`

सुदूरपश्चिम सरकारले विपिनको परिवारलाई २ लाख सहयोग गर्ने

धनगढी । हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रुपैंया आर्थिक सहयोग गर्ने भएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानविय सहायता स्वरुप दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने बताए ।

२३ असोज २०८० मा बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदले हमासको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिमका परिवारलाई जनही २/२ लाख रुपैयाँका दरले आर्थिक सहायता गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम प्रदेश सरकारले मृतक ७ जनाका परिवारलाई सहयोग बापतको चेक हस्तान्तरण गरेको थियो ।

सो समयमा विपीन जोशीको अवस्था अज्ञात रहेको थियो । गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए । सन् २०२३ अक्टोबर ७ मा सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्न अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका मध्ये १० जना नेपाली विद्यार्थीको इजरायलमा हमासको आक्रमणमा परि मृत्यु भएको थियो ।

मुख्यमन्त्री शाहले स्वर्गीय विपिन जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनमा हार्दिक सवेदना व्यक्त गरेका छन् । इजरायलबाट काठमाडौं ल्याइएको शव नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याउने तयारी छ । धनगढीबाट सेनाले नै उनको घरसम्म शव पुगाउने व्यवस्था मिलाएको छ ।