`

राष्ट्रपतिसमक्ष मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित एक समाराेहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रदेश प्रमुख कर्णले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतकाे उपस्थिति थियो । धनुषाका कर्णलाई हिजाे बसेकाे मन्त्रिपरिषद्को बैठकले  प्रदेश प्रमुखमा सिफारिस गरेकाे  थियाे ।  राष्ट्रपति पाैडेलले उनलाई आज नियुक्त गरी शपथ  गराएका हुन् ।

सुनारसँगै रोकियो गणपतिलालको पनि शपथ

काठमाडौं । मन्त्री नियुक्तिको लागि सिफारिस भएका दुई जनाको शपथ रोकिएको छ । भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ पनि विवादमा मुछिएको भन्दै शपथ नहुने भएको स्रोतले जनाएको छ । सुरूमा पर्यटनमन्त्रीमा चर्चा गरिएका श्रेष्ठको पछि मन्त्रालय हेरफेर गरिएको थियो । उनको शपथ रोकिनुको कारणबारे विस्तृत खुलिसकेको छैन ।

यसअघि श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनारका विभिन्न काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि उनको पनि शपथ ग्रहण नहुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले सुनारसहित चार जनालाई मन्त्री बनाउने र आजै शपथ गराउने तयारी गरेकी थिइन् ।
तर, स्वास्थ्यकर्मीमाथि हातपात र साइबर अपराध मुद्दामा फरार सूचीमा रहेका सुनारको शपथ रोकिने भएको हो । प्रधानमन्त्री कार्कीले सुनालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने तयारी गरेकी थिइन् । आज बब्लु गुप्ता र सुधा शर्मा गौतमको मात्र शपथ हुने भएको हो ।

सुनारलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत उत्तिकै महत्व रहेको श्रम मन्त्रालयको जिम्मा दिंदा अन्तर्राष्ट्रिय स्तरमा समेत देशकै गरिमामाथि आँच आउने भन्दै चौतर्फी विरोध भएपछि प्रधानमन्त्री कार्की पछि हटेको स्रोत बताउँछ । आफूलाई दलित अभियन्ताका रुपमा चिनाउने र दलित अधिकारका लागि विवादित अभिव्यक्ति दिँदै आएका सुनारविरुद्ध सर्वोच्च अदालतदेखि दुई जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा विचाराधीन छ भने सुर्खेत जिल्ला अदालत र काभ्रे जिल्ला अदालतबाट आपराधिक घटनामा संलग्न रहेको भन्दै अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको छ ।

अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा सुनारविरुद्ध प्रहरीले सरकारी वकिलमार्फत दायर गरेको साइबर अपराधको मुद्दा जिल्ला अदालत काभ्रेमा विचाराधिन छ । अदालत स्रोतका अनुसार उनलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेकोमा उनी उपस्थित भएका छैनन् । काभ्रे प्रहरीले गत २ साउनमा उनीविरुद्ध मुद्दा दायर गरेको छ । सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा परेपछि सुनारले अधिवक्ता गौतमविरुद्ध फेसबुकमा गालीगलौच गरेर लेखेका थिए । त्यसविरुद्ध उनले साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

ब्यूराले अधिवक्ताको ठेगानाका आधारमा काभ्रेमा पठाएको थियो । साइबर ब्यूरोमा असार ३ गते जाहेरी परेको हो । जसको दर्ता नम्बर ४३३ छ । त्यस्तै अदालतमा दायर भएको मुद्दा नम्बर ०८२–सी २–००१ रहेको स्रोत बताउँछ । उनीविरुद्ध सुर्खेतमा पनि फौजदारी मुद्दा लागेका छन् । सुनारविरुद्ध जिल्ला अदालत सुर्खेतबाट मेहेलकुना अस्पताल तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । अदालतको मु.र.नं. ७८–०८०–०२१४१ र मु.नं. ०८०–ऋ१–०५२२ अनुसार गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको उजुरीमा दायर मुद्दा मिति २०८१ असार १४ गते अदालतमा पुगेको थियो । त्यसको आधारमा अदालतले असार २१ गते ७ दिने पक्राउ पुर्जी जारी गर्दै दैलेख प्रहरी कार्यालयलाई फरार अभियुक्तलाई पक्राउ गरी उपस्थित गराउन आदेश दिएको पक्राउ पुर्जीमा उल्लेख छ ।

