`

विजय लामासहित निगमका दुई पाइलटलाई कार्बाही

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका दुई पाइलटको ‘रोस्टर अफ’ गरेको छ । उडानका क्रममा भिडिओ र फोटोग्राफी गरेको भन्दै क्याप्टेन विजय लामा र सोनी राणालाई अर्को सूचना नभएसम्म विमान उडाउन रोक लगाइएको हो । क्यानले शुक्रबार निगमलाई लिखित पत्राचार गर्दै वाइडबडी जहाजका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई उडानमा रोक लगाउन निर्देशन दिएको हो । प्राधिकरणले दिएको निर्देशनअनुसार उडानमा रहेको अवस्थामा फोटो वा भिडियो खिच्नु उड्डयन सुरक्षा मापदण्डविपरीत हुने उल्लेख गरिएको छ ।

सोही आधारमा दुवै पाइलटलाई ‘अर्को सूचना नआएसम्म’ का लागि रोस्टर–अफ (उडान तालिकाबाट हटाइएको) गरिएको हो । उडान सुरक्षा संवेदनशील विषय भएकाले विमान ककपिटमा विशेषगरी फोटो-भिडियोग्राफी जस्ता क्रियाकलापले सुरक्षा जोखिम बढ्ने मानिन्छ । निर्देशनपत्रमा दुबै पाइलटका क्रियाकलाप प्रचलित उड्डयन सुरक्षा नियमहरूसँग बाझिने प्रकारका रहेको स्पष्ट उल्लेख छ । लामा सामाजिक सञ्जाल तथा युट्युबमा पनि सक्रिय छन् । क्याप्टेन लामा यसअघि पनि कार्बाहीमा परेका थिए ।

 

कम्पनी मोडलमा नेपाल वायुसेवा निगमको पुनर्संरचना : कस्तो बनाउने कम्पनी ?

काठमाडौं । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी कम्पनी मोडेलमा पुनर्संरचना गर्न सुझाव दिएको छ । समितिले निगमको पूँजी संरचना, स्वामित्व, व्यवस्थापन र सञ्चालन प्रणालीमा आमूल परिवर्तन गरी दक्ष, नाफामुखी र प्रतिस्पर्धात्मक संस्थाका रूपमा रुपान्तरण गर्न ठोस प्रस्ताव पेश गरेको हो ।

मन्त्रिपरिषद्को गत वर्षको कात्तिक २ गतेको बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त समितिले सरकारलाई दिएको सुझाव प्रतिवेदनअनुसार, निगमको पूँजीगत आवश्यकता तत्कालै पूरा गर्न सरकारका स्वामित्वमा रहेका आर्थिक सेवा प्रदायक संस्था वा कोषमार्फत लगानी गरिनुपर्ने बताइएको छ । निगमलाई कम्पनी ऐन, २०६३ अनुसार रुपान्तरण गरी स्वामित्व परिवर्तन गर्न, लगानी र शेयर अभिलेखिकृत गर्न र सार्वजनिक कम्पनीको रूपमा रूपान्तरण गर्न सिफारिस गरिएको छ ।

समितिले निगमलाई तीन वटा संस्थामा विभाजन गर्ने प्रश्ताव गरेको छ । जसअनुसार नेपाल एयरलाइन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय सेवाका लागि बनाउन सुझाइएको छ भने नेपाल उड्डयन सेवा कम्पनी लिमिटेड ग्राउण्ड ह्याण्डलिङका लागि बनाउन प्रस्ताव गरिएको छ । त्यस्तै, नेपाल वायुसेवा निगम आन्तरिक सेवाका लागि बनाउन प्रस्ताव गरिएको छ । यीमध्ये नेपाल एयरलाइन्स कम्पनी लिमिटेड र नेपाल उड्डयन सेवा कम्पनी लिमिटेडलाई पब्लिक लिमिटेड कम्पनी बनाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने सिफारिस गरिएको छ । तेस्रो कम्पनी, आन्तरिक सेवा, भने राज्यको अप्रत्यक्ष नियन्त्रणमा राख्न भनिएको छ ।

पुनर्गठित बोर्डमा ‘कार्यकारी अध्यक्ष’ को व्यवस्था हटाई ‘बोर्ड अध्यक्ष’ मात्र राख्ने सिफारिस गरिएको छ भने प्रमुख कार्यकारी अधिकारीहरूलाई खुला प्रतिष्पर्धाबाट छान्ने र समय सीमित प्रतिफलमुखी करार प्रणाली लागू गर्नुपर्ने उल्लेख छ । समितिले तीन कम्पनीको पूँजी निर्धारण गर्न सिफारिस समेत गरेको छ । जसअनुसार नेपाल एयरलाइन्स कम्पनी लिमिटेडको अधिकृत पूँजी ५० अर्ब रुपैयाँ प्रश्ताव गरिएको छ भने जारी पूँजी ४० अर्ब, चुक्ता पूँजी ३४ अर्ब प्रस्ताव गरिएको छ ।

त्यस्तै, नेपाल उड्डयन सेवा कम्पनी लिमिटेडको अधिकृत पूँजी २५ अर्ब,जारी पूँजी २० अर्ब, चुक्ता पूँजी १६ अर्ब प्रस्ताव गरिएको छ । नेपाल वायुसेवा निगम (आन्तरिक सेवा) तर्फको पूँजी ५ अर्ब गरिएको छ । कार्यदलले दिएको प्रतिवेदनमा भनिएको छ, ‘विभाजित भई दुई कम्पनी बने पश्चात बाँकी रहने नेपाल वायुसेवा निगमको हकमा सरकारले यसको मूलधनलाई हाल विद्यमान रु ३० करोडबाट बढाइ ५ अर्ब पुर्‍याउनु पर्नेछ र भागबण्डा भएपश्चात बच्ने र सरकारी स्वामित्वमा रहने निगमको पूँजी ऋनात्मक रहन नदिन हाल सरकारद्वारा निगममा ऋण लगानी भएको २ अर्ब ९० करोड बराबरको पूँजीलाई मूलधनमा समायोजन गनुपर्नेछ ।’

