काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त भएका इञ्जिनियर दीपक श्रेष्ठको नियुक्ति रोकिएको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले खानेपानी संस्थानका इञ्जिनियर रहेका श्रेष्ठलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको भए पनि उनी विवादित भएका कारण उनको नियुक्ति रोकिएको उच्च सरकारी स्रोतले जनाएको छ ।
शुक्रबार मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई कोषको सदस्य सचिवका लागि नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएपछि नियुक्तिबारे सरकारी तहमा लामो छलफल भएको थियो ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रशासनिक कार्यसँगै वर्षौँदेखि निर्माणाधीन लुम्बिनी गुरुयोजना पूरा गनुपर्ने चुनौती भइरहेको बेला जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सदस्य सचिव नियुक्त गरेको थियो । लुम्बिनीमा भने स्थानीयले सदस्य सचिव खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न माग गर्दै आइरहेका बेला उनको नियुक्ति भएपछि सरकारी तहमा मात्र होइन संवैधानिक तहमा समेत उनको विगतबारे छलफल भएको स्रोतको भनाइ ।
मुख्य सचिव एक नारायण अर्यालले आफू अवकाशमा जाने बेला (आज) सम्म इन्जिनियर श्रेष्ठको नियुक्तिपत्र तयार भएको छैन । ‘उहाँलाई जसले सिफारिस गरेको त्यो तहले सरकारलाई गलत रिपोटिङ गरेको पाइयो मुख्यसचिव अर्यालले अवकाशमा जाने बेला विवादित व्यक्तिको नाममा नियुक्ति पत्र बनाई दिन भन्नु भयो’, प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले सुनाए ।
