`

सरकारले सात लाख विद्युतीय राहदानी किन्ने

काठमाडौं । सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी किन्ने निर्णय गरेको छ । सिंहदरबारमा आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसंग भेरियसन आदेशबाट खरिद गर्न राहदानी बिभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने तयारी गरेको हो । त्यस्तै मन्त्रिपरिषद्ले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गठन गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौ बैठकमा सहभागी हुन ऊर्जा मन्त्रालयका सचिव चिरञ्जिवी चटौत नेतृत्वको टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, लुम्बिनी बिकास कोष, लुम्विनी बिकास परिषद्को सदस्य सचिवमा दिपक श्रेष्ठलाई मनोनित गर्ने निर्णयय भएको प्रवक्ता खरेलले बताए । त्यस्तै बैठकले नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथीमा बढुवा र एक जना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना दरबन्दी तेरिज स्वीकृत गर्ने र मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनामा सहभागी हुन आदिवासी जनजाति आयोगका सदस्य रिना रानालाई स्वीकृत प्रदान गरेको छ ।

 

 

 

जेनजी आन्दोलनपछि राहदानी वितरणमा समस्या

काठमाडौं । जेनजी आन्दोलनपछि राहदानी बनाउनेको घुइँचो देखिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहानैदेखि राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको विभागका अधिकारीहरु बताउँछन् । उनीहरुकाअनुसार यो भीड बढ्नुको कारण जेनजी आन्दोलनसँगै दशैं–तिहार पनि मुख्य कारक हो । जेन–जी आन्दोलनका कारण केही राहदानी जलेको र उपकरणमा क्षति पुग्दा विभागको सेवा अवरुद्ध हुन पुगेको र दशैँ तिहार मनाउन आउनेहरुले पासपोर्ट बनाएर फर्कन खोज्दा भीड थेगिनसक्नु भएको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बताए ।

उनकाअनुसार राहदानी विभागसँग अहिले एक लाख ७९ हजार राहदानी स्टक छ । मासिक रुपमा ९० हजारदेखि १ लाखसम्म नियमित रुपमा राहदानीको माग हो । त्यसैले अझै २ महिनालाई राहदानी पुग्ने नै छ । चार महिनापछि नयाँ कम्पनीले सम्झौताअनुसार राहदानी व्यस्थापन गर्नेछ । अहिले राहदानी पुस्तिका कम वितरणको कारण कुनै समस्याले बिचमा पुस्तिका अभाव नहोस् भन्ने हेतुले रहेको उनको भनाइ छ । अर्यालकाअनुसार अहिले दैनिक झण्डै ४ हजार ५ सय देखि ५ हजारको हाराहारीमा राहदानीको माग छ ।

त्यसमा विभागबाट हुने सामान्यतः १ हजार २ सय हो । अहिले विभागले दैनिक १ हजार राहदानी वितरण सामान्य प्रक्रियाबाट दिएको छ भने जरुरी परेर आउने २–३ सय जनालाई पनि विभागले राहदानी दिने गरेका छ । नियोग जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालयहरूबाट थप राहदानी वितरण भइरहेको छ । अहिले दैनिक २ हजारदेखि २हजार ५ सयको हाराहारीमा राहदानी उत्पादन भइरहेको छ । त्यसमध्ये १ हजार देखि १ हजार २ सय विभागबाट वितरण भएको छ भने बाँकी जिल्ला प्रशासनसहितका कार्यालयलाई र विदेशस्थित नियोगबाट वितरण भइरहेको अर्यालले जानकारी दिए ।

