रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चार जना विज्ञ र दुई सल्लाहकार गरी ६ जनालाई पदबाट बिदा दिएका छन् । अर्थ मन्त्रालयले अनुत्पादक र फजुल खर्च कटौती गर्ने नीति अघि बढाएपछि यस्तो निर्णय गरिएको हो ।
मुख्यमन्त्री आचार्यले नेपाल भने, ‘प्रदेश सरकारको सुरुमै पूर्व विशिष्टहरूको सेवा रोक्ने निर्णयले राम्रो सन्देश दिएको थियो । कार्यलाई सहज बनाउन विज्ञ र सल्लाहकार राखिएका थिए, तर खर्च घटाउने उद्देश्यले उहाँहरूसँग सहमतिमा बिदा गरिएको हो ।’ उनले बिदाई पत्रसमेत बुझाइसकेको समेत जानकारी दिए ।
प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरूले सुविधाका नाममा अत्यधिक सचिवालय र स्वकीय सचिव राखेर खर्च वृद्धि गरेको आरोपपछि सरकारले यस्तो कदम चालेको हो । लुम्बिनीमा १४ जनाको ठूलो सचिवालय र सल्लाहकार समूहलाई लिएर आलोचना भएको थियो ।
नयाँ नियम अनुसार मुख्यमन्त्री, मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र राख्न पाइने व्यवस्था लागू हुने भएकोले अझै पाँच जना कर्मचारीलाई बिदा गरिने सम्भावना रहेको छ ।
यस्तै बिदा पाएका व्यक्तिहरूमा राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली, जनसम्पर्क सल्लाहकार रामबहादुर राउत र अर्थ, पूर्वाधार, ग्रामीण विकास तथा शिक्षाका विज्ञहरू रहेका छन् ।
ज्ञवालीले मासिक ८० हजार ८४० रुपैयाँ तलब पाउँदै राज्यमन्त्री सरह सुविधा भोग्दै आएका थिए भने राउतले पनि सहायक मन्त्री सरह ६४ हजार ८०० रुपैयाँ मासिक तलब पाउँथे । विज्ञहरूले पनि मासिक ६० हजार रुपैयाँभन्दा बढी तलब पाउने गरेका थिए । शिक्षाविज्ञ दलबहादुर गुरुङले सबैले सहमतिमा बिदा लिएको पुष्टि गरेका छन् र प्रदेश सरकारबाट सम्मानपूर्वक बिदाई पत्र पाइसकेको बताए ।