`

सुमन सायमी नेकपामा समाहित, प्रचण्ड-माधवले गरे स्वागत

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का संयोजक सुमन सायमी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन् । बुधवार काठमाडौँमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई पार्टीमा स्वागत गरेका हुन् । सायमी चर्चित गुठी आन्दोलनको नेता हुन् । त्यसैगरी उनले काठमाडौँमा विभिन्न खालका सामाजिक जागरण अभियानको पनि नेतृत्व गर्दै आएका हुन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढ्ने सङ्कल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ । सायमी अघिल्लो पटक काठमाडौं– ८ बाट चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । सो क्षेत्रमा रास्वपाका विराजभक्त श्रेष्ठ १० हजार मत ल्याएर विजयी हुँदा सायमीले झण्डै ६ हजार मत ल्याएका थिए ।

उनले स्थानीय तह निर्वाचनमा पनि काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । त्यसक्रममा सायमीले १३ हजारभन्दा बढी मत ल्याएका थिए । यस पटक पनि सायमी काठमाडौं– ८ बाट चुनावी प्रतिष्पर्धामा उत्रिने तयारी रहेको नेकपा स्रोतले जानकारी दियो । हेर्नुस्, पार्टी समायोजनसम्बन्धी सहमति

 

 

 

 

 

सुमन सायमी नेकपामा प्रवेश, काठमाडौं–८ बाट चुनावी तयारी

काठमाडौं । काठमाडौंका रैथाने समुदायमा परिचित नेता सुमन सायमी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् । सायमीसहित केही नेताहरू नेकपामा प्रवेश गर्न लागेका हुन् । पार्टी एकताको औपचारिक कार्यक्रम भोलि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिएको छ ।

सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको पुष्टि गर्दै भने, ‘भोलि एकता हुँदैछ ।’ आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उनी नेकपाबाट काठमाडौं क्षेत्र नम्बर–८ मा उम्मेदवार बन्ने तयारीमा छन् । निर्वाचनको केही समयअघि पार्टी एकता गरेर चुनावी मैदानमा उत्रिने उनको रणनीति देखिन्छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए । चुनावपछि उनी स्वतन्त्र तथा वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत गर्ने अभियानमा सक्रिय रहे ।

त्यसैगरी, २०७९ कै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सायमीले काठमाडौं क्षेत्र नम्बर–८ बाट प्रतिष्पर्धा गरेका थिए । उक्त निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए । सो चुनावमा सायमीले ६ हजार १७९ मत पाएका थिए । पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध थिए ।

सो पार्टीमा उनी वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए । तर, आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उनले नेकपासँग सहकार्य र एकताको बाटो रोजेका हुन् । ५२ वर्षीय सायमी काठमाडौंको कालीमाटी निवासी हुन् । स्थानीय मुद्दा, रैथाने पहिचान र शहरी सरोकारका विषयमा मुखर रूपमा बोल्दै आएका सायमी काठमाडौंका मतदातामाझ परिचित र चर्चित नेताका रूपमा चिनिन्छन् । नेकपामा उनको प्रवेशले काठमाडौं–८ को चुनावी समीकरण थप रोचक बन्ने देखिएको छ ।