`

‘हाम्रो पार्टी नेपाल’ औपचारिक घोषणा हुँदै, खगेन्द्र सुनार प्रमुख अतिथि

काठमाडौं । ‘हाम्रो पार्टी नेपाल’ नामक नयाँ राजनीतिक दल आज औपचारिक रूपमा घोषणा हुँदैछ । राजधानीको बालुवाटारस्थित टी–२१ प्यालेसमा आयोजना हुने समारोहमार्फत दलले आफ्नो विधिवत आरम्भ गर्न लागेको हो । पार्टीका प्रेस संयोजक सोबिन्द्र परियारका अनुसार घोषणा सभाको सम्पूर्ण तयारी पूरा भइसकेको छ र कार्यक्रम आज मध्यान्ह १२ः०० बजे सुरु हुनेछ । दलको घोषणामा सामाजिक अभियन्ता खगेन्द्र सुनार प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् । लामो समयदेखि सामाजिक न्याय, समावेशी अधिकार, नागरिक सरोकार र जनदबाबका मुद्दामा सक्रिय सुनारकै अग्रसरता र वैचारिक नेतृत्वमा यो दल अघि बढ्न लागेको बुझिएको छ । सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले आफ्नै निर्वाचन चिन्हबाट चुनाव लड्ने भएको छ ।

सुनारले यसअघि मन्त्री कुलमान घिसिङको अगुवाइमा खोलिएको ‘उज्यालो नेपाल पार्टीकै बलेको चिम चिन्ह लिएर निर्वाचनमा जान निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर कानुनी लगायतका जटिलताको कारण देखाउँदै पार्टीले आफ्नै निर्वाचन चिन्ह लाइक लिएर चुनाव लड्न पुनः आयोगमा निवेदन दिएको हो । एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जाँदा धेरै मत ल्याउने पार्टीले संसदीय दल बनाउने र त्यही पार्टीको ह्वीपसमेत लाग्ने भएकाले आफ्नै चिन्हमा चुनावमा जान लागिएको अध्यक्ष सुनारले जानकारी दिएका छन् ।

खगेन्द्र सुनारले किन तोडे कुलमानसँगको सहमति ?

काठमाडौँ । खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ आफ्नै निर्वाचन चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ बाटै निर्वाचनमा भाग लिने निष्कर्षमा पुगेको छ । यसअघि उज्यालो नेपाल पार्टीको निर्वाचन चिह्न ‘बलेको चिम’ एकल चुनाव चिह्नबाटै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता भए पनि सहमति टुटेपछि सुनार नेतृत्वको पार्टी आफ्नै निर्वाचन चिह्न लिएर चुनावमा भाग लिन लागेको हो ।

मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चिह्न लिएर निर्वाचनमा भाग लिने दुई पार्टीबीच सहमति भएको थियो । कानुनी झमेला हुने भएकाले पूर्व सहमतिबाट अलगिएर आफ्नै चुनाव चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ लिएर निर्वाचनमा सहभागी हुन गरी मंसिर १६ गते पुनरावलोकन गरेर दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ । ‘सुरुमा उज्यालो नेपाल पार्टीकै चिह्नमा चुनाव लड्ने सहमति गरेका थियौँ, तर यसमा कानुनी झमेला रहेछ’, उनले भने, ‘साथै पार्टीले चुनाव जिते पनि अस्तित्व नदेखिने रहेछ, यसैले निर्णय परिवर्तन गरी अब आफ्नै चुनाव चिह्नमा चुनाव लड्ने भएका हौं ।’