`

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखको मृत्यु

टर्की । टर्कीमा भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको मृत्यु भएको छ । लिबियाका प्रधानमन्त्रीले उक्त दुर्घटनामा जनरल अल–हद्दादसहित अन्य चार जनाको ज्यान गएको पुष्टि गरेका छन् ।

जनरल अल–हद्दाद र अन्य अधिकारी टर्कीको राजधानी अंकाराबाट लिबियाको त्रिपोलीतर्फ उडेको फाल्कन–५० विमानमा सवार थिए । टर्कीका आन्तरिक मन्त्री अली येरलिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मंगलबार साँझ स्थानीय समय अनुसार ८ः५२ बजे विमानसँग सम्पर्क टुटेको बताएका छन् । उक्त समय विमान अंकारा विमानस्थलबाट उडेको करिब ४२ मिनेटपछि थियो ।

त्रिपोलीतर्फ गइरहेको उक्त जेट विमानले सम्पर्क टुट्नुअघि आपतकालीन अवतरणको अनुमति मागेको थियो । पछि अंकाराको दक्षिण–पश्चिम क्षेत्रमा विमानको भग्नावशेष फेला परेको टर्कीका अधिकारीहरूले बताएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान शुरू गरिएको जनाइएको छ ।

आन्तरिक मन्त्री येरलिकायाका अनुसार हायमाना जिल्लाको केसिक्कावाक गाउँ नजिक विमानको भग्नावशेष फेला परेको हो । उनले थप विवरण पछि सार्वजनिक गरिने बताएका छन् । लिबियामा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त राष्ट्रिय एकता सरकार (जीएनयू)का प्रधानमन्त्री अब्दुल हमिद दबैबाहले विमानमा सवार जनरल अल–हद्दाद र अन्य वरिष्ठ सैन्य अधिकारीहरूको मृत्यु भएको खबर प्राप्त भएको बताएका छन् ।

प्रधानमन्त्री दबैबाहले यस घटनालाई राष्ट्रका लागि ‘ठूलो क्षति’ भन्दै देशले इमान्दारी र समर्पणका साथ सेवा गरेका व्यक्तिहरू गुमाएको प्रतिक्रिया दिएका छन् । जनरल अल–हद्दाद र उनको टोली टर्की–लिबिया सैन्य तथा सुरक्षा सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले वार्ताका लागि टर्की पुगेका थिए ।

टर्कीले सन् २०१९ मा लिबियामा हस्तक्षेप गर्दै पूर्वी लिबियाबाट आएको सेनाले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई विस्थापित गर्न नदिन भूमिका खेलेपछि लिबियामा आफ्नो प्रभाव उल्लेखनीय रूपमा बढाएको छ । त्यसयता टर्की र लिबियाबीच राजनीतिक, सैन्य तथा आर्थिक सम्बन्ध झनै घनिष्ठ बन्दै गएका छन्।