`

संसद् पुनर्स्थापना हुन्छ, आशावादी छौं : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वर्तमान राजनीतिक घटनाक्रमको बीचमा संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था नै नभएको बताएका छन् । कोशी प्रदेशसभा भवनमा गत भदौ २४ गते आन्दोलनका क्रममा भएको आगजनीपछिको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले वर्तमान विवाद समाधानको मार्ग न्यायालयमै खुल्ने विश्वास व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले चलिरहेको राजनीतिक विवाद सर्वोच्च अदालतमा पुगेको उल्लेख गर्दै भने, ‘विषय न्यायालयमा गएको छ । न्याय ठीक ढंगले हुँदा संसद् पुनर्स्थापना भएर जान्छ भन्ने हाम्रो आशा छ ।’ सभामुख घिमिरेले कोशी प्रदेशसभामा भएको क्षति दुःखद् भएको र यसको पुनर्निर्माण तथा सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

 

पूर्व सभामुख सापकोटाले फिर्ता गरे सरकारी गाडी

काठमाडौं । पूर्व सभामुख अग्नि सापकोटाले सरकारी गाडी फर्काएका छन् । सरकारले पूर्व पदाधिकारीहरूलाई दिएको सवारी साधन फिर्ता गर्ने निर्णय गरेसँगै पूर्वसभामुख सापकोटाले गाडी फिर्ता गरेका हुन् । दशैंलगत्तै कार्यालय खुलेको पहिलो दिन मंगलबार संसद् सचिवालयलाई गाडी फिर्ता गरेको सापकोटाको सचिवालयले जनाएको छ ।

सापकोटाको सचिवालयले भनेको छ, ‘मन्त्रीपरिषद्को निर्णयअनुसार संघीय संसद सचिवालयले प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटालाई उपलब्ध गराएको BAC २७३१ नम्बरको सवारी साधन दशैंलगत्तै कार्यालय खुलेको पहिलो दिन २०८२ असोज २१ गते मंगलबार संसद सचिवालयलाई फिर्ता गरिएको जानकारी गराउँछौं ।’ यसअघि पूर्व सभामुखद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीले पनि गाडी फिर्ता गरेका थिए ।