`

कुलमानसँग मिलेर काम गर्न हितेन्द्र तयार

काठमाडौं । अर्बौं बाँकी विद्युत वक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक डाक्ने तयारी भएको छ । कुलमान घिसिङले ऊर्जामन्त्रीको कार्यभार सम्हाल्दै गर्दा विद्युत बक्यौता उठाउनेसम्बन्धी पहिलो निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयनमा लैजान चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिएका छन् ।

उनका अनुसार सोमबार-मंगलबार नै बैठक बसेर बिजुली बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । सोहीअनुसार कार्यान्वयनमा लगिनेछ । शाक्यले सरकारको निर्णय मानेरै वक्यौता उठाउन लाग्ने बताए । प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने, ‘बक्यौतासम्बन्धी जुन मन्त्री ज्यूको निर्णय छ । यसलाई हामीले कार्यान्वयन गर्छौं । विद्युत् प्राधिकरणको मन्त्री ज्यू नै अध्यक्ष हुने व्यवस्था छ । बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउन लाग्छौँ । बक्यौताका विषयमा हामीले बोर्डबाटै निर्णय गर्छौैं । बोर्डमा मन्त्री ज्यू नै अध्यक्ष भएकाले निर्णय भएर कार्यान्वयन अघि बढ्नेछ । भोलि अथवा पर्सि बोर्ड बैठक बस्छ ।’

बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै समस्या नभएको समेत बताएका छन् । कुलनमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएको बेला पटक–पटक विद्युत वक्यौता उठाउन भनेर बक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए । तर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली भएका बेला पनि बिजुलीको लाइन काट्दा जोड्न निर्देशन दिएका थिए ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महशुल बुझाउन धेरै पटक उद्योगी तथा व्यवसायीलाई दबाब दिँदै आएको छ । प्राधिकरणले उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत लिएको विद्युतको जरिवानासहित करिव २५ अर्ब रुपैयाँ उठाउनुपर्ने बताइरहेको छ । उद्योगीलाई लोडसेडिङको समयमा २४ घण्टा नै विद्युत प्रयोग दिइएको थियो । तर उद्योगीले प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भनेर उद्योगीले नतिर्ने बताउँदै आएका छन् ।

काठमाडौंको यी क्षेत्रमा आज विद्युत अवरुद्ध हुने

काठमाडौं । काठमाडौँको सुन्धारा, त्रिपुरेश्वर, क्षेत्रपाटीलगायतका क्षेत्रमा आज (शनिबार) दुई घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण दरबारमार्गका अनुसार आज बिहान ८ बजेदेखि १० बजेसम्म सुन्धारा, सिभिल मल, सेन्ट्रल जेल, चाइना टाउन हुँदै त्रिपुरेश्वर चोक र चोकको आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ।

यस्तै दिउँसो १२ बजेदेखि २ बजेसम्म पुष्पलाल पार्क, ढल्को, क्षेत्रपाटी चोक, पकनाजोल, धोबिचौर, ठहिटी, ज्याठा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । भूमिगत केबल सम्बन्धि कार्य गर्न लागिएकाले विद्युत आपूर्ति बन्द गर्न लागेको सूचनामा उल्लेख छ । निर्धारित समय अगाडि नै काम सम्पन्न भए विद्युत सेवा शुरू हुने पनि प्राधिकरणले जनाएको छ ।