`

राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने

काठमाडौं । भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज केन्द्रका सचिव सरजुकुमार वैद्यसँग छलफल गरेकी छन् ।

त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचारविरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताइन् । छलफलपछि उनले केन्द्रलाई चार बुँदे निर्देशन दिएकी छन् ।

प्रधानमन्त्रीको ४ बुँदे निर्देशन
– सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका थप प्रभावकारी बनाउनु पर्छ । भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्नुपर्छ ।

– सार्वजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढावा दिनुपर्छ। केन्द्रका निर्देशन पालना भए–नभएको पनि अनुगमन गर्नुहोस् ।

–विकास–निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा सतर्कता केन्द्रको ध्यान पुगेन। यसको लागि जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्नुहोस् ।

–आम नागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउनुहोस् ।