`

पहिलो सगरमाथा आरोही दलका सदस्य कान्छा शेर्पाको अन्त्येष्टि

काठमाडौं । पहिलो सगरमाथा आरोहण दलको सदस्य कान्छा शेर्पाको आज टेकु दोभानस्थित चिन्तामणि घाटमा अन्त्येष्टि गरिएको छ । कपनस्थित निवासमा ९२ वर्ष उमेरमा निधन भएका शेर्पाको पार्थिव शरीरमा शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाउनुका साथै सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।

सन् १९५३ को सगरमाथा आरोहणमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखर आरोहण गर्दा उक्त आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा ८ हजार मिटरको उचाइमा पुगेका थिए । शेर्पा हालसम्म सो आरोहण दलको एक मात्र जीवित सदस्यका रूपमा रहेका थिए ।

सगरमाथा क्षेत्रमा फसेका एक हजार पर्वतारोहीको सकुशल उद्धार

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ राज्य मिडियाले जानकारी दिएको छ । हालका वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र बाहिरी खेलप्रेमीहरू यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गहरूमा पुगेका थिए ।

तर, सप्ताहन्तमा परेको तीव्र हिमपातले धेरै शिविरहरू पुरिँदा यात्रुहरू फस्न पुगेका थिए । त्यसपछि उद्धारकर्मीहरूले अग्निशामक, घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए । समाचार एजेन्सी सिन्ह्वाका अनुसार ५८० जना पर्वतारोही र ३०० भन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू सुरक्षित रूपमा नजिकैको बस्तीमा फर्किएका छन् । उद्धार टोलीहरूले लगभग एक दर्जन थप पर्वतारोहीहरूलाई आपूर्तिसहित नजिकैको बस्तीमा पुर्‍याएका छन् । सबैजना सुरक्षित रूपमा फर्किएपछि सगरमाथा नजिकको उद्धार अभियान औपचारिक रूपमा समाप्त भएको बताइएको छ ।

 

सगरमाथाको तिब्बती मोहडामा फसे सयौं पर्वतारोही र पदयात्री

काठमाडौं । सगरमाथाको दुर्गम तिब्बती स्लोपमा आएको हिमआँधीका कारण पहाडको पूर्वी भेगका शिविरहरूमा सयौं पर्वतारोही र पदयात्री फसेका छन् । जसको उद्धार प्रयास जारी रहेको बीबीसीले जनाएको छ ।

उक्त क्षेत्र समुद्र सतहबाट चार हजार ९०० मिटरभन्दा माथिको उचाइमा छ । त्यहाँ पुग्ने बाटोमा थुप्रिएको हिउँ हटाउन सयौं स्थानीय बासिन्दा र उद्धार टोलीहरूलाई परिचालन गरिएको छ । स्थानीय सञ्चार माध्यमहरूले करिब ३५० जनाको उद्धार गरी सुरक्षित रूपमा कुडाङ सानो बस्तीमा पुर्‍याइएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।

शुक्रबार साँझदेखि नै भारी हिमपात सुरु भएको थियो । यो क्षेत्र पर्वतारोही र पदयात्रीहरूका लागि लोकप्रिय मानिन्छ । कुडाङ पुग्न सफल भएका पदयात्रा समूहका चेन गेसुआङले रोयटर्सलाई भने, ‘मौसम अत्यन्त चिसो र भिजेको थियो, हाइपोथर्मियाको खतरा थियो ।’

चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार, तिब्बतको ब्लू स्काई उद्धार टोलीले भारी हिमपातका कारण पालहरू भत्किएको र केही पदयात्रीहरूमा हाइपोथर्मियाका लक्षण देखिएको भन्दै सहयोगका लागि अनुरोध प्राप्त गरेको जनाएको छ । रोयटर्सका अनुसार, टिङ्री काउन्टी पर्यटन कम्पनीले शनिबारदेखि एभरेस्ट रमणीय क्षेत्रको टिकट बिक्री र प्रवेशमा अस्थायी रूपमा रोक लगाएको छ ।