`

शितलनिवासको छलफल सारियो, सुरक्षा व्यवस्था कडा

काठमाडौं । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम पछाडि सरेको छ । वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि विभिन्न पक्षसँग छलफल गरेका थिए ।

दलहरुले संसद विघटन नगरी नयाँ प्रधानमन्त्री तय गर्नुपर्ने विचार राखेका छन् । आन्दोलनरत पक्ष जेनजीले संसद विघटनको पक्षमा छ । संविधान अनुसार संसदको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था छ । आन्दोलनरत पक्ष र दलहरु पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सहमत भएका छन् । तर, संसदले अनुमोदन गर्ने विधिमा सहमति जुट्न सकेको छैन ।

शीतल निवास अगाडि सुरक्षा व्यवस्था कडा
यता जेनजीको आन्दोलनपछि राष्ट्रपति भवन शीतल निवास परिसरको सुरक्षामा थप कडाइ गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालय अगाडि सुरक्षा उपस्थिति बलियो बनाएको हो । हाल शीतल निवास वरपर सुरक्षा फौजको बाक्लो उपस्थिति देखिन्छ । सेनाले मुख्य गेट तथा आसपासका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवतजावतमा समेत सतर्कता अपनाएको छ ।