`

राति यात्रा नगर्न सडक विभागको अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ ।

वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद प्रतिधार्य कार्यका निम्ति तयार रहन आह्वान गरेको छ ।

साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दशैंमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग

काठमाडौं । सडक विभागले दशैँमा काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो ।

यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरू ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्न बाध्य भएका थिए । विभागका प्रवक्ता प्रभातकुमार झाले अब ठूलो वर्षा नभए समस्या नआउने विश्वास व्यक्त गरे । ‘दशैँका लागि यात्रु बाहिरिने क्रम सुरु हुनासाथ पहिरोका कारण पृथ्वी, अरनिलगायत मुख्य राजमार्ग नै पूर्ण रूपमा अवरुद्ध भए ।

यात्रुहरूले धेरै सास्ती भोग्नुपर्‍यो, तर हामीले २४ घण्टा नै खटिएर पहिरो पन्छाउने काम गर्‍यौँ । हाल बाटो सहज भइसकेको छ’, उनले भने । हाल चार राजमार्ग पूर्ण रूपमा र एक सय ७१ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् । यस बाहेक ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग अवरुद्ध हुँदा स्याउपार्किङ, रसुवागढीमा यातायात ठप्प छ ।

विभागका अनुसार हाल एक्साभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ । गत साउन १४ गते चीनबाट बाढी आएको र नदीले सडक कटान गरेको कारण उक्त राजमार्ग अवरुद्ध भएको हो ।

यसैगरी चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) राजमार्गअन्तर्गत ताप्लेजुङको फक्ताङलुङ वडा नं ५ र ६ जोड्ने रानीपुल बेलीब्रिज पनि पूर्ण रूपमा अवरुद्ध भएको विभागको तथ्यांकमा उल्लेख छ । रेमिट हाइड्रोबाट पुनः बेलीब्रिज निर्माणका लागि पहल भएको विभागले जानकारी दिएको छ ।

करिब पाँच वर्ष पहिले रेमिट हाइड्रोबाट तमोर नदीमा निर्मित रानीपुल बेलीब्रिज गत साउन ६ गतेको बाढीले बगाएको थियो । ठोरी, भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत रसुवाको तातोपानी र टिमुरे पनि पूर्ण रूपमा अवरुद्ध रहेको विभागले जनाएको छ । रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) अन्तर्गत सङ्खुवासभाको अल्फटेमा यातायात अवरुद्ध रहेको छ । रासस

सडक विभाग ललितपुर सारिँदै, के छ ‘डेटा’ को अवस्था ?

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मंगलबार बबरमहलस्थित सडक विभागमा आगलागी भएपछि ललितपुरको चाकुपाटबाट काम कारबाही अघि बढाउने गरी तयारी भएको छ । बबरमहलमा रहेको विभागबाट नियमित काम कारबाही गर्न भने नमिल्ने भएपछि चाकुपाट सार्न लागिएको हो ।

आगलागीबाट भवन र भित्रका संरचना ध्वस्त भएको विभागले जनाएको छ । २०७२ सालको भूकम्पअघि विभाग बरबमहलमै थियो । भूकम्पले क्षति गरेपछि विभाग ललितपुरको चाकुपाट सारिएको थियो । पछि ‘रेक्ट्रो फिट’ गरी भवन तयार पारेर दुई वर्षअघि पुनः चाकुपाटबाट बबरमहलमै विभाग सारिएको थियो । यति बेला आगलागीबाट भवनमा क्षति पुगेकाले पुनः चाकुपाट नै सार्ने तयारी गरिएको विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।

१२० वर्ष पुरानो बबरमहल जेनजी प्रदर्शनका क्रममा आगजनीले ध्वस्त भएको छ । बबरमहलमा ३०० कोठा थिए । चन्द्रशमशेरका छोरा बबर शमशेरको आवास भएकाले भवन र ठाउँको नाम बबरमहल राखिएको थियो । ‘अहिले विभाग भएको भवन मर्मत सम्भार गरेर पनि चलाउन सक्ने अवस्थामा छैन,’ उनले भने, ‘भवन ध्वस्त बनेको छ, पहिला जस्तो मर्मत गरेर चल्ने अवस्था छैन ।’ बबरमहलको भवनभित्र ५ वटा महाशाखा र हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका कार्यालय थिए । अब सबै कार्यालय अन्यत्र सार्नुपर्ने भएको छ ।

पहिला सडक विभाग रहेको चाकुपाटमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयको कार्यालय छ । यही कार्यालय र यसैको आडमा रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रमा विभाग सार्ने योजनामा रहेको महानिर्देशक जैसीले बताए । पहिला धेरैजसो आयोजना कार्यालय भाडाका घरबाट सञ्चालन गरिएको थियो । ‘अहिले भइरहेको ठाउँबाट विभाग र मातहतका आयोजना कार्यालय अटाउन मुस्किल छ । तैपनि दुःखसुख ६ महिना चलाउने सोचमा छौं,’ उनले भने, ‘६ महिनापछि मीनभवनमा निर्माण भइरहेको नयाँ भवनमा सर्छौं, त्यहीँबाट काम कारबाही अघि बढाउँछौं ।’ उक्त भवनको निर्माण अन्तिम चरणमा रहेको जैसीले बताए ।

भौतिक पूर्वाधार मन्त्रालयबाट ५६ डिईहरुको सरुवा (सूचीसहित)

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले सडक विभागका सिभिल र हाइवे समूहका ५६ उपसचिव तहका इन्जिनियरहरुको सरुवा सूची सार्वजनिक गरेको छ । मन्त्रालयले आज एकै पटक ठूलो संख्यामा डिईहरुको सरुवा गरेको हो ।
हेर्नुस् सरुवा सूची