`

‘कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छ’

काठमाडौं । कार्बन व्यापारलाई मुख्य आम्दानीको स्रोत नभई दीर्घकालीन सहायक आम्दानीको स्रोतको रुपमा लिनुपर्ने विज्ञहरुले बताएका छन् । प्राक्टिकल एक्शन र एसपिआई नेपालद्वारा आयोजित कार्बन व्यापार नियमन, २०८२ सम्बन्धी कार्यक्रममा सहभागी विज्ञहरुले कार्बन व्यापारलाई मुख्य आन्दानीको स्रोतको रुपमा लिए सफल हुन नसकिने बताएका हुन् ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) का कार्यकारी निर्देशक नवराज ढकालले कार्बन व्यापारलाई दीर्घकालिन सहायक आम्दानीको स्रोतमा लिनुपर्ने बताए । उनले कार्बन व्यापारलाई मुख्य आम्दानीको स्रोत मान्न नहुने बताए । चाँडो पैसा कमाउने माध्यमका रूपमा नभई दीर्घकालीन लो–कार्बन आर्थिक विकास रणनीतिसँग जोडेर यसलाई अघि बढाउनुपर्ने उनको भनाई छ । उनकाअनुसार कार्बन व्यापारबाट प्राप्त हुने लाभ को–बेनिफिट मात्र हो । उत्सर्जन न्युनिकरणलाई वैज्ञानिक रूपमा मापन गरी परियोजना विकासमार्फत कार्बन लाभ लिन सकिने उनले बताए । कार्बन व्यापारबाट थोरै भए पनि राजश्व सिर्जना गरी थप हरित गतिविधि विस्तार, रोजगारी सिर्जना र बहुआयामिक योगदान गर्नेगरी लाग्नुपर्नेमा उनले जोड दिए ।

उनकाअनुसार नेपालले सन् २०४५ मा शुन्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ । त्यसअनुसारका नीतिगत तथा कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए । ढकालले नेपालले तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी–३) लाई उत्सर्जन न्युनिकरणको मुख्य उपकरणका रूपमा अघि बढाइरहेको पनि जानकारी दिए । उनले भने, ‘हामी कार्बनबाट पैसा ल्याएर सबै कुरा कायापलट गर्ने भन्ने सोचबाट हामी काम गर्ने होइन । राज्यले लिएको जुन लो कार्वन ईकोनिमिक डेभलपमेण्टको प्रायोरिटी छ, त्यो भनेको लङटर्म ईकोनोमी डेभलपमेण्ट स्ट्याटिजीकै कुरा होला । २०४५ नजिक शून्य हुने भनेका छौँ । त्यस अन्तर्गत रहेर जुन हाम्रो मिटिगेसनको मेन ईन्सुमेन्ट बनेको छ, एनडिसी ३ । एनडिसी ३ ले आईडेन्टीफाई गरेको एरियामा विभिन्न मिटिगेसनको प्रोग्रामहरु गर्ने, त्यसले हाम्रो लो कार्बन ईकोनोमी डेभलपमेण्ट नै कन्ट्रिव्युट गर्छ । हामी क्लाईमेट रिजिलेन्ट बन्दै जाने हो ।’

उनले भने, ‘त्यसरी गरिरहँदा खेरी यो एउटा चाहीँ को–बेनिफिट मात्रै हो । कार्बन बेनिफिट भनेको को–बेनिफिट हो । हामी सबैले त्यसरी बुझेर यसलाई अगाडि भने गर्न सकिन्छ । कार्वनबाट सबै गर्छौं भन्दा पनि हामी लो कार्बन विकासमा गईरहँदाखेरी अवथा क्लिन डेभलपमेन्टमा गईरहँदाखेरी हामीले अब अपनाउने आधुनिक प्रविधिहरु स्वच्छ खालको भइरहँदा एलओजी ट्रान्जिसनदेखि हरेक क्षेत्रमा हामी जाँदा त्यसबाट हामीले जुन ईमिसन रिडक्सन अचिव गरेका छौँ, त्यसलाई क्वान्टीफाई गरेर एउटा सिष्टोमेटिक हिसावले अगाडि बढाएर प्राजेक्ट विकास गरेर अनि त्यसबाट हामीले कार्बन वेनिफिट चाहीँ लिने । अलिकति भएपनि रेभिन्यु जेनेरेट गर्ने जसले त्यस्तै खालको थप क्रियाकलाप गर्न सकियोस् । त्यसले रोजगारी सिर्जना गरोस्, अरु विभिन्न हिसावले योगदान गर्न सकोस्, त्यो अवधारणाले हामी अगाडि बढेमा कोही पनि मिस गाईडेड हुनु पर्दैन ।’

