`

विशेष महाधिवेशन विवादले पार्टी विभाजनको अवस्था ल्याउनसक्छ: कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीभित्र महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादले विभाजनसम्मको अवस्था ल्याउनसक्ने चेतावनी दिएका छन् ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नियमित वा विशेष महशाधिवेशनबारे पार्टी केन्द्रिय समिति बैठकले निर्णय गर्न नसके पार्टी विभाजनको अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै ५५ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर भइसकेको बताउँदै नेता कोईरालाले उक्त हस्ताक्षर प्रमाणिकरणको प्रक्रिया शुरु हुने दिनदेखि नै काँग्रेस विभाजनको सम्भावना रहेको बताउँदै केन्द्रिय समिति बैठकले नै निष्कर्ष निकाल्नुपर्ने बताए । उनले बहुमत हस्ताक्षरको बलमा महाधिवेशन हुनेमा शंका नरहेपनि पार्टी एकता जोगाउन केन्द्रिय समितिकै बैठकबाट महाधिवेशनसम्बन्धी निर्णय लिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरु जो हुनुहुन्छ । त्यसमा हस्ताक्षर प्रमाणिकरण शुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ ।

४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि । बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो । त्यसकारण मैले केन्द्रीय समितिको बैठकले नै निर्णय गर्यो भने शतप्रतिशत महाधिवेशनकै पक्षमा हुन्छन् भनेर त्यँहीबाट निर्णय गरौं भन्ने मेरो मान्यता हो । ५५ प्रतिशत हस्ताक्षर जुन भएको छ त्यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन । बाध्यात्मक हुन्छ । तर पार्टी विभाजनतिर नजाओस भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौं ।’

पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गि भुमिका खेलिरहेको नेता कोईरालको भनाइ छ ।

विशेष महाधिवेशन नगर्न सिंगापुरबाट देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् ।

विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले निर्देशन दिएका हुन् ।

गत आइतबारको केन्द्रीय कार्यसमिति नियमित महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद भएपछि स्थगित भएको थियो । त्यसपछि बसेको संस्थापन पक्षीय नेताहरूको अनौपचारिक बैठकमा सभापति देउवाले विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको वातावरण बनाउन आफूलाई निर्देशन दिएको जानकारी कार्यवाहक सभापति खड्काले दिएका हुन् ।

सभापति देउवा श्रीमती डा.आरजु राणा देउवासँग कात्तिक १० गते सिंगापुर गएका थिए । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिएका दम्पतीले करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।

कुटिएपछि पहिलो पटक असोज २८ गते सानेपास्थित पार्टी कार्यालयको केन्द्रीय समिति बैठकमा सार्वजनिक रूपमा देखिएका देउवाले बैठकमा लिखित मन्तव्य दिँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

त्यसपछि जारी केन्द्रीय समिति बैठक खड्काको सभापतित्वमा बसिरहेको छ ।