`

सकिएन महराविरुद्धको थुनछेक बहस, हिरासत नै फर्काइयो

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध आज चलेको थुनछेक बहस भोलि पनि जारी रहने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा सुरुमा बकपत्र र त्यसपछि बहस चलेको थियो । तर, बहस नसकिएपछि उनलाई हिरासतमै फर्काइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरेको थियो । सोमबार अभियोगपत्रसाथ प्रहरीले एकै पटक अदालतमा बुझाइएको थियो । महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ । उनलाई यसअघि २०८० चैत ५ गते पनि कागज गराएको थियो । ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप) मा सुन ल्याएको पाइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याएको सुन भन्सारकै कर्मचारीले लगेका थिए । भन्सारले सुरुमा नियन्त्रणमा लिएपछि छुटाउनलाई चिनियाँसँग महरा बाबु–छोराको मिलेमतो देखिएको प्रहरीले जनाएको छ । यो प्रकरणमा भन्सारका कर्मचारीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको छ । चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको मिलेमतो देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा महरालाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए ।

 

महराको थुनछेक वहस न्यायाधीश क्षेत्रीको इजलासमा

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध आज (मंगलबार) थुनछेक बहस हुँदैछ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा सुरुमा बकपत्र र त्यसपछि बहस हुनेछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरेको थियो । सोमबार अभियोगपत्र साथ प्रहरीले एकै पटक अदालतमा बुझाइएको हो ।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ । उनलाई यसअघि २०८० चैत ५ गते पनि कागज गराएको थियो । त्यतिबेलै धेरै विषय आइसकेको र थप प्रमाण प्रहरीले जुटाउन बाँकी नरहेकाले अभियोग पत्र तयार गरेर भोलिपल्टै लगिएको हो ।
०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप) मा सुन ल्याएको पाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याएको सुन भन्सारकै कर्मचारीले लगेका थिए ।

भन्सारले सुरुमा नियन्त्रणमा लिएपछि छुटाउनलाई चिनियाँसँग महरा बाबुछोराको मिलेमतो देखिएको प्रहरीले जनाएको छ । यो प्रकरणमा भन्सारका कर्मचारीविरुद्ध यसअघि नै मुद्दा दर्ता भइसकेको छ । चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको मिलेमतो देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा महरालाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए ।

 

सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान थालियो

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान थालेको छ ।

यही प्रकरणमा पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । सुन तस्करी प्रकरणमा रोल्पाको राङ्सी घर भएका पूर्व उपराष्ट्रपति पुन पनि विवादमा मुछिएकाले उनीमाथि पनि अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले जनाए।

दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी हुम्लाबासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए । त्यसपछि हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो । सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो ।
पूर्व उपराष्ट्रपति पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी प्रकरण, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएपछि फरार रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

२०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दिपेश मुछिएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ समेत परेका दिपेश हाजिरी जमानीमा छुटेका थिए । हाल उनी भारतमा रहेको सूचना रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

यस्तै तत्कालीन उपराष्ट्रपति पुनको सचिवालयमा ‘वैदेशिक मामिला विज्ञ’ पदको नियुक्ति लिएका जीवनकुमार गुरुङ समेत सुन तस्करी प्रकरणमा २०८० साल फागुनमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।

यसैगरी पुनको आफन्त अमला रोका समेत सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । ठमेलको ‘होटल भियना’समेत सञ्चालन गरेकी रोका गत असारमा दुई लाख धरौटीमा रिहा भएकी थिइन् ।