काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका सबै ठूला फाइलका अनुसन्धान अघि बढाउन सीआइबीलाई निर्देशन दिएका छन् । शुक्रबार सीआईबीको केन्द्रिय कार्यालय लैनचौर पुगेर गृहमन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन् । सीआईबीलाई कुनै पनि राजनीतिक दबाब र प्रभावमा नपरी काम गर्न र राजनीतिक दबाबमा यस अघि रोकिएको फाइल अनुसन्धान अघि बढाउन गृहमन्त्री अर्यालले निर्देशन दिएको गृह मन्त्रालय स्रोतले जानकारीदियो।
‘गृहमन्त्री अर्याल आज बिहान अनुगमनका लागि सीआईबी पुग्नु भएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘कुनै पनि दबाब महसुस नगरी काम गर्न र यस अघि राजनीतिक दबाबका कारण रोकिएका कुनै फाइल तथा अनुसन्धान छ भने त्यसलाई अघि बढाउन निर्देशन दिनुभयो ।’ गृहमन्त्रीको निरीक्षण तथा अनुगमनमा प्रहरी महानिरीक्षक कुवेरचन्द्र खापुङ, सीआईबी प्रमुख एआईजी डा.मनोज केसी लगायतका अधिकारीहरू सहभागी थिए । गृह मन्त्रालयको जिम्मेवारीमा अर्याल आए लगत्तै एआईजी मनोज केसीको सीआईबीमा सरुवा भएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको म्यान्डेड नै सुशासन भएको बताएका छन् । सुशासन नभएकै कारण यसअघिका सरकारको म्यान्डेन्ड बीचमै भंग भएको बताउँदै उनले सुशासन नभए शान्ति सुरक्षा पनि नहुने बताए ।
उनले राजनीतिक सम्बन्धका आधारमा विगतमा भएका गल्तीहरू सच्याएर अघि बढ्नुपर्ने बताएका छन् । सरकार मुख्य दायित्व भनेको चुनाव गराउने नै भएको बताउँदै मन्त्री अर्यालले भने, ‘सरकारको म्यान्डेन्ड सुशासन हो । सुशासन भएन भने शान्ति सुरक्षा हुँदैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र चुनाव पनि हुँदैन । त्यसैले सुशासन त हामीले दिनैपर्छ ।’
उनले कुनै एउटा विषयमा मात्रै आफूले निर्देशन नदिने भन्दै सबै बिषय बुझेर मात्रै निर्णय गर्ने बताए । उनले अगाडि कसरी बढ्ने भन्ने विषयमा आफूले अपडेटहरू लिइरहेको समेत बताए । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान के हुन्छ ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै अनुसन्धान अघि बढ्ने बताएका हुन् ।
हाल सीआईबी प्रमुखमा एआईजी मनोज केसी छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई सीआईबीमा सरुवा गरेको थियो । एआईजी केसी तिनै प्रहरी अधिकारी हुन्, जसले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा भुटानी शरणार्थीको फाइल खोलेका थिए । एसएसपी हुँदा केसीलाई २०७९ पुस २८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा दिइएको थियो । बालकृष्ण खाँण २०७८ असार २९ गते गृहमन्त्री भएका थिए । उनी गृहमन्त्री बनेपछि त्यति बेला एसएसपी रहेका वसन्त कुँवर (तत्कालीन आइजिपी) लाई २०७८ पुस २२ गते अपराध अनुसन्धान कार्यालयको प्रमुख बनाइएको थियो ।
कुँवर २०७९ असार १७ गतेसम्म कार्यालय प्रमुख रहेका थिए । भुटानी शरणार्थीका रूपमा अमेरिका लैजाने आश्वासन दिएर आफूहरूसँग करोडौं पैसा ठगी गरेको भन्दै २०७९ जेठ १८ गते कार्यालयमा ८१ जनाले उजुरी दिएका थिए । दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ८१ जनाका तर्फबाट उजुरी दर्ता गराएका थिए । तर, कुँवरले आफू कार्यालय प्रमुख भए पनि अनुसन्धानमा चासो देखाएका थिएनन् । २०७९ जेठ २८ गते काठमाडौं जिल्ला अदालतबाट दुलाल र गुरूङविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ गरे पनि उनीहरूलाई छाडिएको थियो ।
त्यसबीच डिआइजी बढुवा निस्किँदा कुँवर एक नम्बरमा परे । उनको बढुवापछि अपराध अनुसन्धान कार्यालयमा असार २२ गते जनक भट्टराई प्रमुख भएका थिए । पुस २८ गते उनको सरूवा भयो। उनको कार्यकालमा भुटानी शरणार्थीको अनुसन्धान नै भएन । मनोज केसीलाई कार्यालय प्रमुख बनाएपछि भने नक्कली भुटानी शरणार्थीको अनुसन्धान अघि बढ्यो ।
वसन्त कुँवरले आइजीपीको शपथ लिनुअघि नै चैत १२ गत बिहानै तत्कालीन समयमा एसएसपी केसीले यस घटनाका तीन जना मुख्य आरोपीलाई पक्राउ गरेका थिए । केशव दुलाल, टंक गुरूङ र सानु भण्डारीलाई पक्राउ गरिएको थियो ।
त्यसपछि अनुसन्धान क्रममा पूर्व गृहमन्त्री खाँण, पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायतको नाम जोडिएको थियो । उनीहरू समेत पक्राउ परेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई केसीको सरूवा गर्ने दबाब परेको थियो । कांग्रेसको समर्थनमा बनेको सरकारमा रहेकाले दबाब भएपछि केसीलाई २०८० भदौ ४ गते सरूवा गरिएको थियो ।
मनोज केसीको २०८१ जेठ ४ गते डिआइजीमा बढुवा भएको थियो । डिआइजीमा बढुवा भएपछि केसीलाई विशेष ब्युरोमा पदस्थापन गरिएको थियो । विशेष ब्युरोमा कार्यरत रहँदा २०८१ असार १४ गते उनले त्यही नक्कली भुटानी शरणार्थीमा संलग्न बेचन झा र पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पक्राउ गरे ।
उक्त घटनापछि थप सशंकित भएको कांग्रेसले केसीलाई दुई महिना नबित्दै विशेष ब्युरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाएको थियो । यसरी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेकै कारण पटक–पटक सरुवामा परेका एआईजी केसी अहिले सीआईबी प्रमुख छन् भने अहिलेको सरकार पनि गैरराजनीतिक भएकाले उनलाई अनुसन्धान गर्न सहज हुने देखिन्छ ।