पुर्जीमा उल्लेख भएअनुसार, दैलेख जिल्ला नारायण नगरपालिका–२ भैसेखोर निवासी ३१ वर्षीय खगेन्द्र सुनार, डिलबहादुर सुनारका नाति र कमान सिंह सुनारका छोरा हुन् । सुनार हालसम्म पक्राउ परेका छैनन् र अदालतले उनलाई खोजी गर्न निर्देशन दिएको छ । सुनारमाथि अर्को मुद्दामा पनि साइबर ब्युरोले पनि अनुसन्धान गरिरहेको छ । केही महिना अगाडी उनले फेसबुकमार्फत सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालविरुद्ध गम्भीर आरोप लगाएका थिए ।

सुनारले सामाजिक तथा जातीय सद्भावलाई खल्बल्याउने उद्देश्यसहित बैतडीको डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण काजी कोलीलाई मन्त्री पालको गाडीले किचेर हत्या गरेको दाबी गरेका थिए । तर प्रहरी अनुसन्धानले उक्त दाबीलाई असत्य ठहर गरेको थियो । ती किशोरको मृत्यु गत साउन १७ गते बालुवा संकलनका क्रममा विद्युत पोल छुँदा करेन्ट लागेर भएको प्रहरीले जनाएको थियो । मृतक परिवारले भोलिपल्टै शव बुझिसकेका थिए ।

सोही प्रकरणमा मन्त्री पालका छोरा मुकेश पालले खगेन्द्र सुनारविरुद्ध तथ्यहीन आरोप लगाएर चरित्रहत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका थिए । उक्त उजुरी आवश्यक कारबाहीका लागि साइबर ब्युरोमा पठाइएको थियो । सुनार बैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा प्रहरी हिरासत बसेको समेत खुलेको छ । सुरुमा नेपाल बिद्यार्थी संघका कार्यकर्ता रहेका सुनार केही समय सञ्चारकर्मी समेत बनेका थिए। पछिल्लो समय दलित अभियन्ताको नाममा अराजक गतिविधिमा संलग्न हुँदै आएका छन् ।

फरार सूचीमा रहेको र विभिन्न आपराधिक कृयाकलापमा संलग्न रहेका सुनारको नाम अन्तिम समयमा आएर मन्त्रीको सूचीबाट हटेको बालुवाटार स्रोत बताउँछ । उनलाई मन्त्री बनाउँदा प्रधानमन्त्री कार्कीको मात्र नभई देशकै इज्जतमा दाग लाग्ने देखिएपछि उनको नाम हटाइएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको नाम शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पठाए पनि अन्तिममा सुनारको नाम काटिएको हो ।

 

 

 

सिफारिस चारमध्ये दुई मन्त्रीको मात्रै शपथ हुने

काठमाडौं । नयाँ मन्त्रीका लागि सिफारिस भएका चार जनामध्ये दुई जनाको मात्रै आज (आइतबार) शपथ हुने भएको छ । सिफारिस भएका चारमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ आज नहुने भएको स्रोतले जानकारी दिएको छ । बब्लु गुप्ता र सुधा शर्मा गौतमको भने शपथ हुने भएको हो । सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने गरी राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

सुनारको नाममा चौतर्फी विवाद भएपछि प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरेकी थिइन् । छलफलपछि सुनारसहित श्रेष्ठको पनि शपथ रोकिएको हो । ‘बिहान नाम समावेश भएर आएको थियो । अहिले प्रधानमन्त्रीका स्वकीय सचिव आएर प्रधानमन्त्रीले शपथ नगराउने जानकारी गराउनु भयो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो । यता प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने सुनारको नाम मन्त्रीको लिस्टमा समावेश नै नरहेको दाबी गरेका छन् । तर उनको यो दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।

दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएपछि सञ्चार माध्यमहरूमा समाचार आएका थिए । स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

२०८१ असार १४ मा दायर भएको मुद्दा मा अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु’ भदै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो । २०८१ मङ्सिर २१ मा उनलाई पक्राउ गरेर उपस्थित गराइदिन भन्दै अदालतले पत्राचार गरेको थियो । सुनारविरुद्ध सुर्खेत स्थित गुर्भाकोट नागरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरी दिएका थिए । राष्ट्रपति कार्यालयले अहिले दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको छ । तर, सिफारिस भएका मन्त्रीको नाममा विवाद भएको थियो । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठ राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

