`

परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले महाधिवेशन स्वस्थ, प्रतिस्पर्धी र योग्य तथा सक्षम नेतृत्व चयनमा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गरेकी छन् । उनले प्रतिनिधिहरूलाई राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता भएको स्मरण गराउँदै देशको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे राम्ररी अवगत रहेको विश्वास व्यक्त गरेकी छन्।

पूर्व राष्ट्रपति भण्डारीले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायका रूपमा चित्रण गर्दै भनेकी छन्, ‘यो महाधिवेशन जनताको बहुदलीय जनवाद (जबज) का आधारभूत मान्यताहरूलाई आत्मसात गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउन सक्षम हुनेछ ।’ उनले यस्तो वातावरणले योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न मद्दत पुग्ने दृढ विश्वास व्यक्त गरेकी छन् । मुलुक अहिले तरल राजनीतिक अवस्था बाट गुज्रिरहेको सन्दर्भमा, उनले प्राप्त उपलब्धिको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न पार्टीलाई एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरेकी छन् ।

पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेट, सिंहदरबार अवलोकन (तस्वीरहरु)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी जेन–जी आन्दोलनको क्रममा आगजनी गरिएका संरचना अवलोकनमा सिंहदरबार गएकी थिइन् । सोक्रममा प्रधानमन्त्रीसँग भेटघाटको चाँजोपाँजो मिलाइएको हो । दुई जनाबीच समसामयिक विषयसँगै निर्वाचनको तयारीबारे सरकारले गरिरहेका काम कारबाहीबारे छलफल भएको बताइएको छ ।

यस्तै पूर्व राष्ट्रपति भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरबारको अवलोकन गरेकी छन् । उनी आज दिउँसो २ बजे सिंहदरबार पुगी सिंहदरबार, ग्यालरी बैठक भवनको समेत अवलोकन गरेकी हुन् । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबारको पक्षीम भाग पूर्ण रुपमा क्षति भएको छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

पूर्व राष्ट्रपति भण्डारी सिंहदरबार अवलोकनमा जाँदै

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज (आइतबार) सिंहदरबार अवलोकनका लागि जाने भएकी छिन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो । भण्डारी आज दिउँसो २ बजेपछि आगजनीमा परेको सिंहदरबार परिसरको अवलोकनमा जान लागेको उनी निकटस्थहरूले जानकारी गराएका छन् ।

सो क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ । ‘सिंहदरबारमा आगजनीपछि क्षति भएका भवनहरूको अवलोनका लागि जान लाग्नु भएको हो,’ उनी निकट स्रोतले भन्यो, ‘सो क्रममा प्रधानमन्त्री कार्कीसँग पनि भेट्ने कार्यतालिका तय भएको छ ।’

मुलुकको अस्थिरताले अन्तर्राष्ट्रियस्तरमा समेत चुनौती सिर्जना गर्ने खतरा : विद्या भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दलहरू, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य आवश्यक भएको बताएकी छन् । आज (शुक्रबार) काठमाडौंमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकको अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि चुनौती सिर्जना गर्ने खतरा भएको औंल्याइन् ।

‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नु पर्छ । हाम्रो शक्तिका स्रोत भनेका जनता हुन्,’ उनले भनिन् । उनले राजनीतिक दलहरूको नीति, दर्शन र कार्यक्रम जनताले दिएको सुझावसँग मेल खानुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘पार्टीहरू र विभिन्न आस्था राख्नेबीच छलफल र सहकार्य भएर मात्र हामीले यो समस्यालाई समाधान दिन सक्छौं ।’

देशको अस्थिरताले मित्र राष्ट्रहरूलाई समेत चिन्ताको अवस्था आउन सक्ने चेतावनी दिँदै उनले शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई युगअनुकूल अगाडि बढाउन आग्रह गरिन् । ‘हामी जस्तो खालको बसाईमा छौं, हाम्रो यहाँको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि पिर पर्न सक्छ । समस्याहरू आउन सक्छ’ उनले भनिन्, ‘त्यसले हामीले हाम्रो शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने हुन्छ ।’

दलका नेताहरूको कार्यशैलीप्रति आलोचना गर्दै भण्डारीले भनिन्, ‘नेताहरूले बाहिर धेरै बोल्ने तर पार्टीभित्र केही पनि गर्न नसक्ने तरिका सही होइन । सबैको कुरा सुन्नुपर्छ, जनताको भावना बुझ्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’ उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । ‘नयाँ पुस्ताको मनोभावना के छ, उनीहरूका मागहरू के छन्, त्यसलाई राष्ट्रले कसरी सम्बोधन गर्न सक्छ भन्ने कुरामा हामी जानुपर्छ,’ उनको भनाइ थियो । भण्डारीले सबै जिम्मेवार नागरिकहरूलाई छलफललाई अगाडि बढाउँदै समाधान खोज्ने साझा प्रयासमा जोड दिन पनि आग्रह गरिन् ।

पूर्व राष्ट्रपति भण्डारीको घरमा पनि लगाइयो आगो

काठमाडौं । आन्दोलनरत युवाहरुले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरमा पनि आगजनी गरेका छन् । भंगालस्थित भण्डारीको निवासमा युवाहरुको एक समूहले आगो लगाएको हो । पूर्व राष्ट्रपतिको अवस्थाबारे भने अहिलेसम्म केही पनि जानकारी आएको छैन । यता, युवाहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पुल्चोकस्थित घरमा पनि आगो लगाइ दिएका छन् ।

आन्दोलनकारीसँग तत्काल वार्ता र संवाद थाल्न पूर्व राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई तत्काल वार्ता र संवाद थाल्न आग्रह गरेकी छन् । नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील हुन पनि पूर्व राष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् ।

‘सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेजी, भ्रष्टाचारको विरोध तथा सुशासनको मागसहित ‘जेन जी’ पुस्ताले काठमाडौंसहित देशका विभिन्न भागमा हिजो आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ठूलो संख्यामा युवा विद्यार्थीहरूको निधन भएको घटनाबाट म मर्माहत भएको छु । हिजो भएको दुःखद् घटनामा परी असामयिक रूपमा जीवन गुमाएका देशका होनहार युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्ना प्रिय सन्तान गुमाउनु भएका माता– पिता तथा प्रियजन गुमाएका आफन्तसहित शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको निःशुल्क एवं गुणस्तरीय उपचार सुनिश्चित गर्न सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ भण्डारीले भनेकी छन् ।

भण्डारीले नवपुस्ताको भावना र मर्मलाई सबैले गम्भीरतापूर्वक आत्मसात गर्न आवश्यक छ भन्ने आफ्नो दृढ विश्वास रहेको बताएकी हुन् । ‘तसर्थ नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न हार्दिक आह्वान गर्दछु । सरकार, सुरक्षानिकाय, राजनीतिक दल र नागरिक समाज सबैलाई मिलेर हालको तनावलाई संवेदनशील ढङ्गले समाधान गर्न र युवापुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गर्दछु,’ भण्डारीले भनेकी छन् ।