`

‘राष्ट्रिय परिचयपत्र बनाएकाले मतदाता नामावलीका लागि अनलाइन फारम मात्रै भरे पुग्छ’

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइन मतदाता नामावली संकलन गर्नेहरुको राष्ट्रिय परिचय पत्र (नेशनल आइडी कार्ड) बाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइने बताएका छन् । जेन–जी प्रतिनिधिहरुसँगको छलफलका क्रममा उनले मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले अहिले धेरै नागरिकहरुले नेशनल आइडी कार्ड बनाइसकेकाले थप सहज हुने विश्वास लिएको बताए । नेशनल आइडी कार्ड बनाइसकेका नागरिकहरु भए अब अनलाइनबाट मतदाता नामावली संकलन गर्नेहरुको बायोमेट्रिक नेशनल आइडी कार्डबाटै लिइनेछ । यसले जेन–जीका मागहरु सम्बोधन गर्ने आयोगको विश्वास रहेको भण्डारीले बताए । अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भर्नसक्ने बताए ।

उनले भने, ‘अहिले हाम्रो नेशनल आइडीको भण्डारमा जम्मा भएको बायोमेट्रिक तपाईंहरुले अनलाइनमा भर्नु भएको निवेदनमा ल्याएर जोड्ने र छानविन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ । त्यसले तपाईंहरुका सबै मागलाई सम्बोधन गर्दछ । अध्ययनको कामका लागि विदेशमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावली दर्ता गराउन नेपालका कुटनीतिक नियोग र अन्य संयन्त्र प्रयोग गर्ने भन्नुभएको छ । उहाँहरुले पनि अनलाइनमार्फत भर्न सक्नुहुन्छ । उहाँहरुले अनलाइनमा फारम भर्नु भयो भने नेशनल आइडी कार्डमा भएको बायोमेट्रिक ल्याएर दाँज्छौँ ।’ उनले एक महिनासम्म मतदाता नामावलीमा नाम दर्ता गर्न कसैले चासो नदेखाएको भए पनि पछिल्लो समय धेरै चाप रहेको बताए ।

 

गाउँमै राष्ट्रिय परिचयपत्र, हट्यो सदरमुकाम धाउनुपर्ने बाध्यता

हुम्ला । हुम्लाका अधिकांश ग्रामीण भेगका नागरिकको राष्ट्रिय परिचयपत्र गाउँमा नै बन्न सुरु भएपछि सदरमुकाम सिमकोट धाउनुपर्ने बाध्यता हटेको छ ।

यसअघि गाउँमा राष्ट्रिय परिचयपत्र नबन्दा नागरिकले हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनु परेको थियो । पछिल्लो समय हुम्लामा एक महिनाको अवधिमा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रका लागि ‘डाटा’ संकलन कार्य तीव्र गरिएको छ ।

गाउँपालिकाको कार्यपालिकाले निर्धारण गरेको स्थानका टोलटोलमा पुगी स्थानीयको राष्ट्रिय परिचयपत्रको डाटा संकलन गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । प्रमुख जिल्ला अधिकारी रेग्मीसहितको सर्वपक्षीय बैठकमा जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र अदानचुली गाउँपालिकाका जनप्रतिनिधि एवं गाउँपालिका अध्यक्षसँग बैठक बस्दा गाउँपालिका अध्यक्षले राष्ट्रिय परिचयपत्र बनाउन पालिकावासीलाई सास्ती भएको गुनासो प्रमुख जिल्ला अधिकारीलाई सुनाएपछि प्रमुख जिल्ला अधिकारीको पहलमा गाउँगाउँमा पुगी राष्ट्रिय परिचयपत्रको डाटा संकलन गरिएको हो ।

एक महिनाको अवधिमा नाम्खामा एक हजार १५२, अदानचुलीमा ७१८, खार्पुनाथमा ८८५ र सिमकोटमा ५०८ गरी जम्मा तीन हजार २६३ जनाको राष्ट्रिय परिचयपत्रको डाटा ‘अफलाइन’ माध्यमबाट संकलन गरिएको र सदरमुकाम सिमकोटको जिल्ला प्रशासन कार्यालयमा आइपुगेपछि ‘अनलाइन’ मार्फत संकलन गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।