महानिर्देशक अर्यालले भने, ‘मुख्य तीन कारणले राहदानी बनाउनेको भीड देखियो । एउटा जेन–जी आन्दोलनका कारण पासपोर्ट र केही उपकरणहरु जले । त्यसले गर्दा जिल्लाबाट राहदानी वितरणमा केही समस्या भयो । जिल्लामा राहदानी वितरणमा ढिलाइ हुन थालेपछि सबै मान्छेहरु विभागमा आएका कारण भीडभाड देखिएको हो । दोस्रो कारण जेनजी आन्दोलनका कारण सेवा अवरुद्ध हुन पुग्यो र दशैँ तिहारका कारण सेवा अवरुद्ध भयो । त्यसमा पनि दसैँ तिहारका लागि जतिपनि विदेशबाट नेपालीहरु आएका थिए, ती नेपालीहरुले धेरैजसोले नेपालबाट पासर्पोट बनाएर जान खोजेपछि चाप बढेको हो ।’

उनले भने, ‘अर्को कारण राहदानीका लागि पुरानो सम्झौता सकिँदैछ । यो सक्रमणकालिन अवस्था हो । नयाँ सम्झौता अनुसार आपूर्ति हुनका लागि अहिलेको तालिकाअनुसार फागुन ११ बाट राहदानी जारी शुरु हुन्छ । त्यो अवधीभित्र अलिकति राहदानी पुस्तिकाको अभाव हुनसक्छ । अहिले राहदानी पुस्तिका सीमित छ । बीचमा वैकल्पिक व्यवस्था गरेर पूर्ति गर्ने भनेर लागिरहेका छौं । सम्भवतः एक दुई हप्ता भित्र रिजल्ट पनि आउछ । जरुरी पर्नेलाई तत्कालै दिन सकियोस् भनेर अहिले सेवा कटौती गरिएको हो । यो तीन कारणले अप्ठ्यारो परेको हो । भीड धेरै समय रहँदैन । छिट्टै नै यो समस्या समाधान हुन्छ ।’

६ हजार राहदानी जले
राहादनी विभागकाअनुसार जेन–जी आन्दोलनमा ६ हजार राहदानी जलेर नष्ट भएका छन् । जलेका राहदानी बनाउनेहरुको पनि विभागमा आउँदा भीड बढेको महानिर्देशक अर्याल बताउँछन् । उनले भने, ‘हाम्रो तथ्यांकमा करिब ६ हजार राहदानी जलेका छन् । ती एकैपटक बल्कमा रि प्रिन्ट गर्ने भन्दा पनि जसलाई जरुरी छ, उसैलाई प्राथमिकता दिनुपर्छ भनेर काम भइरहेको छ ।’

अर्यालकाअनुसार अहिले देखिएको भीडभाड एक–दुई हप्तामै समाधान हुन्छ, त्योअनुसार काम पनि भइरहेको छ । यसमा राहदानी विभाग, परराष्ट्र मन्त्रालय र सिंगो नेपाल सरकारले विभिन्न प्रयास गरिरहेको उनको भनाइ छ । अहिलेको भीडलाई व्यवस्थापन गर्न सबै कुटनीतिक च्यानललाई विभागले प्रयोग गरिरहेको छ । त्यसैले एक–दुई हप्ताभित्रमा समस्या समाधान हुने सम्भावना छ ।

अर्यालले सबैले राहदानी पाउनसक्ने स्थिति रहेकाले नआत्तिन सबैलाई आग्रह समेत गरेका छन् । ‘मेरो चाहीँ अनुरोध छ सबैलाई, आत्तिनु पर्ने केही छैन । सबैलाई हामीले जरुरी छ भने राजधानी दिन्छौं र त्यो जरुरी हुनेलाई सहज रूपमा, यदि केही व्यवस्था भयो भने, एकदम सहज रूपमा दिने गरी हामीले व्यवस्था मिलाउँछौं । त्यसैले एक–दुई हप्ता चाहीँ पर्खिदिनु हुन अनुरोध छ । त्योभित्रमा हामीले गृहकार्य गरिरहेका छौं र सबैलाई सहज रूपमा दिने गरेर राजधानी वितरण हुने गरी हामी व्यवस्था मिलाउँछौं र यसको लागि सबैको सहयोगका लागि अनुरोध गर्दछु,’ महानिर्देशक अर्यालले भने ।