`

तिहारमा फर्कियो भुल्केका १०७ घरमा उज्यालो

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा वडाको सक्रिय पहलमा १०७ घरमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । बेहेश्वर जलविद्युत् आयोजनामा चट्याङका कारण क्षति पुगेर बस्ती अन्धकारमा डुबेपछि वडाले पहल गरी पुनः उज्यालो फर्काएको हो । यही असोज १९ देखि २१ गतेसम्मको लगातारको वर्षासँगै परेको चट्याङले स्थानीय जलविद्युत् आयोजनाको मेसिन बिग्रिएपछि सम्पूर्ण बस्तीमा विद्युत् सेवा ठप्प भएको थियो ।

स्थानीयस्तरमा वितरण गरिएको विद्युत्मा समस्या आएपछि वडाको पहलमा केन्द्रीय विद्युत् विस्तार गरिएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिए । ८८ परिवारलाई मिटर समेत वितरण गरिएको छ । विगतको विद्युत् सेवा अवरोध भएपछि अन्धकार बनेको बस्तीमा पाँच दिनभित्रै केन्द्रीय लाइन विस्तार कार्य सम्पन्न हो । रासस

तीन दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द

चितवन । चितवनको माडी नगरपालिकामा विगत तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । भूमिगत प्रसारण लाइनमा समस्या आउँदा शनिबार बिहान २ बजेदेखि माडी नगरपालिकामा विद्युत् आपूर्ति बन्द भएको हो ।

विद्युत् प्राधिकरण वितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अनुसार भूमिगत विद्युतीकरण गरिएको स्थानमध्ये दुई स्थानमा समस्या आएको हो । शनिबारदेखि परेको पानीका कारण रिउखोला नजिक राखिएको भूमिगत लाइनमा समस्या आएको छ । उनले भने, ‘पानी धेरै जमेका कारण विद्युत् प्रसारणमा समस्या भयो ।’

यस्तै चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको भूमिगत विद्युतीकरणको तारमा सडकको चौडाइ फराकिलो बनाउने क्रममा उपकरणको ठक्करले समस्या आएको उनले जानकारी दिए । उनका अनुसार दुवै स्थानको समस्या समाधान गरेर आज साँझसम्ममा विद्युत् आपूर्तिमा सहज बनाइने छ । समस्या देखिएको स्थानमा अहिले मर्मतको काम भइरहेको श्रेष्ठले बताए । माडी नगरपालिकामा १२ हजार ग्राहक रहेका छन् ।

एमसिए–नेपालद्वारा विद्युत् प्रसारण लाइन निर्माण सम्झौता

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’को विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गरिने ११७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण सम्झौता गरेको छ ।

यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको हो । आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौँमा निर्माणाधीन लप्सिफेदी सवस्टेशनबाट नुवाकोटमा निर्माणाधीन रातमाटे सवस्टेशन हुँदै मकवानपुरमा निर्माणाधीन हेटौँडा सवस्टेशनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसिए–नेपालले प्रदान गरेको उक्त ठेक्का करिब ७६६ दशमलव ५० लाख अमेरिकी डलर रहेको छ । यस सम्झौताअन्तर्गत उक्त चार सय केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालनलगायतका काम गरिनेछ । एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्गबहादुर विष्ट र आशिश–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि श्री निर्माण गौलीले आज एक समारोहबीच एमसीसी र एमसिए–नेपालका पदाधिकारीहरूको समुपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरे ।

हस्ताक्षर पश्चात एमसीसीका आवासीय राष्ट्रिय निर्देशक श्री डायन एल. फ्रान्सिस्कोले भने, ‘यस सम्झौताले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिको प्रतिनिधित्व गर्छ । यो उपलब्धि नेपाली जनताको भावी विकास एवं समृद्धिका लागि एमसिए–नेपालको गहन प्रतिबद्धता तथा लगनशीलताको परिणाम हो ।’

एमसिए–नेपालले नुवाकोटमा निर्माणाधीन रातमाटे सवस्टेशनदेखि तनहुँमा निर्माणाधीन दमौली सवस्टेशनसम्मको, उक्त सवस्टेशनदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा निर्माणाधीन नयाँ बुटवल सवस्टेशनसम्मको र त्यहाँदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता यसअघि गरिसकेको छ । यसका अतिरिक्त रातमाटे सवस्टेशन, नयाँ दमौली सवस्टेशन र नयाँ बुटवल सवस्टेशन निर्माणसम्बन्धी सम्झौता भइसकेको छ ।

एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रबाट लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण सिर्जना गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि प्रदान गरिएको ऐतिहासिक सहायता हो । विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तर आबद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पु–याउने उद्देश्य एमसीसी नेपाल कम्प्याक्टले लिएको छ ।

महेन्द्रनगरमा वातानुकूलित महसुल काउन्टर सञ्चालन

कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले सेवाग्राही तथा कर्मचारीलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्ने उद्देश्यले वातानुकूलित महसुल काउन्टर सञ्चालनमा ल्याएको छ ।

केन्द्रको हालै निर्मित आधुनिक भवनभित्र सञ्चालनमा ल्याएको महसुल काउन्टरमा चारवटा एयर कण्डिसन (एसी)जडान गरिएको छ । केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार गर्मीयाममा सेवाग्राही लामो समयसम्म पालो पर्खिन बाध्य हुने अवस्थाको अन्त्य गर्न सुविधाजनक वातावरणमा महसुल बुझाउने व्यवस्था मिलाइएको हो ।

“पहिले गर्मीका कारण सेवाग्राहीलाई असुविधा हुने गरेको थियो, अहिले वातानुकूलित कोठामा सहजै पालो पर्खेर महसुल बुझाउन सक्ने भएका छन्”, श्रीवास्तवले भने । उनका अनुसार यस कदमले कर्मचारीलाई पनि काम गर्न सहज र उत्साहजनक वातावरण उपलब्ध गराएको छ । सेवाग्राहीको घुइँचो नियन्त्रण गर्न र सेवा प्रवाहलाई व्यवस्थित बनाउन महसुल काउन्टरमा टोकन प्रणाली लागू गरिएको उनले जानकारी दिए ।

ग्राहकले अनावश्यक समस्या र अवरोध बिना शान्तिपूर्वक पालोअनुसार महसुल बुझाउन सक्ने व्यवस्था गरिएको छ । वितरण केन्द्रअन्तर्गत हाल ७९ हजार विद्युत् ग्राहक छन् । तीमध्ये करिब ४० हजार ग्राहक महेन्द्रनगरको महसुल काउन्टरमार्फत महसुल बुझाउने गर्छन् ।

बाँकी ग्राहकलाई सहज बनाउने उद्देश्यले झलारी, गुलरिया र दोधारा–चाँदनी क्षेत्रमा पनि आय सङ्कलन काउन्टर सञ्चालन गरिएको केन्द्र प्रमुख श्रीवास्तवले जानकारी दिए। प्राधिकरणले पछिल्ला वर्षमा सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा दिने उद्देश्यले नयाँ भवन, आधुनिक प्रविधि र व्यवस्थापकीय सुधार गर्दै आएको छ ।

वातानुकूलित काउन्टर सञ्चालनलाई पनि सोही अभियानको एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । स्थानीयवासीले विद्युत् महसुल बुझाउन अब सहज हुने र सेवाग्राहीलाई समय बचत हुने अपेक्षा व्यक्त गरेका छन् ।