काठमाडौं । बर्खाले बिग्रिएका देशका मुख्य राजमार्गहरु समयमा मर्मत–सम्भार नहुँदा अहिले दशैं मनाउन गाउँ फर्किनेहरुले सास्ती पाइरहेका छन् । संघीय राजधानी काठमाडौंलाई जोड्ने मुख्य ‘लाइफलाइन’ मानिएको नारायणगढ–मुग्लिन सडक पटक–पटक अवरुद्ध हुँदा दशैं मनाउन घर फकिइरहेका सर्वसाधरणले दुःख पाइरहेका छन् ।
प्रमुख राजमार्गहरु बाढी–पहिरोका कारण अवरुद्ध भइरहेको यहि बेला हवाई भाडा समेत बढेको छ । दशैंको मुखमै हवाईभाडा उच्च दरले वृद्धि हुँदा यात्रु थप मर्कामा परेका छन् । भाडा वृद्धि मात्र होइन, विगतका वर्षहरूमाझैं यस वर्ष पनि दशैंअघि राजधानी बाहिर जाने टिकट पाउन सहज नभएको यात्रुहरुको गुनासो छ ।
हवाई सेवा प्रदायक कम्पनीहरूका अनुसार दशैंअघि राजधानीबाट बाहिर जाने ७५ प्रतिशत टिकट बिक्री भईसकेका छन् । बाँकी टिकट पनि घटस्थापनाको दिनसम्ममा बिक्री भइसकेको अनुमान छ । एयरलाइन्सका कर्मचारीहरूका अनुसार दशैंको घटस्थापनापछिका काठमाडौं बाहिर उड्ने सबैजसो रुटको टिकटमध्ये ९० प्रतिशत बुक भइसकेको छ । खास गरी काठमाडौंबाट विराटनगर, भद्रपुर, तुम्लिङटार, सिमरा, भरतपुरलगायतका गन्तव्यको सिट बुक भइसकेको छ ।
सडकको समस्याका कारण हवाई यात्रा गर्नुपर्ने वाध्यताको मौका पोप्दै एयललाइन्सहरूले यात्रुहरुसँग अधिकतम भाडा असुल्न थालेको यात्रुहरु बताउँछन् । नागरिक उड्ययन प्राधिकरणले तोकेको अधिकतम भाडादर सीमा तोड्दै हवाई सेवा सञ्चालकहरूले महँगो दरमा टिकट बेचिरहेको अनलाइन विवरणहरूमा देखिएका छन् । एयलाइन्सहरूले अनलाइनमा राखेको भाडादरअनुसार धनगढी जानलाई मात्रै एक जनाले १७ हजार रुपैयाँ खर्चिनुपर्ने भएको छ । जबकी प्राधिकरणले धनगढीको टिकट अधिकतम १४ हजार ९६७ रुपैयाँ निर्धारण गरेको छ ।
प्राधिकरणले विराटनगरको उडानको लागि अधिकतम भाडादर ८ हजार १३७ रुपैयाँ तोकेको छ । तर एयरलाइन्सहरूले साढे ९ हजार रुपैयाँसम्म लिन थालेका छन् । त्यस्तै प्राधिकरणले भैरहवाको लागि अधिकतम भाडादर ९,६६७ रुपैयाँ, पोखराको लागि ५,३७७ रुपैयाँ, भद्रपुरको लागि १० हजार १७४ रुपैयाँ, जनकपुरको लागि ४,३५९ रुपैयाँ, सिमराको लागि तीन हजार ५२ रुपैयाँ, भरतपुरको लागि ३,६३३ रुपैयाँ निर्धारण गरेको छ । एयलाइन्सका कर्मचारीहरू भने प्राधिकरणले स्वीकृत गरेको भाडादर अनुसार नै एयरलाइन्सहरूले हवाई भाडाको अधिकतम सीमा र न्यूनतम सीमाअनुसार नै भाडा लिने गरेको दावी गरेका छन् । दशैं–तिहारको समयमा एयलाइन्सहरूमा एकतर्फी लोड पर्ने र आउँदा रित्तो फर्किनु पर्ने भएको हुँदा एयरलाइन्सहरूले दुवैतर्फको भाडा उठ्ने गरेर निर्धारण गरेको उनीहरु बताउँछन् ।
नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल प्राधिकरणले तोकेको अधिकतम भाडादर भन्दा महँगोमा टिकट बेच्न नपाइने बताउँछन् । त्यस्तै, एयरलाइन्सहरूले केही टिकट अधिकतम दरमा बेच्न पाइने भए पनि सबै टिकट अधिकतम दरमा बेच्नु गलत रहेको उनको भनाई छ । सूचना अधिकारी भुलले चाडवाडमा पैसा कमाउने उद्देश्य मात्र नराखी मानवीय पक्षको पनि ख्याल गर्न आग्रह गरे ।
काठमाडौं–विराटनगरका लागि तोकेको प्रतियात्रु एकतर्फी भाडादर ७,१०४ रुपैयाँ हो । यस रुटमा एयरलाईन्सहरुले कुनै बेला ३५ सय रुपैयाँसम्ममा पनि टिकट बेच्ने गरेका छन् भने दशैंको अवधिमा भने ७,१०४ रुपैयाँ भन्दा बढी लिने गरेको पाइन्छ । ठूला पर्वको बेला हवाईभाडमा एयरलाइन्सहरूले अधिकतम भाडादर तोक्दा सहज सडक यातायातको व्यवस्था नभएका क्षेत्रहरूका यात्रुले बढी आर्थिक भार खेप्नु परेको छ ।
त्यस्ता ठाउँका यात्रुहरूले एयरलाइन्स कम्पनीहरूले नै तोकेको भन्दा पनि बढी भाडा तिर्नुपर्ने बाध्यता छ । यात्रुहरूको चाप र बाध्यतालाई बुझेका एयरलाइन्स कम्पनीहरूले दशैंलाई कमाउने मौकाको रुपमा उपयोग गर्दै फूल भाडादरमा एकपैसा पनि नघट्ने गरी एउटै भाडादर सबैले कार्यान्वयन गराउने सहमति गरेका छन् ।
एयरलाइन्स एशोसिएसन अफ नेपालले तय गरेको भाडादरलाई प्राधिकरणले समेत स्वीकृत दिएको छ । उनीहरूले दशैं सुरु (घटस्थापना) को दिनदेखि पछिको काठमाडौंबाट विभिन्न गन्तव्यमा हुने उडानका लागि महंगो भाडादर कायम गरी त्यसको सूची नै सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय उडानको भाडादर भने सरकारको नियमनभित्र पर्दैन । अन्तर्राष्ट्रिय भाडादरको निर्धारण माग र आपूर्तिको आधारमा बजारले नै गर्छ । तर आन्तरिक उडानका भाडादर निर्धारणमा भने प्राधिकरण पनि संलग्न हुने गरेको छ ।
ईसेवा अनुसारको भाडादर
नेपालमा अहिले कति विमानस्थल छन् सञ्चालनमा ?
नेपालभर हाल तीन क्षेत्रीय अन्तर्राष्ट्रियसहित ५३ विमानस्थल छन् । तर निर्माण भएकामध्ये ३३ विमानस्थल सञ्चालनमा छैनन् । औंलामा गन्न सकिने बाहेक सञ्चालनमा रहेका भनिएका विमानस्थलको पनि पूर्ण क्षमता उपयोग हुन सकेको छैन। अहिले नेपालमा त्रिभुवन, पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा छन् ।
आन्तरिकतर्फ भद्रपुर, नेपालगञ्ज, विराटनगर, भरतपुर, जनकपुर, लुक्ला, सिमरा, सुर्खेत, धनगढी, जोमसोम, सिमकोट, तुम्लिङटार, जुम्ला, डोल्पा, बाजुरा, रामेछाप, भोजपुर, फाप्लु, रारा, रुकुम, सल्ले, रुम्जाटार, सुकेटार, खानीडाँडा, राजविराज, साँफेबगर, दाङ, थामखर्क, बझाङ, डोटी र बैतडी विमानस्थल मात्रै सञ्चालनमा छन् ।
बाँकी २० वटा विमानस्थल भने सञ्चालनमा छैनन् । बलेवा, सुकिलुम्बा, दार्चुला, ढोरपाटन, मेघौली, फाल्गुनन्द, रुकुम, मनाङ, पालुङटार, रेसुङ्गा, जिरी, खिजी चण्डेश्वरी, लाङटाङ, महेन्द्रनगर, मसिनेचौर, रोल्पा, स्याङबोचे, टिकापुर, कालीकोट र काङ्गेलडाँडा विमानस्थल सञ्चालनमा छैनन् ।