`

भाषण गर्दागर्दै ढलेर निधन भएका जिफन्ट उपाध्यक्ष गौतमलाई शहीद घोषणा गर्न माग

काठमाडौँ । एमालेसंवद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गरेका छन् ।

जिफन्टको आयोजनामा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो माग गरेका हुन्। जिफन्टका उपाध्यक्ष समेत रहेका गौतमको भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षको उमेरमा गत बिहीवार निधन भएको थियो ।

श्रमिकको पक्षमा निरन्तर आवाज उठाउने गौतम श्रमिकहरुको लागि महान शहीद भएको अध्यक्ष श्रेष्ठले बताए । उनले जेनजी आन्दोलन र वर्तमान सरकारको रवैयाका कारण हजारौँ श्रमिकहरुको रोजीरोटी गुमेको बताए । उद्योगी र सरकारकाबीचको टकरावको मारमा श्रमिकहरु पर्न नहुने उनको भनाई छ । सरकारले जेन—जी आन्दोलनको माग पुरा गर्नुको सट्टा लोकप्रियतावादमा फसेको उनले बताए ।

उनले भने, ‘अस्ती भर्खरै जेन-जी आन्दोलनमा हामीले देख्यौँ, आन्दोलनको नाममा झण्डा बोकेर सिंहदरबार जलाउनेलाई पनि शहीद भनियो, आन्दोलनको नाममा भाटभटेनी लुटेर, लुट्दालुट्दै हाम फालेर मर्नेहरुलाई पनि, चोरलाई पनि शहीद भनियो, चोर्दाचोर्दै तल आगो लगाएर माथीबाट आउन नसकेर मर्नेहरु पनि शहीद भए । म यो सरकारलाई आग्रह गर्न चाहन्छु । ५० औँ हजार मजदुरहरुका निम्ति बोल्दा बोल्दै ज्यान गुमाएका कमरेडलाई के भन्ने रु हामी हाम्रो महासंघको तर्फबाट कमरेड कमल गौतम ती फटाहा, चोरहरुभन्दा महान शहीद बन्नुभएको छ भन्ने घोषणा गर्न चाहन्छु’

उनले श्रमिकहरुको अधिकारको लागि आफूहरुको आन्दोलन जारी रहेको पनि बताए ।