काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गैरराजनीतिक दलहरुबाट मन्त्री नियुक्त गर्ने बताइसकेकी छन् । उनले अहिलेसम्म तीन मन्त्री नियुक्त गरिसकेकी छन् । ११ सदस्यीय मन्मिण्डल बनाउने बताउँदै आएकी प्रधानमन्त्री कार्कीको मन्मिण्डलमा अब को–को मन्त्री बन्लान् भन्ने चासोको विषय बनेको छ ।
गैर राजनीतिकबाट डा. सन्दुक रुइत र संविधानविद भीमार्जुन आचार्यले मन्त्री बन्न अस्वीकार गरेका छन् । यसैबीच अहिले क्याप्टेन विजय लामाको नाम पनि मन्त्रीमा चर्चा भइरहेको छ । नेपाल वायुसेवा निगमका क्याप्टेन लामाको नाम सम्भावित पर्यटनमन्त्रीका रूपमा चर्चा भइरहेको छ ।
लामा निकट स्रोतले पनि पर्यटनमन्त्री बन्न अफर आएको जनाएको छ । तर उनले निर्णय लिइनसकेको स्रोतको भनाइ छ । ‘प्रस्ताव आएको हो, उहाँ आन्तरिक छलफल गर्दै हुनुहुन्छ । निष्कर्षमा पुगिसक्नु भएको छैन,’ स्रोतले सुनायो ।सरकार निकट स्रोतले भने लामालाई मन्त्री बन्न अफर गरिएको विषयमा अनभिज्ञता प्रकट गरेको छ । ‘अहिले धेरै व्यक्तिहरू मन्त्री बन्नका लागि संवादमा हुनुहुन्छ । प्रधानमन्त्री र मन्त्रीहरूलाई सयौँ नामहरू आइरहेका छन् । उहाँको पनि नाम आएको हुन सक्छ ।’
लामा आउँदो आमनिर्वाचनमा उम्मेदवारी दिन समेत इच्छुक छन् । उनी ८४ सालको चुनावमा रास्वपाबाट उम्मेदवारी दिने योजनामा रहेको बताइन्छ । तर, यसै वर्ष मध्यावधि चुनाव हुने भएपछि त्यसको तयारीमा अहिल्यैबाट जुट्नुपर्ने भएको छ । मन्त्री बन्न जाँदा आफ्नो चुनावी योजनामा धक्का पुग्ने हो कि भन्ने चिन्ता उनलाई रहेको स्रोतले बताउँछ । नेपाल वायुसेवा निगममा लामाको कार्यविधि अब धेरै बाँकी छैनन् । त्यसैले उनी अब राजनीतिमा हाम्फाल्न चाहन्छन् । केही समयदेखि रास्वपासँग अनौपचारिक संवादमा रहेका थिए । अहिले पनि उनको पहिलो प्राथमिकतामा रास्वपा रहेको स्रोतको भनाइ छ ।