`

नागरिक अगुवाले राष्ट्रपतिलाई भेटेर भने–सरकार दलहरुप्रति प्रतिशोध साँध्नतिर नलागोस्

काठमाडौं । नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर लोकतन्त्रको जग हल्लिन नदिन खबरदारी गरेका छन् । उनीहरुले जेनजी आन्दोलनपछिको संक्रमणकालीन समयमा राष्ट्रपतिले देखाएको अभिभावकीय भूमिकाको प्रशंसा गरेका छन् ।

विभिन्न क्षेत्रका १४ जना प्रबुद्ध नागरिकले राष्ट्रपतिलाई भेटेर ज्ञापनपत्र बुझाउँदै सरकार निर्वाचन गराउने दायित्वबाट विमुख हुने खतरातर्फ सचेत गराएको भेटमा सहभागी संविधानविद टीकाराम भट्टराईले बताए । उनीहरुले जेनजी आन्दोलनमा भएको सरकारी दमन, अपराधिक घुसपैठ र भयावह हिंसात्मक घटनाको छानविनको माग गर्दै सुरक्षा निकायको सक्रियता नदेखिएको घटनाप्रति आशंका समेत जाहेर गरेका छन् । उनीहरुले दलहरुविरुद्ध प्रतिशोध साँध्ने, उनीहरुको भूमिका खुम्च्याउन खोज्ने र संवैधानिक संरचनाहरुलाई असंवैधानिक ढंगले चलाउने वा खुम्च्याउने कार्य भएमा अर्को द्वन्द्व हुनसक्ने भन्दै राष्ट्रपतिलाई सचेत गराएका छन् ।

सरकारले अहिले निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई पनि भाग लिन पाउनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्न लागेको भन्दै उनीहरुले त्यसो गर्दा चुनाव समयमा नहुनेतर्फ राष्ट्रपतिलाई सजग गराएका छन् । भेटमा सहभागी नेपाल बारका पूर्व उपाध्यक्ष भट्टराईले भने, ‘विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार दिलाउने कुरा राम्रो हो तर अहिले अध्यादेशबाट त्यो कति सम्भव छ ? यसले गर्दा ६ महिनाभित्र हुने निर्वाचन धकेलिन सक्छ र त्यसपछि झन् ठूलो संवैधानिक संकट आउनसक्छ भनेर हामीले राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराएका छौं ।’