`

कमल थापाको दाबी : जति ठूलो पार्टी खोले पनि बालेनले बहुमत ल्याउन सक्दैनन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले अहिलेकै निर्वाचन प्रणालीबाट कुनै पनि एक दलको बहुमत आउन नसक्ने दाबी गरेका छन् । आज (बिहीबार) एक कार्यक्रममा बोल्दै थापाले यस्तो दावी गरेका हुन् ।

‘एकथरीले हल्ला गर्दैछन्–अब बालेन साहले पार्टी खोल्छन्, बालेनको पार्टी ठुलो हुन्छ,’ थापाले भने, ‘जति ठुलो भए पनि एउटै पार्टीले अहिलेको निर्वाचन प्रणालीअनुसार समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीको आधारमा बहुमत प्राप्त गर्न सक्दैन ।’ त्यो अवस्थामा बालेन अथवा अन्य कोही नयाँ पार्टी खोल्ने व्यक्तिले पनि पुरानै नेपाली कांग्रेस र नेकपा एमालेकै सहयोगमा सरकार बनाउनु पर्ने उनले बताए । ‘के अर्थ आयो त्यसपछि भन्नुस् त ?,’ थापाले प्रश्न गरे ।