`

हराउँदै तिहारको मौलिकता, अंग्रेजी र हिन्दी गीतमा देउसी–भैलो

बागलुङ । तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ । यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ । यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसी भैलोमा झुमिरहेका छन् ।

गाउँ, टोल र छिमेक भैलीमय बनेको छ । तर देउसीभैलोको मौलिकता भने हरेक वर्ष हराउँदै गएको छ । एक सातादेखि बागलुङ बजारका चोकचोकमा देउसीभैलो खेल्नेहरूको भीड लागेको छ भने गाउँमा पनि उस्तै छ । भैलो खेल्दा गाउने गीत र नाचिने नाचमा अचेल कुनै मौलिकता भने देख्न पाइँदैन ।

तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । तर भैलो खेल्नेहरूले ती वाद्यवादनका सामग्री बजाउन जोडेका स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । पुराना सोरठी, मारुनी र कौरा नाच पनि देखाउने गरेको पाइँदैन । यानीमाया, सुनियामा र झ्याउरे गीत पनि सुनिदैन ।

पछिल्लो समय गाउँघरमा ‘रेकर्डेड’ पप, आधुनिक र र्‍याप गीतमा देउसीभैलो खेल्ने र नाच्ने प्रचलन बढेको निसीखोला गाउँपालिका–४ का थमबहादुर पुन मगरले बताए । तिहार पर्व र देउसीभौलोमा गाइँने मौलिक गीत लोप हुँदै जानुका साथै आधुनिकताले प्रभावित गरेको उनको भनाइ छ ।

‘पहिले देउसीमा नाचिने सोरठी, मारुनी नाच अहिले देख्न पनि छाडिसके । पप, र्‍याप र विदेशी भाषाका गीतमा नाच्ने उनीहरूको पहिरनमा मौलिक संस्कृति झल्कने त कुरै भएन । उनीहरूले आधा शरीर पनि नढाक्ने कपडा लगाएका हुन्छन् । केही त अझ परिवारसँगै भएर हेर्नसमेत नसकिने हुन्छन्’, मगरले भने ।

पश्चिमा संस्कृतिको प्रभावले देउसीभैलोको मौलिकता हराउँदै गएको उनको भनाइ छ । घर्तीमगरले मादल, बाँसुरी, खैँजडीलगायतका बाजाको माध्यमबाट कथाव्यथा प्रस्तुत हुने देउसीभैलोमा हिजोआज विकृति मिसिएको बताए ।

उनले भने, ‘हामीहरू मारुनी, सोरठी नाच्ने गथ्र्यौँ, अचेल हरेक वर्ष देउसीभैलोमा मौलिकता हराउँदै गएको छ, बजारमा गीत बजाएर नाचेर भैलो खेले पनि गाउँमा त्यो चलन आइसकेको थिएन, तर अहिले गाउँमा पनि भित्रिसक्यो’, उनले भने, ‘हाम्रा पालमा देउसीभैलोमा मादल, बाँसुरी, खैजडी बजाएर नाच्ने, मौलिक गीतहरू गाउने गरिन्थ्यो, अहिले ती गीत सुन्नै छाडियो, सायद अब सुनिदैनन् ।’

एक दशक अगाडिसम्म मौलिक गीत, बाजा र कपडा पहिरिएर देउसीभैलो खेले पनि अहिले दुर्गम गाउँबाहेक अरु ठाउँमा देख्न नपाइने बडिगाड गाउँपालिका–८ का प्रेमबहादुर काउचाले बताए । आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उनको भनाइ छ ।

तिहार पर्व र देउसीभैलोले नेपालीहरूको पहिचान बोकेको भन्दै पछिल्लो समय पहिचान गुम्ने खतरा बढेको उनले बताए । मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो नहुँदा पश्चिमा संस्कृति हाबी भएको काउचाको बुझाइ छ । स्थानीय तहले कला, संस्कृति संरक्षण अभियान सञ्चालन गरी युवा पुस्तामा हस्तान्तरण गरेमा मौलिक परम्परा जगर्ने हुने उनको भनाइ छ ।

उनले भने, ‘अहिले तिहारमा गीत गाउन पनि नपर्ने बजाउन पनि नपर्ने, साउण्ड सिस्टममा गीत बजायो नाच्यो, गीत पनि केके हुन् केके केही बुझिदैन । हामीहरू पुरानो संस्कृतिअनुसार देउसीभैलो खेल्थ्यौँ, बाउबाजेले हामीहरूलाई सिकाउनुभयो, उहाँहरूले सिकाएको संस्कार अहिलेसम्म रह्यो, अहिले हाम्रा कयौँ संस्कृतिहरू लोप भएका छन्, कयौँ लोप हुने अवस्थामा पुगेका छन् ।’ यस्ता कला, संस्कृति र मौलिकता संरक्षण सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।

नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल कला परिषदद्वारा आयोजित नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले भने, ‘लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेसाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । त्यसैले, प्राप्त अवसरको उपयोगगरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्छ ।’

उनले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवं गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणका लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीको ध्यान आकर्षित गर्न स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्नसके पर्यटकको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने धारणा राखे । उनले नेपालका कलाकृति तथा सांस्कृतिक सम्पदाको ख्याति विश्वभरि नै रहेको उल्लेख गर्दै नेपाली सभ्यताको परिसूचकका रूपमा रहेका कला र संस्कृतिले विश्वमा विशिष्ट स्थान ओगट्न सफल हुनु गौरवको विषय भएको बताए ।

नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले भने, ‘सदियौं पुराना कला, संस्कृति तथा सम्पदाहरूको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने दायित्व सरकार, निजी संस्थासहित हामी सबैको हो । यस परिवेशमा नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा आयोजित यो महोत्सव उद्घाटन गर्न पाउँदा म हर्षित भएको छु ।’ राष्ट्रपति पौडेलले सबैको सहकार्यले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशिला तयार हुने विश्वास व्यक्त गरे ।