 

 

चार मन्त्रीको शपथ साढे २ बजे, गणपतिलालको फेरियो मन्त्रालय

काठमाडौं । नव नियुक्त चार मन्त्रीको शपथ साढे २ बजे हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चार जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जनाएको छ । यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो । स्रोतका अनुसार डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई भूमिसुधार, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ । गणपतिलाललाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी गरिएको थियो । अन्तिम समयमा उनको मन्त्रालय हेरफेर गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

यस्तो छ मन्त्री बन्न लागेका चार जनाको पृष्ठभूमि

डा. सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव हुन् । उनी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । उनले ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तक समेत लेखेकी छन् । यसअघि सम्भावित स्वास्थ्य मन्त्रीको रुपमा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव संगीता कौशल मिश्राको नाम चर्चामा थियो । त्यसअनुसार उनले पदबाट राजीनामा समेत दिएकी थिइन् । तर उनीमाथि अख्तियार दुरुयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा अनुसन्धान गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री सुशीला कार्की पछि हटेकी थिइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही कात्तिक २ गते मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यद्यपि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीको जिम्मेवारी महिला पूर्वस्वास्थ्य सचिवलाई नै दिने निर्णय गरेकी छन् । यस्तै गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले रानीपोखरी, बसन्तपुर दरबार क्षेत्र लगायतका सम्पदा संरक्षणमा सह्रानीय भूमिका निर्वाह गरेका छन् । सम्पदा संरक्षण अभियानबारे गणपतिले विश्वचर्चित अक्सफोर्ड युनिभर्सिटीमा गएर समेत प्रस्तुति दिइसकेका छन् । खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । संवैधानिक पद र राजनीतिक नियुक्तिमा दलित प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन गरेका थिए ।

खगेन्द्र दलित अधिकारको पक्षमा यसअघि पनि पटक–पटक धर्ना, प्रदर्शन र आन्दोलनमा सहभागी भएका छन् । ०७७ जेठ ११ गते रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या लगत्तै खगेन्द्रले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको गेटमा भोकै सुतेर आन्दोलन गरेका थिए । उनले यो मुद्दाको सुनुवाइ चलिरहेका बेला जिल्ला अदालत रुकुमपश्चिमको गेटमा १० दिनसम्म धर्ना दिएका थिए ।

बब्लु गुप्ता सामाजिक कार्यक्रममा सक्रिय छन् । उनले कोभिडकालमा निःशुल्क खाना अभियान चलाएका थिए । कोभिड महामारी अघि बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसका लागि कपडा बैंक अभियान चलाएका थिए । उनी ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरुलाई पढाइरहेका उनी बिरामीका लागि आवश्यक रगत खोजिदिने सारथि समेत हुन् ।

 

नव नियुक्त चार मन्त्रीले लिए शपथ, पहिलोपल्ट सभामुख पनि उपस्थित

काठमाडौं । नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोतिज कार्यक्रममा उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । शपथ खानेहरूमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार र पत्रकार जगदीश खरेल छन् ।

सिन्हाले उद्योग, वाणिज्य, कानुन र भूमि व्यवस्था , पुनले शिक्षामन्त्रीमा, प्रविधि, परियारले कृषि र खरेलले सञ्चार, प्रविधि तथा सूचना मन्त्रीको रुपमा शपथ लिएका हुन् । यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् । नव नियुुक्त मन्त्रीहरुको शपथ समारोहमा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन् । सोमबार शीलत निवासमा आयोजित शपथ ग्रहण समारोहमा उनी सहभागी भएका हुन् ।

२३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने प्रतिनिधिसभा विघटन भएको थियो । त्यसयता घिमिरे पहिलो पटक सार्वजनिक समारोहमा सभागी भएका हुन् । घिमिरे अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र अन्य ३ जना मन्त्रीको शपथ समारोहमा भने सहभागी भएका थिएनन् । मुख्य शपथ समारोहमा राज्यका महत्वपूर्ण पदमा रहेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख राष्ट्रिय सभा अध्यक्षहरुको उपस्थिति हुने गर्दछ ।

किन पछि धकेलियो मन्त्रीहरूको शपथ ?