ऋणलाई लगानीमा रूपान्तरण
समितिले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्रवाह भएका ऋणलाई पूँजीगत लगानीमा रूपान्तरण गर्ने प्रस्ताव गरेको छ । यसरी रूपान्तरण गर्दा नेपाल एयरलाइन्स कम्पनी लिमिटेडमा ३४ अर्ब र उड्डयन सेवा कम्पनीमा रु १६ अर्ब गरी कुल ५० अर्बको इक्विटी लगानी हुने बताइएको छ ।

समितिको सुझावअनुसार, नयाँ दुई कम्पनीले निरन्तर नाफा आर्जन गर्ने वित्तीय अवस्था कायम गरेपछि नेप्सेमा सूचीकृत हुने र त्यसपछि आइपीओ जारी गरी जनताका लागि लगानीको अवसर उपलब्ध गराउन सुझाव दिइएको छ । यसबाट नागरिक स्वामित्व र लगानी सहभागिता बढ्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीमा अनुभवी कार्यकारी नियुक्त गर्न र अन्तर्राष्ट्रिय व्यवस्थापन साझेदारीको सम्भावना अध्ययन गर्न सिफारिस गरिएको छ । ग्राउण्ड ह्याण्डलिङ्ग कम्पनीका कर्मचारीलाई पुनर्ताजगी तालिम दिई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप दक्ष र प्रतिष्पर्धी सेवा प्रदायक बनाउन प्रश्ताव गरिएको छ ।

समितिले निगमको संरचनागत रुपान्तरणका लागि आवश्यक भए विशेष ऐन ल्याउन सिफारिस गरेको छ भने आन्तरिक सेवाका लागि कम्तिमा चारवटा टिविनटर विमान र १८ सिटे विमान उपलब्ध गराउन सुझाव दिएको छ । समितिले दिएका सुझावहरुमा तराईका ट्रंक रुटका लागि ६४ सिटभन्दा माथिका टर्बो प्रोपेलर विमान प्रयोग गर्ने, आन्तरिक सेवामा राज्यको संरक्षकत्व र नियन्त्रण यथावत राख्न भनिएको छ । यसरी नेपाल वायुसेवा निगमलाई तीन कम्पनीमा विभाजन गरी दक्ष, पारदर्शी र प्रतिष्पर्धात्मक मोडेलमा रूपान्तरण गर्नसके, नेपालको हवाई उड्डयन क्षेत्र दीर्घकालीन रूपमा सबल र टिकाउ हुने विश्वास समितिले गरेको छ ।

भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो

काठमाडौं । भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउन भनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ ।

काठमाडौंबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर काठमाडौँ आउनेछ । यद्यपि यात्रु संख्या केही तलमाथि हुनसक्ने निगमले जनाएको छ । निगमले आरए १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौँ उडानको तालिका बनाएको भए पनि निर्धारित समयभन्दा ढिलो उडेकाले समय लाग्ने जनाइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगमको विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउन लागिएको हो ।

वायुसेवा निगमले उद्धार उडानमार्फत देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको विशेष निर्देशनबमोजिम आज एक उद्धार उडान गरिएको जनाएको छ । उक्त उडानमा काठमाडौँबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार भाडादर तोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाले आज मौसम अनुकूल रहेकाले नियमित रुपमा उडान सञ्चालन भइरहेको जानकारी दिए।

उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने निगमले स्पष्ट गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भैरहवामा उल्लेख्य संख्याका यात्रु उडानको प्रतीक्षामा छन् । ‘विमानस्थलमा धरै यात्रु छन् । विमानको सिट सीमित छ । केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ । उडान थपेर यात्रुलाई गन्तव्यमा पुर्‍याउन विमानस्थल लागिपरेको छ’, महाप्रबन्धक तिवारीले भने ।

भैरहवामा अलपत्र यात्रुका लागि तोकियो भाडा, अनलाइनमा टिकट पाइने

काठमाडौं । नेपाल वायुसेवा निगमले भोलि (सोमबार) काठमाडौँ–भैरहवा–काठमाडौँ उद्धार उडानको तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निगमले भैरहवामा अलपत्र यात्रुको उद्धारका लागि उडानको व्यवस्था गरेको हो ।

निगमको ए३२० विमान दिउँसो १ बजे काठमाडौँबाट भैरहवा उड्ने र भैरहवाबाट काठमाडौँका लागि २ बजेर ४५ बजेट छुट्ने जनाइएको छ ।काठमाडौँबाट जाँदा निगमले ५ हजार रूपैयाँ र भैरहवाबाट उड्दा ७ हजार रूपैयाँ भाडा तोकिएको छ । यस मानवीय उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकतामा राखिने निगमले जनाएको छ ।

उडानमा यात्रा गर्न चाहने यात्रुले अनलाइनबाट पनि टिकट काट्न उक्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यस बाहेक निगमको कार्यालय वा आधिकारिक एजेन्सीहरूमार्फत पनि सिट सुनिश्चित गर्न सकिने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।