सुर्खेत । भारतको हिमालचल प्रदेशमा ग्यास सिलिण्डर विष्फोट हुँदा सल्यानको एकै गाउँका नौं नेपालीको मृत्यु भएको छ । हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका नौं नेपालीको ज्यान गएको हो ।
सिद्धकुमाख गाउँपालिका–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार यही पुस २७ गते राति टाकुराका दुई परिवारका नौं सदस्यको ग्यासको सिलिण्डर विष्फोटपछि भएको आगलागीमा परी निधन भएको हो । ज्यान गुमाउनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी १६ वर्षीया राधा विक, अर्की छोरी १० वर्षीया रेणुका विक र छोरा २२ महिनाका राजन विक छन् । यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु विक र छोरा ७ वर्षीय किरण विकको मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले बताएका छन् ।
उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिण्डर अचानक विष्फोट भएको जानकारी पाइएको वडाध्यक्ष बुढाथोकीलले बताएका छन् । मृतकमध्ये केहीको शव जलेर नचिनिने अवस्था रहेको उनले बताए ।
धनबहादुर विक र काशीराम विकको परिवार दुई वर्षदेखि रोजगारीका लागि भारतको हिमाचलमा थिए । उनीहरूका परिवार अर्की बजारमा ज्याला मजदुरी गर्थे ।
