`

पूर्व सभामुख महरामाथि आज थुनछेक बहस

काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा आज (मंगलबार) पूर्व सभामुख कृष्णबहादुर महरामाथि थुनछेक बहस हुँदैछ । बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्नेछ ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा महरालाई सीआईबीले आइतबार पक्राउ गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध आठ करोड ५५ लाख रूपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय मागदाबीसहित मुद्दा दर्ता गरेको छ । महरामाथि विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

यो प्रकरणमा उनका छोरा राहुल महरासहित अन्य व्यक्तिहरू पनि अभियोगित छन् । भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, कृष्ण बहादुर महराका छोरा राहुल र नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो । पूर्व सभामुख महरा संलग्न रहेको भनिएको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।