`

रुट परमिट खुल्यो, तर यात्रुलाई टिकट पाउनै सकस

काठमाडौं । आजदेखि यात्रुवाहक सार्वजनिक सवारी साधनमा रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालन गर्न देशभर रुट परमिट खुला गरिएको हो । रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने उनले बताइ ।

तर, दसैँको अवसरमा अग्रिम टिकट बुकिङ खुलाको घोषणा नगरी व्यवसायीले मनोमानी टिकट काट्न थालेपछि यात्रुहरू अलपत्र पर्न थालेका छन् । बसपार्कमा अग्रिम टिकट नपाउँदा दसैँमा घर जाने तयारी गरेकाहरू अन्योलमा परेका हुन् । दसैँ मनाउन घर फर्किनेहरूको चहलपहल बसपार्क तथा सार्वजनिक यातायातमा बढेको त छ तर अग्रिम टिकट बुकिङको सही व्यवस्थापन नहुँदा सर्वसाधारणले टिकट पाउन सकेका छैनन् ।

गोंगबु नयाँ बसपार्कमा असोज १२ गतेसम्मको अग्रिम टिकटहरू अधिकांश ‘बुक’ भइसकेका छन् । आइतबार बसपार्कबाट अग्रिम टिकट ‘बुक’ गरिएन । दसैँका अवसरमा तराई र सुगमका जिल्लामा भन्दा पहाडी जिल्लामा बसको टिकट नपाइने समस्या हुँदै आएको छ ।