`

जनमत छाडेका पूर्व मुख्यमन्त्री सिंहलाई एमालेको टिकट

काठमाडौं । अघिल्लो निर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीबाट विजयी हुँदै मधेस प्रदेशको मुख्यमन्त्री बनेका सतिशकुमार सिंह आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएका छन् । एमालेले सिंहलाई सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । शनिबार बसेको एमाले सचिवालय बैठकले सिंहलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । पछिल्लो समय जनमत पार्टीभित्र आन्तरिक असमझदारी बढेपछि अध्यक्ष सीके राउतसँग असन्तुष्ट बनेका सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिँदै जनमत पार्टी समेत परित्याग गरेका थिए ।

त्यसपछि उनी एमालेसँग नजिकिँदै आएका थिए । २०७९ सालको निर्वाचनमा सिंह जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले १६ हजार ७ सय ३४ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने उनका प्रतिष्पर्धी जसपाका शैलेन्द्रप्रसाद साहले ८ हजार २ सय ९२ मतमा सीमित भएका थिए ।

सिंहको यही चुनावी आधारलाई ध्यानमा राख्दै एमालेले संघीय तहमा उम्मेदवार बनाउने रणनीति अपनाएको बुझिन्छ । अघिल्लो निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै संसद् प्रवेश गरेका थिए । तर यस पटक एमालेले सोही क्षेत्रमा राउतलाई चुनौती दिने गरी सिंहलाई अघि सारेको हो । एमालेको यो निर्णयसँगै सप्तरी–२ को राजनीतिक समीकरण फेरिने देखिएको छ ।

एकातिर जनमत पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका सिंह, अर्कातिर अघिल्लो पटक विजयी राउत—यी दुईबीचको सम्भावित प्रतिष्पर्धाले मधेसको राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ । यद्यपि, राउत आगामी निर्वाचनमा कुन क्षेत्रबाट उम्मेदवार बन्ने हुन् भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन । राजनीतिक विश्लेषकहरूका अनुसार सिंहको उम्मेदवारीले एमालेले मधेसमा आफ्नो संगठन विस्तार र प्रभाव बढाउने रणनीतिलाई स्पष्ट संकेत गरेको छ । अब आगामी निर्वाचनमा सप्तरी–२ मधेसको सबैभन्दा चासोको केन्द्र बन्ने निश्चित देखिन्छ ।