काठमाडौं । रेमिट्यान्स आप्रवाह ३५ प्रतिशत बढीले बढेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । त्यसबेला २ खर्ब १ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । चालू आवको तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।
चालू खाता र भुक्तानी सन्तुलन दुवै दुई खर्ब बढीले बचतमा
तीन महिनामा सरकारको चालू खाता दुई खर्ब ३७ अर्ब ५९ करोडले बचतमा देखिएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब १५ अर्ब ३६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रहेको थियो ।
यस्तै समीक्षा अवधिमा १ अर्ब ७४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ४ अर्ब ८१ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर (भुक्तानी सन्तुलन) २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको छ ।
