`

बाढीले पुल बगाएपछि विद्यालय पुग्न ‘रबरबोट’ को भर

ओखलढुङ्गा । ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् ।

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् । बाढीले पुल बगाएपछि विद्यार्थीहरू लामो समय पढाइबाट वञ्चित भएका थिए ।

केही समय अगाडि गृह मन्त्रालयबाट बोट ल्याएर पालिकाको व्यवस्थापनमा सञ्चालन गरेर विद्यार्थीलाई सुनकोशी तार्ने गरिएको रत्न गङ्गा माविका विव्यस अध्यक्ष रोशन भण्डारीले बताए। बोटबाट विद्यार्थी तार्ने काम जोखिमपूर्ण र अस्थायी भएकाले स्थायी समाधानका लागि पुल निर्माणको माग गरिएको उनको भनाइ छ ।

ओखलढुङ्गाका जनप्रतिनिधिले आफ्ना क्षेत्रका विद्यार्थीको समस्या समाधानमा पहल नगरेको उनको भनाइ छ । ‘अर्को जिल्ला, अर्को प्रदेशका विद्यार्थी भए पनि हाम्रो विद्यालयमा पढ्ने बालबालिका गत असोजको बाढीले पुल बगाएपछि पढाइबाट वञ्चित भए । लामो समयसम्म त्यो जिल्लाका सांसद रामहरि खतिवडा र सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङसँग समन्वय गर्न खोजियो तर उहाँहरूले वास्ता नगरेपछि गृहमन्त्रालयबाट रबरबोट ल्याइयो, फिक्कल गाउँपालिको व्यवस्थापनमा बोट सञ्चालन गरेर विद्यार्थीलाई विद्यालय ल्याउने लैजाने गरिएको छ’, विव्यस अध्यक्ष भण्डारीले भने, ‘जोखिमपूर्ण अवस्था छ तर विकल्प छैन, त्यसैले दिगो समाधान भनेकै ढेबुवा र तीनखण्डे जोड्ने पुल निर्माण हो त्यसका लागि पनि हामीले माग गरिरहेकका छौँ ।’

उनका अनुसार सुनकोशी पारिका विद्यार्थीलाई मौसम हेरेर नदीमा बाढी आउने–नआउने आंकलन गरेर विद्यालय ल्याउनुपर्ने र दिउँसो बाढी आए त्यो बेलुका सिन्धुलीमै बसोबासको प्रबन्ध मिलाउने गरिएको छ । विद्यार्थी ओसारपसारका लागि सुनकोशीमा बोट चलाउन फिक्कल गाउँपालिकाले सुरुदेखिनै एक जना कर्मचारी राखेको थियो । सुनकोशी गाउँपालिकाले पनि एक जना कर्मचारी राखेर तलब दिने आश्वासन दिएको छ ।

बाढीले पुल बगाएपछि विद्यार्थीलाई विद्यालय ल्याउन अस्थायी विकल्पका रूपमा रबरबोट सञ्चालन गरिए पनि तीनखण्डेमा पुल निर्माणको पहल भइरहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए । तालिमप्राप्त कर्मचारी राखेर रबरबोट सञ्चालन गरी छिमेकी जिल्लाका विद्यार्थीलाई विद्यालय जाने र त्यस क्षेत्रका स्थानीय नागरिकलाई समेत नदी पार गर्न सहयोग गरिएको उपाध्यक्ष बरालको भनाइ छ ।

‘हाम्रो बाध्यता र कार्यक्षेत्रभित्रको समस्या होइन यद्यपी छिमेकी जिल्ला भएपछि र विगतदेखि हाम्रै विद्यालयका विद्यार्थी भएकाले ती अबोध बालबालिका लामो समय पढाइबाट वञ्चित भएको देखेर वैकल्पिक व्यवस्था गरी विद्यालय ल्याउने र घर फर्काउने गरिएको छ’, उपाध्यक्ष बरालले भने, ‘तीनखण्डेमा पुल निर्माणको पहल गरिरहेका छौँ । सबैको काम पनि भइसकेको छ तर सरकार परिवर्तन भएसँगै यो योजना ओझेलमा परेको छ ।’ पुल निर्माणका लागि निरन्तर पहल गरिरहेको उनको भनाइ छ ।

सुनकोशी नदी किनारमा बिहान ५ः०० बजेदेखि नै विद्यार्थीहरू भेला हुन्छन् । बालकक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थी भएकाले एसइईको तयारीमा रहेका विद्यार्थीहरू बिहान कोचिङ पढ्न आउने र अन्य विद्यार्थी ९ः०० बजे सुनकोशी किनारमा आउने गरेका छन् । विद्यार्थी तार्न तीन वटा बोट राखिएको छ । जोखिमपूर्ण हुने भएकाले उमेर समूह अनुसार पालैपालो बोटमा राखेर सुरुमै अनुशासनमा बस्न, नहल्लीन, नचल्न निर्देशन दिएर नदी तारिन्छ ।

बाढीले पुल बगाएपछि १० मिनेटको बाटो दुई घण्टा लगाएर छिमेकी जिल्ला विद्यार्थीहरू घुमेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य गर्न बोट सञ्चालनपछि सहज भएको फिक्कल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिए । बोटमा आउने कोशीपारिका विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर दिवाखाजा, छात्रवृत्तिजस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको उनको भनाइ छ ।