कार्यकारी निर्देशक ढकालले कार्बन व्यापार नियमावली, २०८२ का नियमावलीलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । एसपिआई नेपालका अध्यक्ष मोहनदास मानन्धरले कार्बन व्यापार नियमावलीमा धेरै संशोधन गर्नुपर्ने विषयहरु रहेको बताए । तर पनि यसलाई कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । उनले नियमावली कार्यन्वयन गर्नको लागि आवश्यक सहयोग गर्ने बताए । प्राक्टिकल एक्शनका कन्ट्रि डाइरेक्टर पूजा शर्माले कार्बन व्यापार नियमन, २०८२ नियमावली कार्यान्वयनले कार्बन उत्सर्जन कटौती गर्न सहयोग गर्ने बताइन् ।

उनले कार्बनसम्बन्धी नीतिनियम बनाएर कार्यन्वयन गर्न नसकेमा अन्तर्राष्ट्रिय कार्बन खरिदकर्ताहरुसँग संयोजन गर्न चुक्नुपर्ने अवस्था आउने बताइन् । नेपालले कार्बन उत्सर्जन कटौती गर्नसक्ने र कार्बन कटौती गरे बापत धनी मुलुकहरुले प्रोत्साहन स्वरुप नेपालको कार्बन खरिद गर्दा नेपाललाई आर्थिक लाभ हुने उनको भनाई छ । कार्यक्रममा सहभागी विज्ञहरूले कार्बन व्यापार नियमन, २०८२ कार्यान्वयनले निजी क्षेत्र, स्थानीय तह र समुदायस्तरका हरित परियोजनालाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् । निजी क्षेत्रले गरेको कार्बन उत्सर्जन न्युनिकरणलाई कार्बन व्यापारमा समेट्ने गरी सरकारले हालै कार्बन व्यापार नियमावली, २०८२ नेपाल राजपत्रमा प्रकाशित गरि नियमावली कार्यान्वयनमा ल्याएको छ । गत मंसिर १५ गतेको मन्त्रिपरिषद्को बैठकले कार्बन व्यापारसम्बन्धी नियमावली अनुमोदन गरेको थियो । नियमावलीले विगतमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका परियोजना मात्र कार्बन व्यापारका लागि सूचीकृत हुने गरेकामा अब सबै क्षेत्रलाई कार्बन व्यापारमा सूचीकृत गर्नसक्ने व्यवस्था गरेको छ ।

नेपालको १४४ मुलुकसँग व्यापार, ११४ सँग घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) मा नेपालले विश्वका १४४ वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यी १४४ मुलुकमध्ये ३० वटा देशसँगको व्यापार मात्र नाफामा छ भने बाँकी ११४ मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ । यसमध्ये सबैभन्दा धेरै भारत, चीन, अर्जेन्टिना यूएई र इन्डोनेसियासँग क्रमशः व्यापार घाटा छ ।

भारतबाट ३ खर्ब ३७ अर्ब ९२ करोड ४६ लाख रुपैयाँको आयात हुँदा ७६ अर्ब ५० करोड ५५ लाख रुपैयाँको निर्यात भएको छ । यसर्थ भारतसँग २ खर्ब ६१ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको व्यापार घाटा रहेको छ । यसैगरी १ खर्ब ३२ अर्ब ५६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु चीनबाट आयात भएको छभने २९ करोड ८८ लाख रुपैयाँको वस्तु चीनतर्फ निर्यात भएको छ । यसकारण चीनसँग १ खर्ब ३२ अर्ब २७ करोड १० लाख रुपैयाँले व्यापार घाटा बेहोरेको छ ।

