`

रेनु दाहाल चितवन–३ बाट सर्वसम्मत सिफारिस

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नम्बर–३ बाट आउँदो निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने सो पार्टीका नेता सन्तोष पनेरुले जानकारी दिएका छन् ।

भरतपुर महानगरपालिकाको एक बर्षे कार्यकाल बाँकी छँदै महानगर प्रमुख दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेकी छन् । सर्वसम्मत उम्मेदवार सिफारिस बैठकमा आफैं उपस्थित भएकी दाहालले महानगरपालिकामा झण्डै ९ वर्ष काम गरिसकेको अनुभव र जनताको अपार मायालाई सधै साथमा लिएर आगामी निर्वाचनमा लाग्ने बताइन् ।

उनले विगतमा काठमाडौंमा उम्मेदवार बनेर हार्न समेत तयार भएको परिस्थितिको समेत सामना गरिसकेको भन्दै चितवन क्षेत्र नं. ३ का जनताले आफूलाई विश्वास गर्ने बताइन् । चितवन निर्वाचन क्षेत्र नं. ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिकाका १९ वटा वडाहरू पर्दछन् । २०७४ सालको निर्वाचनमा रेनुका पिता तथा तत्कालीन एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस निर्वाचन क्षेत्रबाट जित हात पारेका थिए ।

२०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता डा. भोजराज अधिकारी राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेसँग पराजित बनेका थिए । सो निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेर दिनेश कोइराला एमालेको सर्मथनमा ‘माछा’ चुनाव चिह्न लिएर निर्वाचन लडे पनि पराजित बनेका थिए ।