको हो ।