यस्तै अजेन्टिनाबाट ३४अर्ब ७२ करोड ४३ लाख रुपयाँको वस्तु आयात भएकोमा ५ लाख ८८ हजार रुपैयाँको निर्यात भएको छ । अर्थात् नेपालले अर्जेन्टिनासँग ३४अर्ब ७२ करोड ३७ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको देखिन्छ । यस्तै इन्डोनेसियासँग २१ अर्ब ५६ करोड रुपैयाँ थाइल्यान्डसँग ५ अर्ब ९६ करोड, ब्राजिलसँग ४ अर्ब ८२ करोड, मलेसियासँग ३ अर्ब ७७ करोड रुपैयाँले घाटा बेहोरेको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै नाफामा रहेका मुलुकमध्ये डेनमार्क रोमानिया, स्वीडेन, नाइजेर, इराकलगायत ३० वटा मुलुकसँगको व्यापार नाफा छ, यसमध्ये डेनमार्कसँग २७ करोड ४४ लाख रोमानियासँग ६ करोड ७८ लाख स्वीडेनसँग २ करोड ५० लाख रुपैयाँले नाफामा रहेको छ ।

आयात बढ्दा राजस्व संकलनमा सुधार

चार महिनामा नेपालबाट हुने निर्यातमा ७७.५१ प्रतिशतले वृद्धि भएको छ भने आयातमा १८.७१ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा, चालु आर्थिक वर्षको चार महिनामा यो बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्ष यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

समग्रमा मुलुकको कुल वैदेशिक व्यापारको आकार २४.१८ प्रतिशतले बढेको छ । गत वर्ष ५ खर्ब ६६ अर्बको कुल व्यापार भएकोमा यस वर्ष सो रकम बढेर ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ पुगेको छ । निर्यातमा सुधार भए तापनि आयातको हिस्सा उच्च रहेकाले मुलुकको व्यापार घाटा ११.९९ प्रतिशतले बढेको छ । चार महिनामा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ लाख रुपैयाँ रहेको थियो । साथै चालु वर्षको यो चार महिनामा भन्सार विन्दुबाट १ खर्ब ५७ अर्ब २७ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्षको यसै अवधिमा १ खर्ब ४५ अर्ब ८४ करोड ८४ लाख रुपैयाँ संकलन भएको थियो ।

आयातमा सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थ र फलाम

सबैभन्दा ठुलो परिमाणमा आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । चार महिनामा ९२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । यसैगरी दोस्रो धेरै आयात हुनेमा फलाम र तेस्रोमा खाने तेलतथा घ्युजन्य वस्तु छ । ५७ अर्ब ८८ करोड ८८ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, ५० अर्ब १७ करोड ६ लाख रुपैयाँ बराबरको तेल तथा घ्युजन्य वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसैगरी ४३ अर्ब ३८ करोड २ लाख रुपैयाँको विद्युतीय उपकरण, ४० अर्ब ५९ करोड २६ लाख रुपैयाँको बोइलर मेसिन, ३७ अर्ब ६९ करोड ५ लाख रुपैयाँको सवारी साधन तथा पार्टपुर्जा आयात भएको छ । यस्तै २५ अर्ब २० करोडको रासायनिक मल, २४ अर्ब ४१ करोड ७३ लाख रुपैयाँको मोती, पत्थरजन्य वस्तु, २१ अर्ब ८९ करोड ३५ लाख रुपैयाँको प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु, १५ अर्ब ७४ करोड १४ लाख रुपैयाँको खद्यान्न, २२ अर्ब २३ करोड २९ लाख रुपैयाँको फलफूल र तरकारी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा धेरै निर्यात हुने वस्तु के के छन् ?

चालु आर्थिक वर्षको पहिलो चार महिना(२०८२/८३ साउन–कात्तिक) मा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष (२०८१/८२) को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । निर्यातमा देखिएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक संकेत हो । कुल निर्यात हुनेमा सबैभन्दा ठुलो हिस्सा क्रमशः फलाम, तेलघ्युजन्य वस्तु र धागो छन् । यो चार महिनाको अवधिमा कुल निर्यातमध्येमा ४५ अर्ब १४ करोड ३७ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ ।

