काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले घोषणा गरेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालले दर्ताका लागि आज (बिहीबार) निर्वाचन आयोगमा निवेदन दिएको छ । नागरिक उन्मुक्ति पार्टी नेपाल नाम राखिएको पार्टी दर्ताका लागि निवेदन दिइएको दीप तामाङले जानकारी दिए । चुनाव चिह्न जाँतो प्रस्ताव गरिएको उनको भनाइ छ ।
नाउपा छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीसहितका नेताहरू एकै रङको पोसाकमा निर्वाचन आयोग पुगेका हुन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरी बिहीबार दल दर्ताको प्रयोजनका लागि निर्वाचन आयोग पुगेका हुन् ।
उनीहरूले अहिले दल दर्ताको आवश्यक कागजात आयोगसमक्ष पेश गर्न लागेका हुन् । चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन् । अबदुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।
यसअघि नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट चुनिएका अधिकांश केन्द्रीय सदस्य रेशमलालले घोषणा गरेको नयाँ पार्टीमा समाहित भएका छन् । उनले भने, ‘नागरिक उन्मुक्ति पार्टीको प्रस्तावित चुनाव चिह्न जाँतो राखिएको छ । हामी सबै नयाँ मात्र यस पार्टीमा छौँ । पार्टी विभाजन भएको हैन ।’ रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न ढकियाबाट जितेर सांसद बनेकाहरू नयाँ पार्टीमा आवद्ध नभएको उनको भनाइ छ । उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि पनि कोही हामीसँग हुनु हुन्न ।’
रेशमलालले भदौ २९ गते नयाँ पार्टी गठनको घोषणा गरेका थिए । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई जानकारी नदिई पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै संरक्षक रेशमलाल रुष्ट बनेका थिए । त्यही बखत उनले भनेका थिए, ‘अध्यक्षसँगको सबैखाले सम्बन्ध समाप्त भएको छ ।’

