`

‘यलुङ रि’ बेसक्याम्प नजिकै हिमपहिरो, तीन जनाको मृत्यु, आठ जना बेपत्ता

दोलखा । दोलखाको रोल्वालिङ शृंखला अन्तर्गतको ‘यलुङ रि’ हिमालको बेसक्याम्प नजिकै सोमबार बिहान हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार आठ जना हराइरहेका छन् । नेपाली गाइडसहित आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो ।

बिहान १०ः३० बजे हिमपहिरो गएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाको डीएसपी ज्ञानकुमार महतोका अनुसार निधन हुनेमा एक विदेशी र दुई नेपाली छन् । प्रतिकूल मौसमका कारण हेलिकप्टर जान सकेको छैन । हिमपहिरोमा परेर केही विदेशीसहित नेपाली पथ प्रदर्शक सम्पर्कविहीन बनेका छन् । उनीहरूको खोजी र उद्वारका लागि हेलिकोप्टर त्यसतर्फ गएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।