यसैगरी दोस्रोमा ४४ अर्ब ७० करोड २३ लाख रुपैयाँको तेलतथा घ्युजन्य वस्तु र तेस्रोमा ९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको विभिन्न प्रकारको धागो निर्यात भएको छ । त्यस्तै ठुलो हिस्सामा निर्यात हुनेमा ५ अर्ब ९१ करोड २२ लाख रुपैयाँको चियाकफी तथा मसलाजन्य वस्तु, ४ अर्ब ५५ करोड ३७ लाख रुपैयाँको तयारी तथा अन्य कपडा, ३ अर्ब ६० करोड ७९ लाख रुपैयाँको कार्पेट निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी २ अर्ब २३ करोड ७१ लाख रुपैयाँको पशुजन्य आहार,२ अर्ब ३९ करोड ४८ लाख रुपैयाँको काठ तथा काठजन्य वस्तु १ अर्ब ४ लाख रुपैयाँको जुत्ताचप्पल, २ अर्ब ५१ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । १ अर्ब १९ करोड १९ लाख रुपैयाँको पेष्टिकुकका उत्पादन, १ अर्ब ४२ लाख रुपैयाँको साल्ट सल्फर, १ अर्ब ३९ करोड १५ लाख रुपैयाँको विरुवा, १ अर्ब १६ करोड ८७ लाख रुपैयाँको फर्माटिकल निर्यात भएको छ ।

नेपालको भारत र चीनसँग मात्रै तीन खर्ब बढीको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै तीन खर्ब बढीको व्यापारघाटा व्यहोर्नुपरेको छ । निर्यात भन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोडको व्यापार घाटा व्यहोरेको हो । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) सम्ममा भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोडको वस्तु आयात गरेको छ ।

यो अवधिमा ५९ अर्ब १२ करोडको मात्रै वस्तु निकासी गरेको छ । जसबाट पहिलो त्रैमासमा भारतसँग मात्रै नेपालले १ खर्ब ९९ अर्ब ७४ करोडको व्यापार घाटा व्यहोर्नु परेको छ । त्यस्तै, उत्तरी छिमेकी देश चीनसँग नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्ममा १ खर्ब ४८ अर्ब ९४ करोडको वस्तु आयात गरेको छ भने निर्यात भने १८ करोड ६४ लाखको मात्रै गरेको छ । जसबाट नेपालले १ खर्ब ४ अर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।

भारतपछि सबैभन्दा बढी व्यापारघाटा रहेको मुलुकमा चीन पर्ने गरेको छ । त्यस्तै, नेपालले अफगानीस्तान, अर्जेनटिना, अस्टे«लिया, बंगलादेशदेखि अमेरिकी मुलुकसँग पनि ठूलो व्यापार घाटा व्यहोरेको छ । नेपालले १ सय ४० देशसँग वैदेशिक व्यापार गर्दै आएकोमा साइप्रस, बहामासलगायतका केही देशहरुसँग वैदेशिक व्यापार नाफामा गर्दै आएको विभागको तथ्यांकले देखाउछ । –न्युज एजेन्स

पाँच खर्ब ४० अर्बको वैदेशिक व्यापार, करिब चार खर्ब घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात–निर्यात दुवै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात यो अवधीमा १९.७९ प्रतिशतले बढेको हो ।

२०८१/८२ को पहिलो त्रैमासमा ३ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागकाअनुसार चालु आ.व.को पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो भएको यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैँया बराबरको निर्यात भएको थियो । पहिलो त्रैमासमा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

समीक्षा अवधिमा झन्डै १३ प्रतिशतले ब्यापार घाटा बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ३ खर्ब ९५ अर्ब ब्यापार घाटा देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो । चालु आ.व.को समीक्षा अवधीमा आयाततर्फ नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ ।

निर्याततर्फ चालू आवको समीक्षा अवधीमा ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात गरेको छ । यस अवधिमा नेपालले ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.१८ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । –न्युज एजेन्सी नेपाल

 

झिनियाँको माग बढ्दो, उत्पादन गर्न भ्याइनभ्याई

रामपुर । यस पटक तिहारमा मागअनुसार झिनियाँ पुर्‍याउन नसकिएको व्यवसायीले बताएका छन् । तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

चाडपर्वका बेला ग्राहक तथा व्यापारीबाट माग बढी आए पनि पुर्‍याउन नसकिएको उद्यमी रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने रुद्रनारायण श्रेष्ठले बताए । तिहारमा पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढ्दो रहेकाले माग बढी आउने गरेको उनको अनुभव छ ।

