`

राष्ट्रपतिको पहलमा ‘आइस ब्रेक’ : तीन पूर्व प्रधानमन्त्री आमने–सामने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल शुरू भएको छ । लामो समयदेखि देखिएको राजनीतिक तिक्तता कम गर्ने प्रयासस्वरूप यो भेटवार्ता आयोजना गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् । कार्की प्रधानमन्त्री बनेको १०० दिन नाघेपछि प्रमुख तीन दलका शीर्ष नेतासँगको यो पहिलो औपचारिक भेट हो । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले यसअघि तीन शीर्ष नेतासँग भेट्न इच्छुक नभएको अभिव्यक्ति दिएकी थिइन् ।

सो अभिव्यक्तिपछि कांग्रेस, एमाले र नेकपामा असन्तुष्टि देखिएको थियो । यही पृष्ठभूमिमा राष्ट्रपति पौडेलले ‘आइस ब्रेक’ को प्रयासस्वरूप सबैलाई शीतल निवास बोलाएर संवादको वातावरण बनाएको बताइएको छ । जेनजी घटनापछि ओली र प्रचण्ड पनि पहिलोपटक एउटै बैठकमा आमनेसामने भएका हुन् । फागुन २१ गतेका लागि निर्वाचन गराउने सरकारको तयारी, संसद पुनःस्थापनाको मागसहित कांग्रेस र एमाले सर्वोच्च अदालत पुगेको अवस्था, र समग्र राजनीतिक गतिरोध छलफलका मुख्य एजेण्डा रहेको बुझिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूबीचको छलफल जारी छ र यसबाट राजनीतिक सहमतिको आधार तयार हुने अपेक्षा गरिएको छ । शीतल निवासमा जारी यो भेटलाई वर्तमान राजनीतिक अवस्थाको ‘टर्निङ प्वाइन्ट’ का रूपमा हेरिएको छ ।

 

 

 

 

 

ओली, देउवा र प्रचण्डसँग राष्ट्रपतिले छलफल गर्दै

काठमाडौं । राष्ट्रिपति रामचन्द्र पौडेलले तीन ठूला दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् । राष्ट्रपतिले कांग्रेस सभापति शेरबहादुर देउवा, निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छलफलमा बोलाएका हुन् । राष्ट्रपति र तीन शीर्ष नेताहरुबीचको छलफल ३ बजे शीतलनिवासमा सुरु हुने जनाइएको छ । तर, राष्ट्रपति कार्यालयले पूर्व प्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेण्डाबारे भने केही खुलाएको छैन ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिकविज्ञ सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको नेपाली कांग्रेसबाट उमेदवार बन्नका लागि राजीनामा दिएको बताइएको छ । थापाले आफूले केही दिनअघि नै राष्ट्रपति समक्ष राजीनामा पेस गरी स्वीकृत समेत भइसकेको बताएका छन् । ‘मैले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको हो, स्वीकृत पनि भइसकेको अवस्था छ,’ उनले भने, ‘पार्टीको महाधिवेशन आउँदैछ, त्यसैले पार्टीमै क्रियाशील रहने निर्णयमा पुगेँ ।’

२०७९ चैत १६ गते थापालाई राष्ट्रपतिले सल्लाहकारमा नियुक्त गरेका थिए। त्यस बेला थापा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए । धनकुटा कांग्रेसले राष्ट्रियसभाका लागि सुनिलबहादुर थापा, आनन्दसन्तोषी राई, अजितनारायण सिंह थापा, लीला सुब्बा र अञ्जना ताम्लीको नाम सिफारिस गरेको छ भने दलिततर्फ रवीन्द्र नेपाली, अम्बिका परियार र इन्दु दर्नालको नाम सिफारिस गरेको नेपाली कांग्रेस धनकुटाका सचिव राईले जानकारी दिए।

नागरिकको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरपालिकाको नव निर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उनले नागरिकको मुहारमा खुशी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष रहेको जिकिर गरे । नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई सोहीअनुसार रूपान्तरण गर्दै लैजान जरूरी रहेको बताए ।

‘पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउन सक्ने विकास आजको आवश्यकता हो। यसका लागि सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष हो भन्ने म ठान्दछु । नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रूपान्तण गर्दै लैजानु आजको हाम्रो साझा दायित्व हो भन्ने म ठान्दछु ।’

उनले संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान उल्लेख गरे । राष्ट्रपति पौडेलले स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्ने बताए ।

‘संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्दछ, त्यसैले नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्दछ,’ उनले भने ।

नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरूप काम गर्ने संस्कार र शैली भएको पनि बताए ।

‘लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने संस्कार र शैली हो र यो लोकहितमा समर्पित हुने असल आचरण र चरित्र पनि हो, यो मर्म र भावना बुझेर अघि बढ्ने नेतृत्व र जनप्रतिनिधिको दृढ इच्छाले मात्र भौतिक विकाससँगै नागरिकको मुहारमा खुसी ल्याउन र व्यवस्थाप्रति भरोसा जागृत गराउन सक्छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगिन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन पनि आह्वान गरे ।

फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा आज (शुक्रबार) आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो विचार व्यक्त गरेका हुन् ।

देश आज विषम परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘त्यो विषम र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको छ । यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु ।’

उनले समाज तथा राष्ट्रको आवश्यकताअनुसार थप विषयको पठनपाठन सुरु गरी व्यावहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सिपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । ‘यो निर्वाचन परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ, यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई अपिल पनि गर्न चाहन्छु’, राष्ट्रपति पौडेलले भने ।

शैक्षिक संस्थाहरूको प्रमुख कार्य मुलुकमा विभिन्न क्षेत्रका लागि आवश्यक गुणस्तरीय र दक्ष जनशक्ति तयार गर्नु भएको उनको भनाई थियो । ‘मुलुकको प्राज्ञिक र प्रशासनिक मात्र होइन, राजनीतिक क्षेत्रमा स्थापित धेरै महिलाहरू यसै क्याम्पसबाट उच्च शिक्षा हासिल गरेको पाइन्छन्, उच्च शिक्षामा नयाँ नयाँ विषय अध्ययनका क्रममा पछिल्लो समय नेपाली विद्यार्थीहरू बिदेसिने क्रम बढ्दो छ, यो यथार्थतालाई मध्यनजर गरी आगामी दिनमा बजारको मागलाई सम्बोधन गर्न स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा यो क्याम्पसले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने । कुनै पनि मुलुकको विकासका लागि शिक्षाको योगदान महत्वपूर्ण रहेको उनको भनाई थियो । साथै, नेपालमा नारीहरूको शैक्षिक उन्नयनमा पद्मकन्याको विशेष योगदान रहेको बताए ।

राष्ट्रपति पौडेल कतार प्रस्थान {तस्वीरहरु}

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । उनी यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी पदाधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले सो सम्मेलनका अवसरमा कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्नेछन् ।

यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसंख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुने बताइएको छ । संयुक्त राष्ट्रसंघको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने छन् ।

तस्वीरहरु

राष्ट्रपति पौडेलले शीतल निवासमा लगाए भाइटीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ बजेको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो ।

भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । रासस

 

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । राष्ट्रपति निवास शीतल निवासमा जेन जी प्रतिनिधिहरूसँग वार्ता गर्ने तय भएको थियो । तर स्वास्थ्यका कारण सो वार्ता सोमबारका लागि सारिएको छ । राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शनिवार जेनजीका प्रतिनिधिले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए ।

राष्ट्रपतिले बोलाएको सर्वदलीय छलफलमा को–को नेता भए सहभागी ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय छलफलमा प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी भएका छन् । छलफलमा आउँदो फागुन २१ मा घोषणा भएको निर्वाचन र आगामी राजनीतिक परिदृश्यबारे छलफल भइरहेको छ । बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्री सहभागी छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले) बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी छन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सभागी छैनन् । राष्ट्रपति पौडेलले प्रमुख दलहरूबीचको समसामयिक राजनीतिक परामर्शका लागि आज साँझ शीतलनिवासमा सर्वदलीय छलफल बोलाएका हुन् ।

अध्यादेश जारीपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच फेरि भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच आज अनौपचारिक भेटवार्ता भएको शीतल निवास स्रोतले जानकारी दिएको छ । भेटमा दुई जनाबीच समसामियक विषयमा छलफल भएको भए पनि विस्तृत जानकारी भने स्रोतले दिएन ।

यसअघि बुधबार मात्र उनीहरूबीच भेटवार्ता भएको थियो । त्यसपछि राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए । त्यसको एक दिनपछि राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेकी हुन् । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको काँधमा फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनुपर्ने मुख्य जिम्मेवारी छ ।

राष्ट्रपतिको अपिल : संवैधानिक दायरामा रहेर निकास दिन प्रयास गर्दैछु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्ने गरी निकासको खोजी भइरहेको बताएका छन् ।

पौडेलले आज (बिहीबार) एक अपिल जारी गर्दै पौडेलले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग पक्षलाई सहयोग गर्न आग्रह गरेका हुन् । जेनजीको प्रदर्शनपछि पौडेल नेपाली सेनाको सुरक्षा घेरामा छन् ।

अन्तरिम सरकार गठनको विषयमा छलफल जारी रहँदा पौडेलको अपिल पत्र आएको हो । सामाजिक सञ्जालमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न माग गरिरहेको बेला उनले अपिलपत्र सार्वजनिक गरेका हुन् ।

राष्ट्रपति पौडेलको घरमा आगजनी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन् । सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ ।

सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको । प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।

राष्ट्रपतिद्वारा शान्ति र संयमका लागि अपिल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाल देशमा उत्पन्न परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा ठुलो संख्यामा नागरिक हताहत भएको घटनाबाट आफू मर्माहत भएको बताएका छन् । राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन् ।

उनले घाइतेहरूको तत्काल उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन् । उनका प्रेस सल्लाहकार किरण पोखरेलले दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलले अप्रत्याशित रूपमा भएको यो घटनाले आफूलाई चिन्तित तुल्याएको बताएका छन् । उनले वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपिल गरेका छन् ।