`

प्रधानमन्त्री कार्कीको पनि सम्पति छानविन हुनुपर्छ : वाइसिएल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा आवद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसियल) ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पति छानविन गर्न सरकारसँग माग गरेको छ । कार्की नेतृत्वको वर्तमान सरकारले पूर्व प्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्की पनि सम्पति छानविन गर्नुपर्ने वाइसियलले जिकिर गरेको हो ।

शुक्रवार अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वाइसियलका अध्यक्ष पुष्प ओलीले पूर्व प्रधानमन्त्रीहरुको मात्रै नभई पूर्वराजा, पूर्व राष्ट्रपति, राप्रपाका नेताहरुको पनि सम्पति छानविन गर्न सरकारलाई दबाब दिए । उनले भ्रष्टाचार गरेका सबैको सम्पति छानविन नभए आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिए ।

उनले भने, ‘वर्तमान प्रधानमन्त्रीको पनि सम्पति छानविन गर्नुपर्छ भन्ने माग हाम्रो हो । यो न्यायमूलक राज्य हो, समतामूलक राज्यको हो । त्यसकारण निष्पक्ष ढंगले सबैको छानविन हुनुपर्‍यो । वैरभाव राखेर, पक्षपात गरेर गरिने छानविनको हामीले विरोध गर्छौं । तर त्यसरी निष्पक्ष ढंगले गरिने छानविनको शुरुवात हाम्रो अध्यक्षबाटै होस् । हाम्रो अध्यक्षले पनि भन्नु भएको छ, हामीले पनि भन्छौ–माओवादीलाई झन छुट छैन । शहीदको रगतमाथि होली खेलेर भ्रष्टाचार गर्ने छुट छैन । जोकोही पनि भ्रष्टाचार संलग्न हुनुहुन्छ भने कारबाही हाम्रै नेताबाट शुरु गर्नुस् । कसैलाई पनि छोडन हामीले छुट दिने छैनौं । पूर्वराजा र राप्रपा पार्टीहरुको पनि किन घर जलेनन्, किन उनीहरुका पार्टी कार्यालय केही भएनन् ? यो पनि गम्भिर विषय छ । रास्वपाको पनि गम्भिर विषय छ । यी विषयहरु पनि निष्पक्ष ढंगले छानविन हुनुपर्‍यो ।’ पत्रकार सम्मेलनमा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले सरकारले निर्वाचन गराउने म्याण्डेटअनुसार काम नगरेको भन्दै आपत्ति जनाएका छन् । —न्युज एजेन्सी नेपाल