`

अर्थमन्त्री खनालले गरे आगजनीले ध्वस्त हिल्टन होटल निरीक्षण

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको हिल्टन होटल निरीक्षण गरेका छन् । आज (शनिबार) मन्त्री खनालले नक्सालस्थित होटलमा पुगेर क्षतिबारे निरीक्षण गरेका हुन् ।

आठ अर्ब बढी लगानी गरेर २०८१ साल साउन १८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हिल्टन होटलले एक वर्षमै क्षति व्यहोर्नु परेको थियो । आगो लागेपछि धुँवाले होटलको माथिल्लो तलासम्मै कालो भएको छ । झ्यालका सिसाहरु फुटेका छन् । फर्निचरसहित सजावटका सामग्री सबै ध्वस्त भएका छन् । आगोमा जलेका केही फर्निचरहरु अहिले पनि सडकमा थुप्रिएको देखिन्छ ।

हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो । हिल्टनलाई काठमाडौंमा शंकर ग्रुपले भित्राएको थियो । यो होटेल नेपाल प्रहरीको केन्द्रीय कार्यालय नजिकै छ ।