‘व्यवसायीलाई उत्पादन गर्न हम्मेहम्मे परेको छ, उत्पादन गरेमात्र हुन्छ, व्यापारको पिरलो छैन, उद्योगबाटै धमाधम बिक्री भइरहन्छ, अहिलेको मागअनुसार पुर्‍याउनै मुस्किल पर्छ’, उनले भने । उद्यमी श्रेष्ठले रामपुरमा विगत एक दशकदेखि झिनियाँको व्यापार गर्दै आएका छन् । उनी यो क्षेत्रका पहिलो व्यवसायी हुन् । श्रेष्ठलाई श्रीमती लक्ष्मीले निरन्तर रूपमा व्यवसायमा साथ दिँदै आएका छन् ।

चाडपर्व छिटो, वर्षा पनि लामो परेकाले विगतका वर्षको तुलनामा पहिले नै तयार गरेर राख्न नसकिएको हुँदा चाडपर्वमा उत्पादन गर्न भ्याइनभ्याई भएको लक्ष्मीले बताए । श्रेष्ठले सञ्चालन गरेको यो व्यवसायमा छ जनाले रोजगारसमेत पाएका छन् । यसपटकको चाडपर्वमा करिब छ लाख बराबरको कारोबार हुने उद्यमी रुद्रनारायणले बताए । उनका अनुसार त्यहाँ उत्पादन भएको झिनियाँ पाल्पा, स्याङजा, तनहुँ, नवलपुर, बुटवल, भैरहवा, चितवनलगायतका विभिन्न स्थानमा खपत भइरहेको छ ।

रामपुर–४ सिर्जनाचोकका विष्णु सारुले यस पटक बजारको मागअनुसार थेग्न मुस्किल परेको सुनाए । उनले तीन वर्षदेखि निरन्तर झिनियाँ उत्पादन गर्दै आएका छन् । यसबाट मनग्य आम्दानी हुने भएपछि व्यावसायिक उत्पादनमा जोड दिएको सारुले उल्लेख गरे । घरमै झिनियाँ खरिद गर्न आउने भएपछि उद्यमीलाई बिक्रीका लागि बजार धाउनु परेको छैन । प्रतिकिलो खुद्रा मूल्य एक सय र थोक मूल्य ९० मा बिक्री भइरहेको छ । छोटो समयमा कम लगानीमा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा हिजोआज झिनियाँ व्यवसायमा आकर्षण बढ्दो छ ।

बजारमा यसको माग बढ्दो रहेकाले व्यवसायीलाई सहज भएको छ । उत्पादन गर्न झन्झट गर्न नपर्ने, घरमै बसेर आयस्रोत लिने भएकाले झिनियाँलाई व्यवसायका रूपमा गाउँघरमा लिने गरिएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइ दिएपछि प्रसादस्वरुप झिनियाँ दिने चलन छ । हिजोआज खाजाका रूपमा पनि यसको प्रयोग बढिरहेको छ । तिहार पर्वबाहेक विवाह, व्रतबन्ध, पूजाआजा, माघे संक्रान्ति, तीजलगायत विभिन्न पर्व र शुभकार्यमा यसको प्रयोग बढ्दो छ ।

‘पहिला बजारमा झिनियाँ अहिलेजसो पर्याप्त मात्रामा पाइँदैनथ्यो । घरघरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनियाँ बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनियाँ बनाउने कार्य गरिँदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनियाँ खरिद गर्न जाने ग्राहक बढ्दै गएका हुन्’, सारुले भने ।

झिनियाँबाट मनग्य आम्दानी हुन थालेपछि हिजोआज महिलाहरूको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यावसाय सञ्चालन गर्न सकिने हुँदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने भएकाले उत्पादित झिनियाँ सुरक्षित भण्डारण गरेर जुनसुकै समयमा पनि बिक्री गर्न सकिने सारुको अनुभव छ ।

गाउँमा सवारीसाधनको सुविधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनियाँ बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनियाँ उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ । चामलको पीठोलाई पकाएर मेसिनको सहायताले झिनियाँ बनाई सुकाएर तयार गर्ने गरिन्छ । विशेषतः पहिले–पहिले तिहारका लागि मात्र बनाइने झिनियाँ हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रूपमा पनि झिनियाँलाई लिने गरिन्छ ।