काठमाडौं । नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण ३ बजे मात्र हुने भएको छ । यसअघि २ बजेलाई तोकिएको शपथ एक घण्टा पछि सारेर ३ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जनाएको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्तिका लागि थप पाँच जनाको नाम सिफारिस भएको छ ।

नयाँ मन्त्रीका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, वैज्ञानिक महावीर पुन र राज्य पुनर्संरचना आयोगका पूर्व संयोजक मदन परियार छन् । त्यस्तै स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्रका नाम सिफारिस भएको भए पनि उनीहरूको नाम अहिलेलाई होल्डमा राखिएको बताइएको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।

 

अर्थ, ऊर्जा र गृहमन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई नियुक्त गरेकी छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् ।

अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् । सोमबार राष्ट्रपति भवन शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए ।

खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिन्छन् । उनीहरु दुबै जेनजी आन्दोलनकारी रुचाएका व्यक्ति हुन् । जेन–जी आन्दोलनपछि उनीहरूको मागलाई निष्कर्षमा पुर्‍याउन अधिवक्ता अर्यालले भूमिका खेलेका छन् । अन्य मन्त्रीहरूको छनोटमा पनि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेन–जी युवासँग परामर्श गरिरहेकी छन् । जेन–जी आन्दोलनको मागअनुसार पूर्व प्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् । प्रधानमन्त्री बनेको तेस्रो दिनमा उनले केही मन्त्री छानेकी हुन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबार पुगेर पदबहाली गरेकी हुन् ।

मन्त्रीहरुको शपथमा पनि देखिएनन् सभामुख घिमिरे, राष्ट्रियसभा अध्यक्ष दाहाल भने सहभागी
काठमाडौं । सभामुख देवराज घिमिरे नवनियुक्त मन्त्रीहरुको शपथ समारोहमा पनि अनुपस्थित भएका छन् । वर्तमान सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुनमा निर्वाचन तोकेपछि असन्तुष्ट बनेका उनी मन्त्रीहरुको शपथमा पनि नगएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पनि उनी गएका थिएनन् । शीतल निवासले सभामुख अनुपस्थित रहने जानकारी यसअघि नै पाएपछि उनका लागि कुर्सीको व्यवस्था गरेको थिएन । मन्त्रीहरुको शपथ समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल भने सहभागी भएका छन् । उनी प्रधानमन्त्री कार्कीको शपथमा भने देखिएका थिएनन् ।

मन्त्रीहरुको शपथ कार्यक्रममा बाबुराम भट्टराई बाहेक अन्य पूर्वप्रधानमन्त्रीहरु पनि देखिएका छैनन् । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि समारोहमा गएका छैनन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका हुन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर मन्त्रीहरूलाई शपथ दिलाइएको थियो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए ।

कार्कीको शपथ ग्रहणमा सभामुख र राष्ट्रियसभा अध्यक्ष अनुपस्थित

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल अनुपस्थित भएका छन् ।

शपथमा पूर्व प्रधानमन्त्रीहरू पनि देखिएनन् । विभिन्न देशका राजदूत साथै कूटनीतिक नियोगका अधिकारी भने सहभागी भएका थिए ।

 

प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए । लामो रस्साकस्सीपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्याधीश कार्कीलाई केहीबेर अघि मात्रै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । जसमा धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने कुरा उल्लेख छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।

प्रधानमन्त्रीको शपथ नौं बजे, शीतल निवासमा पहिलो मन्त्रिपरिषद बैठक

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री नियुक्त सुशीला कार्कीलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ । अहिले ९ बजे उनको शपथ हुने स्रोतले जनाएको छ । अहिले पत्र तयार भइरहेको जनाइएको छ ।

उनले शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएको छ । बैठकले संकटकालको सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयोग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन हुने स्रोतले जनाएको छ ।

आम सहमतिका आधारमा नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी कार्की दुई वटा सम्माननीय पदमा पुग्ने पहिलो व्यक्ति बनेकी छन् । अन्तरिम प्रधानमन्त्रीसँगै अन्य कम्तीमा दुई मन्त्रीको शपथ ग्रहण हुने बताइएको छ । एक जना जेनजीको प्रतिनिधि बालेन शाहका सल्लाहकार समेत मन्त्री हुनेछन् ।