`

शिक्षिका खड्काको सुसाइड नोट : अर्काको श्रीमानसँग जीवन जिउन सकिएन

डोटी । डोटीमा एक शिक्षिका रहस्यमय ढंगले मृत भेटिएको घटनाले नयाँ मोड लिएको छ। पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी २७ वर्षीया शिक्षिका जानकी खड्काको ‘आत्महत्या’ प्रकरणमा जिल्ला प्रहरी कार्यालय डोटीले शिक्षा तथा समन्वय एकाइ डोटीका विद्यालय निरीक्षक (विनि) २८ वर्षीय गणेश रावललाई पक्राउ गरेको छ। मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका–११ घर भएका रावललाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पालले जानकारी दिए।

बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षिका खड्का सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी थिइन्। त्यसको केही घण्टापछि घर नजिकै करिब ७०० मिटरको दूरीमा उनलाई झुण्डिएको अवस्थामा मृत फेला पारिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले शिक्षिका खड्काको सुत्ने कोठाबाट एउटा सुसाइड नोट बरामद गरेको छ । मोबाइलको कभर पछाडि भेटिएको उक्त नोटले घटनाको रहस्य खुलासा गरेको छ। सुसाइड नोटमा खड्काले गणेश रावलसँग सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएको तर, रावलले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेकी छिन्।

सुसाइड नोटमा लेखिएको छ, ‘अहिलेसम्म ड्याडी–मम्मीको इज्जत र खुशी सम्झेर बसेकी थिएँ । आज मलाई जीन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइ दियो । सो सरी भाइ मेरो कारण तिमीलाई र ड्याडीलाई यत्रो महिना तनाव भयो। के गरुँ भाइ, गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो। न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने।’ खड्काले आफ्ना बुवा, आमा र भाइलाई सम्बोधन गर्दै रावलसँग फोनमा कुराकानी गर्नु आफ्नो गल्ती भएको स्वीकारेकी छिन्। उनले बुवाआमाको इज्जत गुमाएर कसैको श्रीमान र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसक्ने कुरा स्पष्ट पारेकी छिन्।

‘मेरो आयु यत्ति नै रहेछ, के गरुँ भाइ ? बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ,’ सुसाइड नोटमा उल्लेख छ । जानकी खड्का परिवारकी जेठो सन्तान थिइन् र सिंगो परिवार उनकै आयस्रोतमा आश्रित थियो । दुई वर्षअघि निमावि तहको गणित विषयको स्थायी शिक्षक सेवा पास गरेर सरकारी सेवा प्रवेश गरेकी उनी परिवारको भर थिइन् । मृतकका भाइ प्रदीप खड्काका अनुसार, बुवा रक्तचाप र आमा माइग्रेनको बिरामी भएकाले परिवारको आर्थिक भार जानकीमाथि थियो । ‘हामी मध्यमवर्गीय परिवार हो । दिदीकै आयस्रोतको भरमा थियौँ । हाम्रो परिवारको खम्बा ढल्यो । दोषीलाई कारबाही गरी दिदीको आत्मालाई न्याय दिनुपर्छ,’ प्रदीपले पीडा पोखे ।

प्रदीपले गणेश रावलले आफूलाई समेत फोन गरेर दिदीसँग विवाह गर्ने वातावरण बनाउन आग्रह गरेको र त्यसो नभए ज्यान मार्ने धम्की दिएको दाबी गरेका छन् । रावलको दबाबमा परिवारसँग विवाहको कुरासमेत चलाएको उनले बताए। प्रहरी अनुसन्धानबाट खुल्न आएअनुसार, पक्राउ परेका गणेश रावल यसअघि नै विवाहित थिए र उनका सन्तान पनि छन्। उनले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका भए पनि जानकीमाथि विवाह गर्न निरन्तर दबाब दिइरहेको प्रहरीले जनाएको छ। डीएसपी दीपेन्द्र पालले रावलले यसअघि नै विवाह गरेको कुरा बुझिएको बताउँदै घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिए। सुसाइड नोट र परिवारको बयानका आधारमा प्रहरीले रावलमाथि ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।