काठमाडौं । संस्थापन पक्ष (केपी शर्मा ओली) को केन्द्रीय सदस्यको सूचीमा परेका लालबाबु पण्डितले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा जारी एमालेको ११ औँ महाधिवेशनमा लालबाबुले सचिव पदमा उम्मेदवारी दर्ता गराएको बताए । यसअघि उनी नेकपा एमाले प्रशिक्षण विभाग प्रमुख भएका थिए । दशौँ महधिवेशनमा पनि पदाधिकारीको आकांक्षी पण्डित सूचीमा नपरेपछि रिसाउँदै फर्किएका थिए । उनले कुन प्यानलबाट उम्मेदवारी भन्ने विषयमा भने उनले खुलाएनन् । उनले भने, ‘अहिले त्यस्तो कुरा नगरौँ । मैले सचिव पदमा उम्मेदवारी दिएको छु ।’
पण्डितले आफू पार्टी संगठनलाई थप सुदृढ बनाउन र विचार, नीति तथा नेतृत्वलाई बलियो बनाउन सचिव पदमा उम्मेदवारी दिएको दावी गरेका छन् । पार्टीमा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई उपयोग गर्दै संगठनात्मक काममा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकोले अहिलेलाई सचिव पदको उम्मेदवारी दर्ता गराएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहबाट केन्द्रीय सदस्यको सूचीमा रहेका पण्डितले आफू सँधैँ केन्द्रीय सदस्य भएर बसिरहन नसक्ने बताए । ‘कहिलेसम्म केन्द्रीय सदस्य भएर बस्ने हो र ?,’ पण्डितले भने, ‘अरु कुरा त्यस्तै हो मैले सचिव पदमा उम्मेदवारी दिएको छु ।’