रबर बोट (डुङ्गा) सञ्चालन भए पनि बर्सातको समयमा भने जोखिम हुने भएकाले तत्काल पुल निर्माण गर्न स्थानीयले माग गरिरहेका छन् । छोराछोरी विद्यालय पठाउन सुनकोशी नदी किनारसम्म आएका अभिभावक विद्यार्थी बोटचढेपछि पारी नपुग्दासम्म र साँझ फर्किने बेला वारी नआउँदासम्म पिरमा बस्ने गरेका छन् । ‘नानीबाबुलाई खोलामा हेलाएर टुलुटुलु हेर्नुपर्छ आधा भाग कटेर पारि पुगेपछि ढुक्क हुन्छ फेरि बेलुका फर्किने बेला उस्तै पिरलो हुन्छ’, जेरोङघाटकी चन्द्रकुमारी माझीले भनिन् ।

‘ढुङ्गामा बोट ठोकिँदा पनि नानीहरू डराएर चिच्याउँछन् कराउँछन् त्यो बेला भक्कानु छुटेर आउँछ । भगवान् पुकार्दै छोराछोरी पढाउन पठाउँछौँ ।’ पुल नहुँदा यस क्षेत्रका नागरिकको दैनिकी पनि प्रभावित भएको छ । घरायसी सामान किन्न डेढ घण्टा पैदल हिँडेर घुर्मी पुग्नुपर्ने बाध्यता छ । सिन्धुली क्षेत्र सुगम र नजिकै सुनकोशी नदीपारि रहेको ओखलढुङ्गा क्षेत्र दुर्गम छ । –रासस

वैठकमै विव्यस अध्यक्षले कुटे प्रधानाध्यापक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष खाम्सोङ तामाङले वैठक चलिरहेका बेला कार्यकक्षमै कुटेका छन् । बुधबार विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला विव्यस पुनर्गठनको विषयमा छलफल भइरहेकै बेला तामाङले प्रधानाध्यापक भण्डारीमाथि एक्कासी हमला गरेको सहभागीहरूले जानकारी दिए ।

‘म र भण्डारी म्याडम निर्णय लेख्दै निहुरेर बसिरहेका थियौं । अचानक अध्यक्षले मुड्की प्रहार गर्नुभयो’, बैठकमा सहभागी वडा सदस्य नरेश तामाङले भने, ‘प्रअलाई निर्णय लेख्न केही असहज भएको देखिएपछि म सिकाइरहेको थिएँ, तर अध्यक्ष किन रिसाए बुझ्न सकिएन ।’
कुटपिटबाट प्रधानाध्यापक भण्डारीको आँखामा चोट लागेको छ ।

घटनापछि विद्यालयमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो । घाइते भण्डारीसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ रहेको थियो । यसैबीच, नेपाल शिक्षक महासंघ इन्द्रावती गाउँपालिकाले घटनाप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष तामाङविरुद्ध कानुनी कारबाहीको माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

तिहारमा पनि वार्षिक परीक्षा

सुर्खेत । मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको छ । चिसोका कारण विद्यालय बन्द गर्नुपर्ने भएकाले कात्तिक १५ सम्ममा सबै परीक्षा सम्पन्न गरी बिदा दिने गरिएकाले तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका शिक्षा समितिका संयोजक पेमा वाङछेन गुरुङले जानकारी दिए ।

उनका अनुसार पालिकाभित्रका सबै विद्यालयले कात्तिकको पहिलो हप्तादेखि परीक्षा सञ्चालन गरेर १५ गतेसम्ममा पूरा गर्न दिइएको निर्देशनअनुसार परीक्षा भएको हो । कात्तिकदेखि चिसो बढ्ने र हिमपात हुने भएकाले १५ गतेभित्र परीक्षा सकाएर विद्यालय बन्द गरिन्छ। सोही कारणले चाडपर्वमा पनि परीक्षा गराएको शे–फोक्सुण्डो–७ स्थित टसी सम्भो आधारभूत विद्यालयका शिक्षक नवीन शाहीले बताए ।

‘यस पटक हामीले पर्व विद्यार्थीसँग मनाएका छौँ,’ उनले भने, ‘शे–फोक्सुण्डो गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षकले पालिकाको निर्देशनअनुसार काम गर्नुभएको छ ।’ शिक्षा समितिका संयोजक गुरुङका अनुसार यहाँ माध्यमिक विद्यालय एक, आधारभूत नौ र तीन बालविकास कक्षा (इसिडी) सञ्चालनमा छन् । सबै विद्यालयमा वार्षिक परीक्षा एकैसाथ सञ्चालन भइरहेको जनाउँदै उनले डोल्पामा दुईवटा शैक्षिकसत्र सञ्चालन हुने बताए ।

कामपाभित्रका विद्यालय तीन दिन बन्द, विश्व विद्यालयहरूको परीक्षा स्थगित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरेको छ । महानगरको निर्णयसँगै विद्यालयहरुले मेसेज गरेर बिदाबारे अभिभावकलाई जानकारी गराएका छन् । आज जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

विश्व विद्यालयहरूको परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चाल विश्वविद्यालयले परीक्षा स्थगित गरेका छन् । त्रिविको ४ वर्षे स्नातक तहको परीक्षा २४, २५ र २६ गतेको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । स्थगित परीक्षा असोज २, ४ र ५ गते हुने त्रिविले जनाएको छ । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयले पनि २४ र २५ गते हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । काठमाडौं विश्वविद्यालयले भने २४ गते अध्ययन–अध्यापन नहुने जनाएको छ ।