`

जेनजी विद्रोह विदेशीको कारणले भएको भन्नु लाज पनि लजाउने अभिव्यक्ति : सुदन किराती

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले नभई नेतृत्वमा रहेका नेताहरूका कारणले भएको दावी गरेका छन् । आज (आइतबार) प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । जेनजी विद्रोह विदेशीको कारणले भएको भन्नु लाज पनि लजाउने अभिव्यक्ति भएको उनले बताए ।

उनले भने, ‘उहाँहरु जेनजी विद्रोह विदेशीको कारणले हो भनेर अझै पनि भन्नु हुन्छ । लाज पनि लजाउने गरी अभिव्यक्ति दिइरहनु भएको छ । हाम्रो पार्टी सम्पूर्ण रुपले खारेज गर्दछ त्यसलाई । आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? २० वर्षदेखि राज्यसत्तामा को छ एकलौटी ? केही मानिसहरू म्युजिकल चियर खेलेर देशलाई कंगाल बनाएर बसेका छन् । देशको स्वाधीनतालाई कमजोर बनाएर बसेका छन् । अनि विदेशीलाई दोष लगाउने ?’
आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ रु नेता किरातीको प्रश्न छ । वर्षैदेखि राज्यसत्ताको दोहन गरी देशलाई कंगाल बनाउने काम गरेर अरुलाई दोष लगाउने काम नगर्न समेत चेतावनी दिए ।

यदुवंशी रोजेनौं, कृष्ण जस्ता बाबुराम, जनार्दन रोज्यौं : सुदन किराँती

काठमाडौं । नव घोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले आफूहरुले यदुवंशीको ठाउँमा कृष्णहरू रोजेको बताएका छन् । आज (आइतबार) पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णका रुपमा बाबुराम भट्टराई, जनार्दन शर्मा जस्ता नेताहरू रोजेको उल्लेख गरे । ‘हामीले यदुुवंश सेना रोजेनौँ, रोज्यौं त केवल बाबुराम भट्टराई जस्तो । रोज्यौं त केवल जनार्दन शर्मा जस्तो । हामीले रोज्यौं त केवल रामकार्की जस्तो । ओजस्वी भट्टराई जस्तो,’ किराँतीले भने, ‘हामीले कृष्ण रोजेका छौं ।’

‘हामी यो न्यायपूर्ण लडाइँमा हार्ने छैनौँ, जित्ने छौं । यही आत्मविश्वासका साथ कृष्ण रोजेका हौँ,’ उनले भने । कम्युनिष्ट पार्टी छोडेकोबारे आफूूहरुलाई प्रश्न गरिएको भन्दै किराँतीले खोल छोडेर आफूहरूले गुदी बोकेको दावी गरेका छन् । ‘हामीले खोल चाहिँ उतै छोडिदिएको हो, गुदी बोकेर आएका छौँ,’ उनले भने, ‘जहिले पनि खोल बोकिराख्नु पर्ने । सबैखाले असमानतालाई अन्त्य गर्छु भन्ने, असमानता गरिराख्ने । अब त्यस्तो कम्युनिस्ट पार्टी चल्दैन ।’

नेता किरातीले जेनजी पुस्ताले नबोलेरै दिएको सन्देश रूपान्तरण र पुस्तान्तरणको आवश्यकता भएको बताएका छन् । उनले जेनजीहरूको मौन सन्देशलाई ठूला दलहरूले बेवास्ता गरेको दाबी गरे । उनका अनुसार, युवा पुस्ताले मागेको परिवर्तन बुझ्न नसकेकाले पुरानै ढर्राका राजनीति दोहोरिन पुगेका छन् । किरातीले भने, ‘आज ठूला दलहरूले जेनजीहरूले दिएको सन्देशलाई ओझेलमा पार्दै वृद्धाश्रम खोल्नु भएको छ, उहाँहरूलाई सम्मान छ तर आजको आवश्यकता उहाँहरूले बुझ्न सक्नु भएन, त्यसैले हामीले यो बाटो लियौं ।’ उनले जनताको सेवा र समस्या समाधानमुखी राजनीति नै आफ्नो लक्ष्य भएको उल्लेख गर्दै थपे, ‘हामीलाई नाङलो पसल खोल्नु छैन । जनताको सेवा गर्दै समस्या समाधान गर्ने विचार विधिसहितको शक्ति निर्णय गर्न खोजेका छौँ ।’